
फुटवलपछि अव पालो क्रिकेटको । नेपाल क्रिकेट संघ क्यानको इतिहासमै पहिलो निर्वाचित कार्यसमितिको कार्यकाल सकिन लाग्दा संघभित्रको विवादले चरम रुप लियो । यसबीचमा कार्यसमिति नै दुई खेमामा बाँडियो र एक पक्षले साधारणसभा आयोजना गरि नयाँ कार्यसमिति चयन पनि ग¥यो । अघिल्लो कार्यकालका अध्यक्ष टंक आङबुहाङ लगायतका केहि पदाधिकारीको अवरोधका बाबजुद क्रिकेट संघले नयाँ नेतृत्व पाएको छ । तर साधारणसभा नगराउन दिएको निर्देशन विपरित काम गरेकाले राष्ट्रिय खेलकुद परिषद नयाँ नेतृत्वदेखि रुष्ट बनेको छ । यसर्थ क्यानको नयाँ कार्यसमिति र समग्र क्रिकेटकै लागि आगामी बाटो कठिन बन्ने निश्चित छ ।
सोमबार रातभरीको कसरतपछि मंगलबार बिहान अघिल्लो कार्यसमितिका उपाध्यक्ष चतुरबहादुर चन्दलाई अध्यक्ष बनाउने निर्णय क्यानको साधारणसभाले गरेको हो । आफुलाई क्रिकेट संघको शाखा रहेको ३७ जिल्लाका प्रतिनिधिहरुबाट ७५ प्रतिशतको समर्थन रहेको बताउदै चतुरबहादुर चन्दले एसीसी र आइसीसीको पनि समर्थन रहेको दावी गरेका छन । अध्यक्षमा निर्वाचित भएसँगै नेपालको क्रिकेट विकासका लागि आफुलाई समर्थन गरेका जिल्ला प्रतिनिधिहरुको विश्वासमा तुषारापात हुन नदिने नवनिर्वाचित अध्यक्ष चन्दले प्रतिबद्धता जनाएका छन ।
यता आफ्नो स्वीकृतिबिना साधारणसभा गराएकोमा रुष्ट बनेको परिषद कुनैपनि हालतमा नयाँ कार्यसमितिलाई मान्यता दिने पक्षमा छैन । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले क्यानको कार्यसमिति र साधारणसभाबारे अनभिज्ञता प्रकट गरेबाट आगामी क्यान कार्यसमितिका लागि कार्यकाल कठिन हुने सहजै अनुमान लगाउँन सकिन्छ ।
त्यसो त अघिल्लो समितिको कार्यकाल सकिनु ठीक १ दिनअघि चयन भएको नयाँ कार्यसमिति पनि परिषदको असन्तुष्टि र संभावित हस्तक्षेपबाट बेखबर छैन । परिषदले दुई पटक साधारणसभा स्थगित गर्न पत्राचार गरेपनि संघको विधान अनुसार साधारणसभाको विकल्प नभएको अध्यक्ष चन्दले बताउनुभयो । परिषदले हस्तक्षेप गरेको खण्डमा कानुनी उपचार खोज्न क्यानको नयाँ कार्यसमिति मनोवैज्ञानिक रुपमा तयार देखिएको छ ।
यता सदस्य सचिव विष्टले क्यानकै असन्तुष्ट सदस्यहरु समेत समेटेर क्रिकेट बोर्ड गठन गर्ने तयारीमा लागेका छन । पछिल्लो समय राष्ट्रिय टोलीकै खेलाडीहरु असन्तुष्ट रहेको कार्यसमितिका अधिकांश सदस्य यस कार्यसमितिमा पनि निर्वाचित भएका छन । अध्यक्ष चन्द, महासचिव अशोकनाथ प्याकुरेल अघिल्लो कार्यकालमा क्रमशः उपाध्यक्ष र महासचिव थिए । पछिल्लो समय क्रिकेटको स्तर खस्केको र प्रमुख प्रशिक्षकले पद छोडेपछिको अवस्थालाई नियन्त्रणमा लिन नयाँ कार्यसमितिका लागि चुनौती बन्नेछ ।