१ पुष २०७२, बुधबार

साफ च्याम्पियनसिप फुटवल खेल्न नेपाली राष्ट्रिय टोली बंगलादेश प्रस्थान गरेको छ । बिहीबार बंगलादेशको ढाकामा मैत्रीपूर्ण खेल खेलेर नेपाली टोली उतैबाट साफ च्याम्पियन आयोजनास्थल भारतको केरला जाने छ ।
अनिल गुरुङ्गको कम्तानीमा बंगलादेश गएको टोलीलाई एन्फा कम्प्लेक्स सातदोवाटोमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशव विष्टले माला लगाएर विदाइ गर्नुभयो । ढाका उड्नुअघि सातदोबाटोमा पत्रकारसित कुरा गर्दै कप्तान गुरुङले टिममा नयाँ अनुहार धेरै रहेकाले यो पटक राम्रो गर्नु पर्ने दवाव रहेको बताए । नयाँ खेलाडीसँगै नयाँ अवसर आएको र यो अवसरलाई आफूहरुले खेर नफाल्ने उनले बताए । मुख्य प्रशिक्षक प्याट्रिक एजुम्सले प्रतियोगितालाई लिएर आफू निक्कै उत्साहित भएको बताए । उनले साफ च्याम्पियनसिपमा राम्रो नतिजा ल्याउने विश्वास पनि व्यक्त गरे । सन् १९९३ मा तेश्रो भएको नेपाल साफ च्याम्पियनसिपको फाइनलमा कहिल्यै पुगेको छैन । आगामी पुस ८ गतेदेखि १९ गतेसम्म भारतको केरलामा हुने साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले श्रीलंकासित पुस ८ गते खेल्ने छ । यस्तै दोश्रो खेलमा पुस १२ गते भारतसित खेल्ने छ । समूह एको शीर्ष २ मा पर्न सके नेपाल ७ टिम सहभागी प्रतियोगिताको सेमिफाइनलमा पुग्ने छ । समूह बीमा भने अफगानिस्तान, माल्दिभ्स, भुटान र बंगलादेश सहभागी छन् ।

LIVE TV