
यस बर्ष म्याग्दी जिल्लामा सुन्तलाको उत्पादनमा उल्लेख्य वृद्धि हुने भएको छ । सुन्तला सुदृढीकरण अभियान सञ्चालन, अनुकुल मौसम तथा वातावरण, सुन्तलाको बगैंचा र क्षेत्रफल विस्तार तथा किसानको आकर्षणका कारणले यसवर्ष १० प्रतिशतले सुन्तलाको उत्पादन बढ्ने अनुमान गरिएको हो ।सुन्तला लगायतका फललफुल खेतीको उत्पादननशील क्षेत्र बृद्धि गरिएको कारणले पनि चालु वर्षमा विगतको भन्दा सुन्तला उत्पादन बढ्ने जिल्ला कृषि विकास कार्यालय म्याग्दीले जनाएको छ । हाल सुन्तला र अन्य फलफुल उत्पादनको क्षेत्र विस्तार गरी ६८५ हेक्टर क्षेत्रफलमा सुन्तला लगाइएको छ । सुन्तला उत्पादनका लागि मात्रै ६१६ हेक्टर क्षेत्रफलको जमिन रहेको छ भने बाँकी जमिनमा अन्य फलफुलहरु लगाइएको छ । म्याग्दी जिल्लामा सुन्तलासँगै कागती, जुनार, मौसमलगायतका फलफुलहरु उत्पादन हुँदै आएको छ । यसवर्ष ७.३४ प्रतिशतका दरले सुन्तला उत्पादकत्व समेत बढ्ने भएको छ । उपयुक्त वातावरण, किसानहरुलाई आवश्यक बिउपुँजी र अनुदान सहयोग, तालिम गोष्ठी प्रदान एवं सुन्तला बगैंचा र फलफुलका बोटहरुको स्थलगत अनुगमन र निरीक्षण गरिएसँगै सुन्तला उत्पादन बढ्ने देखिएको कृषि विकास कार्यालयले जनाएको छ । प्रति हेक्टर क्षेत्रफलमा ३०० बोटका दरले सुन्तलाका बिरुवाहरु रोपिएको छ भने २९७ जना कृषकहरु सुन्तला बगैंचाका धनी रहेका छन् । चालु वर्षमा सुन्तलाको मात्रै थप नयाँ १८ हजार बिरुवा रोपिएको छ । यसैगरी ५ हेक्टर क्षेत्रफलमा कागतीको १५ सय र जुनार खेतीको ५६२ ओटा बिरुवाहरु रोपिएको छ । म्याग्दीमा आर्थिक वर्ष २०७०÷७१ बाट सुन्तला बगैंचा सुदृढीकरण कार्यक्रम लागू गरिएको थियो । पहिलो वर्ष सरकारले ८० र किसानले २० प्रतिशत, दोस्रो वर्ष दुवैले ५०÷५० प्रतिशत र तेस्रो वर्ष किसानले ७५ र सरकारले २५ प्रतिशत अनुदान लगानी व्यहोरेर सुन्तला उत्पादन गर्दै आएका छन् । सरकारले ५० हेक्टर क्षेत्रफलमा सुन्तला लगाएका किसानहरुलाई समूहमा अनुदानस्वरुप नगद दिइएको छ । सरकारी अनुदान पाएपछि पछिल्लो समय सुन्तलाको व्यावसायिक खेतीतर्फ किसानको आकर्षण बढ्दै गएको छ । म्याग्दीको भकिम्ली, सिङ्गा, घतान, राखुपिप्ले, बराङ्जा, ताकम, देवीस्थान, विम, ओखरबोटलगायतका दर्जनबढी गाविसहरु सुन्तला उत्पादनका लागि पकेट क्षेत्र मानिन्छन् । म्याग्दीमा उत्पादन गरिएका सुन्तलाको बजार सदरमुकाम बेनी हुँदै पर्वत, बागलुङ, पोखरा, नारायणघाट, चितवन, बुटवल र काठमाडौंसम्म पुग्ने गरेको छ । नेपालको मध्यपहाड क्षेत्रमा पर्ने म्याग्दी जिल्लाको अन्य ठाउँमा समेत सुन्तला खेतीको व्यावसायिक सम्भावना देखिएको छ ।