५ पुष २०७२, आईतवार

काठमाडौं । सेनाले उत्पादक कम्पनीसँग सिधै सम्झौता गरेकाले ठेकेदार कम्पनीहरू स्वतः अलग भएका छन्। सेनाले आफ्नो जनशक्तिलाई आवश्यक पर्ने दुध तथा बिस्कुट तीन वर्षका लागि एउटै मूल्यमा खरिद गर्ने गरी सम्झौता गरेको हो।

सो सम्झौताबाट सेनालाई तिन वर्षमा १ अर्ब २० करोड रुपैयाँ फाइदा हुनेछ। सेनाले आफ्नो ९५ हजार जनशक्तिलाई खाजाका रूपमा बिस्कुट दिँदै आएको छ। ठेकेदार कम्पनीसँग खरिद गर्नुभन्दा उत्पादक कम्पनीसँग खरिद गर्दा आर्थिक पारदर्शिता र मितव्ययिता हुने भएकाले सेनाले रक्षा मन्त्रालयसँग यस विषयमा स्वीकृति मागेको थियो।

मन्त्रालयबाट स्वीकृति पाएपछि केही दिनअघि सेना र बिस्कुट उत्पादक कम्पनी पशुपति बिस्कुट प्रालिबिच सम्झौता भएको हो। सैनिक प्रवक्ता सहायक रथी ताराबहादुर कार्कीका अनुसार ठेकेदार कम्पनीसँग भन्दा उत्पादक कम्पनीबाट खरिद गर्दा वार्षिक ४० करोड रुपैयाँ बचत हुने राजधानी दैनिकमा खबर छ।

‘विगतका वर्षमा आवश्यक दुध तथा बिस्कुट ठेकेदार कम्पनीमार्फत खरिद गरिन्थ्यो, यस पटक त्यो प्रक्रियालाई खारेज गरियो,’ सैनिक प्रवक्ता कार्कीले भने, ‘सेनाले उत्पादक कम्पनीसँग सोझै डिल गरेर बिस्कुट तथा दुध खरिद गरेको छ।’ सेनाले हाई इनर्जी बिस्कुट र कन्डेन्ड मिल्क खरिद गर्ने गरेको छ।

Nepal-Army1

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV