६ पुष २०७२, सोमबार

स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा रियल म्याड्रिडले शानदार जित निकालेको छ । रियल मड्रिडले ९ खेलाडीमा सीमित रायो भालेकानोलाई १०–२ को विशाल अन्तरले हरायो । तेस्रो मिनेटमा नै डानिलोले गोल गर्दै रियल म्याड्रिडलाई सुरुवाती अग्रता दिलाए । १० औं मिनेटमा अमायाले रायो भालेकानोका लागि बराबरी गोल फर्काए । त्यसको दुई मिनेटपछि सान्चेज रुइजले गोल गर्दै रायो भालेकानोलाई २–१ को अग्रता दिलाए । १४ औं मिनेटमा रोनामन ट्रिगेरो रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि रायो भालेकानो १० खेलाडीमा सीमित भयो । २५ औं मिनेटमा ग्यारेथ बेलले रियलका लागि बराबरी गोल फर्काए । बाएना दोहोरा पहेँलो कार्ड खाँदै बाहिरिएपछि रायो भालेकानो ९ खेलाडीमा सीमित भयो । ३० औं मिनेटमा पेनाल्टीको अवसरलाई क्रिष्टियानो रोनाल्डोले सदुपयोग गरेपछि रियलले ३–२ को अग्रता लियो । ४१ औं मिनेटमा बेलले व्यक्तिगत दोस्रो तथा ४८ औं मिनेटमा करिम बेन्जिमाले व्यक्तिगत पहिलो गोल गरेपछि रियलको अग्रता ५–२ मा पुग्यो । ५३ औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो तथा ६१ औं मिनेटमा बेलले ह्याट्रिक पुरा गरेपछि रियलको अग्रता ७–२ मा पुग्यो । ७० औं मिनेटमा बेलले व्यक्तिगत चौंथो गोल गरे । ७९ र ९० औं मिनेटमा गोल गरी बेन्जिमाले ह्याट्रिक पुरा गरेपछि रियल म्याड्रिडले १०–२ को सानदार जित दर्ता र्गयो । जितपछि तेस्रो स्थानको रियल म्याड्रिडले बार्सिलोना तथा एथ्लेटिको म्याड्रिडसँगको अंक दूरी दुईमा झारेको छ । रियलको १६ खेलमा ३३ अंक छ भने एक खेल कम खेलेको शीर्ष स्थानको बार्सिलोनाको ३५ तथा दोस्रो स्थानको एथ्लेटिको मड्रिडको १६ खेलबाट ३५ अंक छ ।

 

Karim Benzema and Cristiano Ronaldo

 

Gareth Bale

LIVE TV