
काठमाडौं । नेपालमा सुत्केरी हुँदा वा सुत्केरीपछि अत्यधिक रक्तश्राव भएर वार्षिक करिब एक हजार आमाहरूले ज्यान गुमाउने गरेका छन् । समयमै उद्धार र उपचार हुन नसकेर मुलुकका दुर्गम भेगमा सुत्केरीको मृत्यु भएका खबर आउने क्रम जारी छ ।
तर, दुर्गमका एयर एम्बुलेन्सले उद्धार गर्नुपर्ने ‘केस’ नै भेटेका छैनन् । उद्धार गर्नुपर्ने ‘केस’ नपाउँदा एयर एम्बुलेन्सका लागि छुट्याएको न्यून बजेटसमेत फ्रिज हुने गरेको नयाँ पत्रिकामा खबर छ । सरकारले दुर्गम क्षेत्रका महिलाहरूमा सुत्केरीका वेला आउन सक्ने जटिल अवस्थाका वेला तत्काल ‘रेस्क्यु’ गरी सुविधासम्पन्न अस्पतालमा पुर्याउन हेलिकोप्टर तथा हवाईजहाज भाडामा लिई ‘एयर एम्बुलेन्स’ सेवा दिने व्यवस्था गरेको छ । आर्थिक वर्ष २०७०/७१ मा २५ लाख रुपैयाँ पूरै फ्रिज, २०७१/७२ मा ३० लाख रुपैयाँ छुट्याएकोमध्ये आधा फ्रिज र चालू आवका लागि छुट्याएको ४० लाख रुपैयाँमध्ये अहिलेसम्म खर्च नहुनुले एयर एम्बुलेन्सले जटिल ‘केस’ नपाएको स्पष्ट हुन्छ ।
तर, स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीहरूले दुर्गमका सुत्केरीमध्ये १५ प्रतिशत ‘केस’ जटिल हुने र रिफर गर्नैपर्ने अवस्थामा रहेको जानकारी दिने गरेका छन् । स्वास्थ्य सेवा विभाग परिवार स्वास्थ्य महाशाखाअन्तर्गतको यो कार्यक्रमका लागि मन्त्रालयले पछिल्लो तीन वर्षमा ९५ लाख रुपैयाँ बजेट छुट्याएको छ । यो बजेटले पाँच विकास क्षेत्रमा वार्षिक पाँचजनाको दरले कुल १५ वटा जटिल ‘केस रेस्क्यु’ गर्ने लक्ष्य लिएको थियो । तर, अहिलेसम्म ‘रेस्क्यु केस’ को संख्या तीनवटा मात्रै पुगेको छ । महाशाखाकी निर्देशक डा. पुष्पा चौधरीले दुर्गमका जटिल ‘केस’ आएसम्म ‘रेस्क्यु’ गर्ने गरेको भन्दै ‘केस’ नै नआउनु झन् राम्रो भएको बताइन् ।