
हिजो दिनभर तनावग्रत बनेको पर्सा र रौतहटका विभिन्न क्षेत्रको अवस्था केही शान्त भएको छ । हिजो बेलुकादेखि नै अवस्था केही शान्त बनेको हो ।हिजो दिनभर प्रहरी र प्रदर्शनकारीबीचको झडपका कारण तनावग्रस्त बनेको रौतहटको गौरसहितका क्षेत्रको अवस्था अहिले समान्य छ । गौरमा हिजो आन्दोलनकारीको प्रदर्शन उग्र बनेपछि प्रहरीसँग झडप भएको थियो । प्रहरीले आन्दोलनलाई नियन्त्रणमा लिन दुई दर्जन अश्रु ग्यास तथा एक दर्जन रबरको गोली पनि चलाएको थियो । पक्राउ गरेका मोर्चाका विद्यार्थी नेतालाई प्रहरीले छोडेपछि बेलुकादेखि आन्दोलन शान्त बनेको छ ।गौरसहित प्रशासन चोक, विपी चोक, कविर चोकसहित सबै ठाउँको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । यस्तै हिजो अपरान्ह प्रहरी र प्रदर्शनकारीको झडपका कारण तनाव ग्रस्त बनेको पर्साको वीरगञ्ज पनि बेलुकादेखि नै शान्त रहेको छ । वीरगञ्जको घण्टाघर चोकमा शनिबार प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । हिजो बेलुकादेखि नै त्यहाँको अवस्था पनि सामान्य रहेको छ । तर बजार, पसल खुल्न सकेका छैनन् । चार पांग्रे गाडी तथा इ–रिक्सा पनि चल्न सकेका छैनन् । यसले जनजीवन प्रभावित भएको छ ।