६ पुष २०७२, सोमबार

मन्त्रिपरिषद्को आइतबार राती बसेको आकस्मिक बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि जनकपुरमा भएको अपमानजनक व्यवहारप्रति खेद् व्यक्त गरेको छ। नागरिक दैनिकले लेखेको छ- बैठकले मधेसी मोर्चालाई वार्ताकै माध्यमबाट समस्या समाधान हुने भन्दै आन्दोलन फिर्ता लिन आग्रह गरेको छ।

सञ्चार मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका उद्योग मन्त्री सोमप्रसाद पाण्डेका अनुसार जनकपुरस्थित जानकी मन्दिरमा दर्शन गर्ने क्रममा भएको अराजक र उच्छृंखल व्यवहारप्रति बैठकले निन्दा र भत्र्सना गरेको छ।

मन्त्री पाण्डेका अनुसार निर्णयमा लेखिएको छ ‘यो दुर्व्यवहार जनताको धार्मिक आस्थामाथिको प्रहार हो, नेपालको संबिधानले सम्माननीय राष्ट्रपतिलाई राष्ट्रिय एकताको प्रतीक र संबिधानको संरक्षक मानेको छ, उहाँप्रति लगाइएका लाञ्छना सिंगो राष्ट्र, लोकतन्त्र र गणतन्त्रमाथिको प्रहार हो। राष्ट्रको शिर झुकाउने यस्तो अभद्र र असभ्य व्यबहार भविष्यमा दोहरिन नदिनेतर्फ सम्बद्ध सबैको गम्भीर ध्यानाकर्षण गराउँदै दोषीलाई कानून बमोजिम कार्वाही हुने कुरा यो बैठक स्पष्ट पार्दछ ।’

मन्त्री पाण्डेले बैठकको निर्णय सुनाउँदै भने ‘राज्यका निकायहरूमा समानुपातिक समावेशी सहभागिता सुनिश्‍चित गर्ने तथा संविधान प्रारम्भ हुँदा कायम रहेका प्रत्येक जिल्लामा कम्तिमा एक निर्वाचन क्षेत्र कायम रहने गरी जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने प्रयोजनका लागि संविधानमा संशोधनका निमित्त संसदमा पेश भएको विधेयक पारित गर्न प्रक्रिया अघि बढाइने छ।’

बैठकले प्रदेश सिमाङ्कनका सम्बन्धमा आन्दोलनरत दलहरूले उठाएको मागलाई समेत दृष्टिगत गर्दै राजनीतिक सहमति अनुरुप संविधानमा उपयुक्त व्यवस्था गर्ने निर्णय गरेको छ। त्यसका लागि एक राजनीतिक संयन्त्र गठन गर्ने निर्णय गरिएको छ। उक्त संयन्त्रले ३ महिना भित्र सुझाव सहितको प्रतिवेदन दिनेछ । बैठकले नागरिकता लगायतका अन्य मागहरूलाई समेत वार्ता र सहमतिका आधारमा टुंग्याउन सकिने भन्दै तत्काल आन्दोलन फिर्ता लिन मोर्चा र सम्बद्ध पक्षहरूसंग सरकारले आह्वान गरेको छ।

सरकार वार्ताबाटै समाधान खोज्न प्रतिबद्ध रहेको पाण्डेले बताए।

राष्ट्रपति माथिको दुर्व्यवहारले सरकार दुःखी

राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमणका क्रममा अान्दोलनकारीबाट भएको दुर्व्यवहारप्रति सरकारले दुःख व्यक्त गरेको छ। जनकपुरस्थित जानकी मन्दिरमा विवाह पञ्चमीका अवसरमा राष्ट्रपति भण्डारी त्यहाँ पुग्दा मोर्चा कार्यकर्ताबाट दुर्व्यवहार र सार्वजनिक रुपमा लाञ्छाना लगाएर अपमानित गरिएकोप्रति सरकारले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

राष्ट्रपतिमाथि लगाइएको लाञ्छना असभ्यताको पराकाष्ठा भन्दै दास युग र सामन्ती चिन्तनको झल्को दिने खालको रहेको सरकारका तर्फबाट जारी विज्ञप्तिमा उल्लेख छ। उद्योग मन्त्री एवं कार्यबाहक सूचना, सञ्चार तथा प्रबिधि मन्त्री सोमप्रसाद पाण्डेले अाइतबार सरकारका तर्फबाट विज्ञप्ति जारी गर्दै उक्त घटना खेदजनक र भत्र्सनायोग्य रहेको उल्लेख गरेका छन्।

विज्ञप्तिमा लेखिएको छ ‘सम्माननीय राष्ट्रपति माथि गरिएको दुर्व्यवहार सिंगो महिलाजगत माथिको दुर्व्यवहार हो। यस्ता व्यबहार सरकारलाई सह्य छैन् र, हुनेपनि छैन ।’ विज्ञप्तिमा उल्लेख छ ‘राष्ट्रपतिमाथि दुर्व्यवहार गर्ने र असभ्य लाञ्छना लगाउनेहरुलाई सरकारले कानूनको दायरमा ल्याई कार्वाही गर्नेछ ।’

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV