
बनेपा | काभ्रेपलाञ्चोकको उग्रताराजनगाल वडा नं. ६ स्थित अरनिको राजमार्गमा शुक्रबार भएको दुर्घटनामा एक नावालिगसहित दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रामेछाप स्थायी घर भई अस्थायी रूपमा बनेपामा बस्दै गर्नुभएका २८ वर्षीय रामचन्द्र कार्की र पाँच वर्षीया नावालिग रक्षा कार्की हुनुहुन्छ । उहाँहरू बाबु र छोरी हुनुभएको प्रहरीले जनाएको छ ।
बनेपाबाट काठमाडौँतर्फ जाँदै गरेको ना६ख १०११ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको बा६७प ४४११ नम्बरको मोटरसाइकललाई ठक्कर दिएर गम्भीर घाइते भएका उहाँहरूको अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिनुभयो ।
घटनापछि ट्रक चालक र गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस