२५ मंसिर २०७२, शुक्रबार

सिरहा। लहानस्थित सडक डिभिजन कार्यालयको परिसरमा बिहीबार ग्यास वितरणका क्रममा तस्बिर खिच्दा नयाँ पत्रिका दैनिकका सिरहा संवाददाता तथा प्रेस चौतारी नेपालका सगरमाथा अञ्चल कमिटिका सचिव दिलीप सिंह प्रहरीबाट कुटिएका छन् ।

डिभिजन कार्यालय परिसरको मूलढोकाबाट लाइनमा नरहेका ‘पहुँचवाला’ व्यक्ति प्रहरीको सहयोगमा भित्र पसेपछि सर्वसाधारण र प्रहरीबीच भएको विवाद स्थानीय युवा समिर आचार्यले मोबाइलबाट खिँच्दा प्रहरीबाट रगताम्मे हुने गरी कुटिएका थिए ।

आचार्यलाई कुटपिट गरिरहेको तस्बिर खिँच्दा पत्रकार सिंहलाई इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक पाँचु चौधरीले हातपात गरेका थिए ।

“युवकलाई अनावश्यक कुटपिट गरिरहेको बेला तस्बिर खिँचिरहदा प्रहरी निरीक्षक चौधरीले किन तस्बिर खिँचेको भन्दै ममाथि हातपात गर्न सुरु गरे”, पीडित पत्रकार सिंहले भन्नुभयो, “मैले पत्रकार भएकोले तस्बिर खिँचेको भन्दा चौधरीसहित अन्य प्रहरीले झन हातपात गर्न थाले ।”

हातपात गरिरहँदै नेपाल पत्रकार महासङ्घ सिरहाका पूर्व सभापति रामानन्द गुप्ताले पत्रकारलाई नकुट्न आग्रह गर्दै पत्रकार सिंहलाई प्रहरीको घेराबन्दीबाट बाहिर निकाल्नुभएको थियो ।

पत्रकार र मानव अधिकारवादीहरू सम्मिलित एक टोलीले इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायव उपरीक्षक उमाप्रसाद चतुर्वेदीसमक्ष सो घटनाको निन्दा गरेका थिए ।

प्रनाउ चतुर्वेदीले उक्त घटनाप्रति माफी माग्दै प्रनि चौधरीसँग सोधपुछ गर्नका लागि शुक्रबार बिहानसम्मको समय माग गरेपछि उक्त टोली पत्रकार सिंहमाथि हातपात गर्ने प्रनि चौधरीमाथि कारबाहीको माग गर्दै बाहिरिएको थियो ।

सार्वजनिक स्थलमा भएको विवादबारे मोबाइलमा भिज्युल खिच्ने पीडित आचार्यको टाउकोमा चार वटा टाँका लगाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV