
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा अहिले देखिएको समस्या समाधान भए पनि नभए पनि केपी शर्मा ओली नेतृत्वको सरकार ढल्ने ठोकुवा गर्नुभएको छ । उहाँले ओलीको विकल्प खोज्दा मुलुकको पनि हित हुने दावी गर्नुभयो । आईतवार राजधानीमा आयोजित साक्षात्कारमा अध्यक्ष यादवले सरकार नै आन्दोलन लम्ब्याएन चाहिरहेको आरोप पनि लगाउनु भयो । उहाँले वीरगञ्ज बाहेकका नाकाबाट सयौ टयाङकर र बुलेट आइरहेको र अझ बिराटनगरसहितका कतिपय स्थानमा तेल राख्ने ठाँउ समेत नभएको जिकिर गर्नुभयो । उहाँले यी सबै तेलहरु कालोबजारीमा गइरहेको र सरकार त्यसैबाट लाभ लिइरहेको आरोप लगाउनु भयो । अध्यक्ष यादवले समस्या समाधानमा प्रधानमन्त्री नै बाधक भएको दावी गर्दै जव जव समस्या समाधान तिर जान्छ तब तब प्रधानमन्त्री ओलीले नै गैरजिम्मेवार भाषा प्रयोग गर्ने गरेको जिकिर गर्नुभयो । उहाँले यस्तो भाषा प्रधानमन्त्री पदकोलागि शोभनीय नहुने पनि प्रष्ट पार्नुभयो । अध्यक्ष यादवले उत्तर र दक्षिणबाट आएको अतिवादीले देशको हित नहुने स्पष्ट पार्दै एउटा अति राष्ट्रबाद र अर्को पहाडे समूदायलाई होलसेलमा राखेर विष बमन गर्ने चिन्तन तराईमा देखिनु दुःखद भएको बताउनुभयो । जनतावीचको दुरी बढाउने अतिवादी चिन्तन असह्य हुँने बताउदै उहाँले यस्ता अतिवादले मुलुकको भलो नगर्ने पनि प्रष्ट पार्नुभयो ।