५ पुष २०७२, आईतवार

हवाई इन्धनको मुल्य वृद्धि भएको भन्दै विराटनगरबाट उड्ने जहाजहरुमा एयरलाइन्स कम्पनीहरुले हवाई यात्रुहरुबाट बढी भाडा लिने गरेको पाइएको छ । यता आयल निगमको इन्धन डिपोले भने साविककै मूल्यमा विमानहरुलाई इन्धन उपलब्ध गराइरहेको जनाएको छ ।विराटनगरबाट उड्ने प्रत्येक जहाजलाई नेपाल आयल निगमको हवाई इन्धन डिपोले साविकको मुल्य अर्थात १ सय १८ रुपैया प्रति लिटरका दरले नै एटिएफ अर्थात एयर टर्बाइन फ्युल दिइरहेको छ । तर एयरलाइन्स कम्पनीहरुले विगत डेढ महिना देखि एटिएफको मुल्य वृद्धि भन्दै हवाई भाडा ९ हजार १ सय ५५ रुपैया लिईरहेका छन् ।  एयरलाइन्स कम्पनीहरुले फ्युल सरचार्जका नाममा विराटनगरबाट राजधानी काठमाण्डौको हवाई भाडा ६ हजार ५ सय रुपैयाबाट बढाएर ९ हजार १ सय ५५ लिने गरेको ट्राभल एजेण्ट भविष श्रेष्ठ बताउनु हुन्छ ।  राजधानी काठमाण्डौमा एटिएफको मुल्य २ सय ३२ रुपैया प्रति लिटर रहेको छ । विराटनगरको हवाई इन्धन डिपोले भने सेक्टर फ्युल वापत साविक कै मुल्यमा दैनिक करिब ७ हजार लिटर एटिएफ विराटनगरबाट उड्ने जहाजहरुलाई दिईरहेको जनाएको छ ।विराटनगरबाट राजधानी काठमाण्डौका लागि दैनिक १० वटा उडानबाट ३ सय यात्रुहरु जाने गरेका छन् । इन्धनको मुल्यवृद्धिका नाममा सस्तोमा एटिएफ लिने एयरलाइन्स कम्पनीहरुले समेत अभावको नाममा कालोबजारी गरिरहदा समेत सम्बन्धित निकायले चासो देखाएको छैन । ०००

 

LIVE TV