
भोजपुर, भोजपुर जिल्लाको १० स्थानमा नेपाल टेलिकमका टावरहरु निर्माण गर्नका लागि सर्वेको काम भएको छ ।
मोबाइल नेटवर्कको सहज पहुँच पु¥याउन सूचना तथा सञ्चार प्रविधि मन्त्री शेरधन राईको कार्ययोजनाअनुरुप यो हप्ताभर भोजपुरका विभिन्न स्थानमा नेपाल टेलिकमका प्राविधिक टोलीहरु र हुवावे कम्पनीद्वारा स्थलगत अध्ययन प्रतिवेदन तयारी गर्ने काम अन्तिम चरणमा पुगेको हो ।
यससँगै हाल जिएसएम नेटवर्क फिटिक्कै नटिप्ने गाउँका स्थानीय बासिन्दामा हर्षोल्लास छाएको छ । टावर निर्माण सम्पन्न भएपछि नेटवर्क नहुने भोजपुरका कुनाकुनामा समेत सहज रुपमा नेटवर्क टिप्ने टेलिकमले जनाएको छ ।
सर्वेका लागि नेपाल टेलिकम, भोजपुरका प्रमुख रामकुमार माझी, क्षेत्रीय कार्यालय विराटनगरका रुद्र रेग्मी, हुवावे कम्पनीका इन्जिनियरद्वय शिशिर गैरे र कपिल थापा पुगेका हुन् ।
टेलिकमको अनुसार टावर विस्तारको कामकाज गर्न स्वीकृति पाएको छ । आइतबारसम्ममा सम्पूर्ण विवरण मन्त्रालय र नेपाल टेलिकमको मोबाइल सेवा निर्देशनालय पुग्ने जानकारी नेपाल टेलिकम, भोजपुरका प्रमुख रामकुमार माझीले दिनुभयो । त्यसपश्चात् स्थलगत प्रतिवेदनउपर अध्ययन गरी आवश्यक कार्य प्रक्रिया तत्काल अघि बढ्ने बताइएको छ ।
जिल्लाको वास्तिम–१, भुजेलडाँडा, भैँसीपंखा, गुप्तेश्वर, दुम्माना, हसनपुर, खैराङ, कुदाककाउले, वैकुण्ठे, दलगाउँ, वासिखोरामा टावर निर्माण हुने भएको छ । यी कार्य सम्पन्न भएपश्चात् भोजपुर जिल्लाको सम्पूर्ण क्षेत्र कुनाकन्दरामा तथा आसपास बाहिरी जिल्लाका स्थानमा समेत सहजरुपले जिएसएम मोवाइल सेवा पहुँच पुग्ने सुनिश्चित भएको छ ।
टावर निर्माण सँगसँगै सोही टावरमा नेपालकै सर्वाधिक गति भएको फोजी टेक्नोलोजीको वाइ–म्याक्सका बिटिएससमेत राख्न सकेमा इन्टरनेट डाटाको सुविधा पनि सहज हुने सम्बन्धित सरोकारवालाको भनाइ छ । रासस