
संयुक्त मधेसी मोर्चाले मन्त्रिपरिषद्ले आइतवार गरेको निर्णयले मोर्चाको माग सम्वोधन नगर्ने जनाएका छन् । मन्त्रिपरिषद्को निर्णयले मोर्चाको न्यूनतम माग पनि संम्वोधन नगरेको भन्दै उनीहरुले प्याकेजमै सहमति खोजिनुपर्ने माग गरेका छन् । सोमवार राजधानीमा भएको कार्यक्रममा मोर्चाका नेता महेन्द्रराय यादवले वार्ताको लागि ठाउँ महत्वपूर्ण नभएको तर वार्ताले सार्थक निकास भने पाउनुपर्ने वताउनुभयो । स्थिति असहज भएकोले नआउन आग्रह गर्दा पनि राष्ट्रपतिको जनकपुर भ्रमण भएकोले स्थिति विग्रिएको उहाँको प्रष्टोक्ति थियो । यसबारेमा मोर्चाले दुःख प्रकट गरेको पनि उहाँले जानकारी दिनुभयो । त्यस्तै मोर्चाका नेता एंवम सदभावना पार्टीका सह अध्यक्ष लक्ष्मणलाल कर्णले अबको वार्ता सहमति नहुन्जेलसम्म गरिनुपर्ने बताउँदै लगातार वार्तामा वस्न मोर्चा तयार रहेको प्रष्ट पार्नुभयो । शान्तिपूर्ण आन्दोलनमा पनि सरकारले छाति,घाँटी र टाउकोमा ताकीताकी गोली प्रहार गरेर मधेसी जनतामाथि ज्यादती गरिरहेको आरोप लगाउनुभयो । आफूहरु वार्ता र संवादबाटै निकास खोजिनुपर्नेमा अडिग रहेको बताउँदै मोर्चाका नेताहरुले सरकार अझै गम्भीर बन्न नसकेको दाबी गर्नुभयो ।