
– सृजना थापा
संयुक्त राष्ट्रसंघले यस वर्ष विश्वभरबाट विस्थापित हुने शरणार्थीको संख्या ६ करोड नाघ्न सक्ने जनाएको छ । राष्ट्रसंघीय शरणार्थीसम्बन्धि उच्चायोग युएनएचसिआरले शरणार्थीको आश्रयका लागि विश्वका नेताहरुलाई आग्रह गरेको छ ।
युएनएचसिआरका प्रमुख एन्टोनियो गुतेरेशले शरणार्थीको पक्षमा अहिले भरहेका काम स्वागतयोग्य भएपनि पर्याप्त नरहेको बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । उनले ग्रिसमा शरणार्थीको आवेदन प्रक्रिया तीव्र पार्नु राम्रो भएपनि यसले मात्रै नपुग्ने बताएका हुन् । मध्य पूर्व तथा गृहयुद्धबाट गुज्रिरहेका सिरियासहितका देशका नागरिक विस्थापित भएर युरोप गएका छन् । संयुक्त राष्ट्रसंघले यस वर्षको अन्त्यसम्ममा १० लाख आप्रवासी युरोप पुग्ने अनुमान सहितको प्रतिवेदन यस अघि नै सार्वजनिक गरेको थियो । सिरिया, यमन, लिबियासहितका देशमा जारी द्वन्द्व अन्त्य नभएसम्म विस्थापितको संख्या कम गर्न नसकिने भन्दै युएनएचसिआरले त्यस तर्फ ध्यान दिन विश्व नेतासँग आग्रह गरेको हो । गुतेरेशले सिरिया, यमन र लिबियामा जारी संकटको हल नभएसम्म विस्थापित हुनेको संख्या अझै बढ्न सक्ने चेतावनी दिएका छन् ।