१ पुष २०७२, बुधबार

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मधेश आन्दोलनले उठाएका कुरा संविधानसँग सम्वन्धित नरहेको बताउँनुभएको छ । नेपालको संविधानलाई लिएर भारतले टाउको दुखाउन जरुरी नरहेको उहाँको कथन छ ।
बाराको सिमरामा सोमवार नारायणी अञ्चलस्तरीय अगुवा कार्यकर्ता भेलालाई संवोधन गर्दै नेता नेपालले भारतले गर्दै आएको अनावश्यक सुझाव र निर्देशन दिने काम गलत भएको बताउँनुभयो । यसले भारतलाई नै नोक्सान भएको भन्दै पूर्वप्रधानमन्त्री नेपालले मधेश आन्दोलनले सवैभन्दा बढि मधेशलाई नै पिडा दिएको बताउँनुभयो । यस्तै अवस्था रहे मधेशमा रहेका औद्योगिक कलकारखाना विस्थापित हुने र नयाँ लगानी समेत नआउने उहाँको चेतावनी छ ।
सवैको मौलिक अधिकार यही संविधानले दिएको दाबी गर्दै उहाँले ९० प्रतिशत जनताले अनुमोदन गरेको संविधान अलोकतान्त्रिक देखेकोप्रति भारतसँग आक्रोश पोख्नुभयो । भारतले केही नेताको इशारामा छिमेकी मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप गरी आफै अलोकप्रिय हुदै गएको नेता नेपालले बताउँनुभयो ।
भारतमा नेपालको संविधानबारे गलत बुझाई रहेको भन्दै अव रामवरण यादव जस्ता कोही मधेशी राष्ट्रपति बन्न नसक्ने जस्ता अफवाह फैल्याई भ्रम पैदा गरेको नेता नेपालको कथन थियो । कार्यक्रममा नारायणी अञ्चलका सभासद्, अञ्चल, जिल्ला, नगरस्तरीय कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

LIVE TV