५ पुष २०७२, आईतवार

अफ्रिकी संघले बुरुण्डीका नागरिकको सुरक्षाका लागि पाँचहजार शान्ति सेनालाई पठाउने घोषणा गरेको छ । बुरुन्डी सरकारको सहमति बिना नै संघको यस्तो योजना सार्वजनिक भएको हो ।
राष्ट्रपति पिरी एनकुरीनजिजाले सत्तामा तेस्रोपटक पनि बस्ने दृढ आकांक्षा देखाएपछि सुरु भएको हिंसामा अप्रिल महिना यता त्यहाँ कम्तीमा चार हजार मानिसको ज्यान गइसकेको छ । अफ्रिकी संघको अदिस अबाबास्थित शान्ति र सुरक्षा परिषद्ले स्वीकृत गरेको उक्त प्रस्ताव कार्यान्वयनका लागि संयुक्त राष्ट्रसंघको समर्थन आवश्यक पर्छ ।

बिहीबार अफ्रिकी संघले बुरुण्डीमा आम नरसंहार हुन नदिने भन्दै चेतावनी दिएको थियो । मे महिनामा भएको कूबाट जोगिएका उनी जूलाईमा भएको विवादास्पद चुनावबाट तेश्रो पटक राष्ट्रपति चुनिएका थिए । अफ्रिकी संघले यसरी सरकारी सहमति विना नै फौज तैनाथका लागि आह्वान गरेको यो पहिलोपटक हो । युद्ध अपराध, आम नरसंहार र मानवता विरोधी अपराधजस्ता गम्भीर संकटका बेला आफ्ना सदस्य राष्ट्रमा हस्तक्षेप गर्न पाइने अफ्रिकी संघको घोषणापत्रको प्रावधान छ । संघको उक्त घोषणा हिंसा गृहयुद्धमा परिणत हुनसक्ने र सम्भावित जातीय द्धन्द्ध ल्याउन सक्ने चिन्ता गरिएको छ । बुरुण्डीलाई गृहयुद्धबाट जोगाउन हालसालै राष्ट्रसंघ, युरोपेली संघ र इष्ट एफ्रिकन कम्यूनिटीको कुटनीतिक पहलले गति लिएको हो ।

LIVE TV