६ पुष २०७२, सोमबार

म्याग्दीको पर्यटकीयस्थल टोड्केमा दोस्रो गुराँस महोत्सव हुने भएको छ । टोड्के क्षेत्र विकास कोषले सोमबार बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा आगामी फागुन २५ देखि २९ गतेसम्म गुराँस महोत्सव हुने जानकारी दिएको हो । म्याग्दीको सदरमुकाम बेनीबाट करिव १४ किलोमिटरको दुरीमा रहेको धार्मिक तथा पर्यटकीय स्थल टोड्के क्षेत्रको प्रचारप्रसारका लागि महोत्सव सहयोगी बन्ने आयोजकले विश्वास लिएको छ । टोड्के क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउँन भौतिक संरचना निर्माण, स्थानीय उत्पादन, गाउँ पर्यटन प्रर्वधनका लाागि घरबास कार्यक्रम, स्थानीयको जीवनस्तरमा परिवर्तन, सामुदायिक लज, भि–टावर निर्माण लगायतका पूर्वाधारको योजना रहेको क्षेत्र विकास कोषका अध्यक्ष मोहन खत्रीले बताउनुभयो । कुहुँ,झिँ, पुलाचौर र पात्लेखेतको सिमानामा रहेको टोड्केमा हाल पदमार्ग सहित अन्य आवश्यक पुर्वाधारमा जिविस, स्थानीर र पर्यटन कार्यालयको लगानीमा धमाधम पुर्वाधार विस्तार भइरहको छ । पर्यटकीय गन्तब्यको रुपमा विकास भएपनि पदमार्ग सहित प्रचारप्रसार नहुदाँ आन्तरिक तथा बाह्य पर्यटक आगमन उत्साहप्रद रुपमा नभएकोमा महोत्सवले थप पुर्वाधार विस्तारमा समेत सम्बन्धित निकायको ध्यान केन्द्रित गर्ने आयोजकको भनाई छ । रातो, सेतो लगायतका १६ प्रजातिका गुँरास पाइने भएकाले पनि बेनी तथा आसपासका क्षेत्रबाट सर्वसाधारणहरु बनभोज सहित गुराँसमा रमाउन जाने गरेका छन् । पाखाभरी ढकमक्क फुलेका गुराँस, मनोरम हिमश्रंखला, स्थानीय प्रजातिका मुला,आलु यहाँको प्रमुख आर्कषण मानिन्छ । समुन्दी सतहदेखि तीनहजार मिटर उचाईमा अवस्थित टोड्केबाट १६ वटा भन्दा बढी हिमश्रं्खला तथा सूर्योदयको अवलोकन गर्न सकिन्छ ।
महोत्सवका लागि आवश्यक तयारी गर्न उपसमिति समेत गठन गरिएको छ । पत्रकार सम्मेलनमा जिल्लाका पर्यटकीय गन्तब्यका रुपमा चिनिएपनि केही आवश्यक पुर्वाधारको अभावमा पर्यटकलाई भित्राउन नसकिएको बताउँदै यसका लागि विभिन्न निकायबाट समेत सहयोगको अपेक्षा गरिएको बताए ।

LIVE TV