
प्रधानमन्त्री केपी शर्मा ओलीले सुनसरी, मोरङ र झापालाई कुनै पनि हालतमा विभाजन नगरिने बताउँनुभएको छ । मिलेर बसेका समुदायलाई फाटो हालेर कुनै पनि हालतमा जिल्ला विभाजन गर्न नसकिने प्रधानमन्त्री ओलीको प्रष्टोक्ति छ । सुनसरीको इटहरीमा सोमबार देखी शुरु एमाले सुनसरीको जिल्ला परिषद् भेलालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष समेत रहनुभएका ओलीले तीनै जिल्लाको भूगोल एक नम्बर प्रदेशबाट दायाँ बायाँ नहुने प्रष्ट पार्नुभयो । उहाँले तीन जिल्ला भन्दा बाहिरका मानिसले गरेको जिल्ला विभाजनको मागदाबी कुनै पनि हालतमा पूरा नहुृने बताउनुभयो । बाइट
प्रधानमन्त्री ओलीले मधेस आन्दोलनका नाममा भइरहेको हिंसा र अराजकता सरकारले धेरै सहेको बताउँदै अब सरकार चुप लागेर नबस्ने उद्घोष गर्नुभयो । उहाँले शान्तिपूर्ण आन्दोलनको नाममा मान्छे मार्ने,सरकारी कार्यालय तोडफोड र आगजनी गर्नेहरु अब कानूनको दायरामा आउने बताउनुभयो । समाजको शान्ति सुव्यवस्था कायम गर्न सरकार प्रतिवद्द रहेको प्रधानमन्त्री ओलीको कथन थियो । प्रतिपक्षी दलको रुपमा रहेको काग्रेंस प्रति संकेत गर्नुहुँदै प्रधानमन्त्री ओलीले यस समयमा आक्रोश र उत्तेजनामा चल्ने समय नभई जनताको चाहना अनुसार मिलेर सरकारमा सहभागी हुन आग्रह गर्नुभयो । सरकारमा आफनो राजीनामाको माग चलिरहेको प्रसंगमा कुनै पनि हालतमा राजीनामा नदिने प्रधानमन्त्री ओलीको प्रष्टोक्ति थियो । चुनाव हारेकाहरुले राजीनामा माग गर्दैमा आफू विचलित नभएको उहाँको भनाइ थियो ।