५ पुष २०७२, आईतवार

प्रशिक्षक परिवर्तन गरेपछि प्रिमियर लिग अन्तर्गत पहिलो खेलमा चेल्सीले सण्डरल्याण्डमाथि जित हात पारेको छ । यता लिगमा लगातार चौथो खेलमा जितबिहीन यात्रालाई जारी राख्दा म्यान्चेस्टर युनाईटेढले नोरिच सिटीसंग पराजय व्यहोरेको छ । लेईस्टरले भने शीर्ष स्थानमा पाँच अंकको अग्रता बनाएको छ । गएराति सम्पन्न खेलमा चेल्सीले सण्डरल्याण्डमाथि तीन एक गोलको जित आत्मसाथ गरेको हो । जोजे माउरिन्होलाई यसैसाता बर्खास्त गरेर नेदरल्याण्ड्सका प्रशिक्षक गुस हिड्निकलाई अनुवन्ध गरेको चेल्सीले पहिलो खेलमा जित हात पार्दै सकारात्मक संकेत दिएको छ । सुरुवाती १५ मिनेटमै ब्रानिस्लाभ इभानोविच र पेड्रोको गोल मार्फत चेल्सीले अग्रता लिएको थियो । इभानोविचले पाँचौं र पेड्रोले १३ औं मिनेटा गोल गरेका थिए । दोस्रो हाफको पाँचौं मिनेटमा ओस्कारले पेनाल्टीमार्फत गोल गर्दै तीन शून्यको अग्रता दिलाएपनि त्यसको दुई मिनेट नवित्दै सण्डरल्याण्डले एक गोल फर्कायो । तर बाँकी समयमा गोल हुन नसक्दा खेल चेल्सीको पक्षमा पुग्यो । लिगको १५ औं स्थानमा रहेको चेल्सीको १७ खेलबाट १८ अंक छ । यता म्यान्चेस्टर युनाईटेडले भने आफ्नै मैदानमा नोरित सिटीसंग दुई एक गोलको पराजय ब्यहोरेको छ । नोरिचका लागि जेरोमी र टेट्टीले गोल गरेका थिए भने युनाईटेडका मार्टियलले एक गोल फर्काएका थिए । म्यान्चेस्टर युनाईटेडको यो लगातार पाँचौं जितबिहीन यात्रा हो भने लगातार तेस्रो पराजय हो । प्रिमियर लिगका पछिल्ला चार खेलामा युनाईटेडले स्पष्ट तीन अंक हासिल गर्न सकेको छैन । लगातारको खराव नतिजासंगै युनाईटेडका प्रशिक्षक भान गालको पद पनि धरापमा परेको छ । अप्रत्यासित रुपमा उत्कृष्ट लयमा रहेको लेइस्टर सिटीले भने एभर्टनलाई तीन दुई गोलले हराउदै लिगको शीर्ष स्थानमा पाँच अंकको अग्रता बनाएको छ । एक खेल कम खेलेको दोस्रो स्थानको आर्सनलको ३३ अंक हुँदा लेईस्टरको १७ खेलबाट ३८ अंक पुगेको छ । लेईस्टरको जितमा मारेजले पेनाल्टीमार्फत दुई गोल गर्दा ओकाजाकीले एक गोल थपेका थिए । यता घरेलु टोली एभर्टनका लागि रोमेलु लुकाकु र केभिन मिरालासले गोल गरेका थिए ।

LIVE TV