
सर्लाहीका किसानले चिनी उद्योगसंग अझै ५६ करोड भुक्तानी पाउन बाँकी रहेको दाबी गरीरहदा सर्लाहीका चिनी उद्योगहरु भने संचालनको तयारीमा जुटेका छन् । उद्योगलाई उखु नदिउ ऋणमा डुब्नुका साथै उखु सुकेर जाला भन्ने पिर दिउ त अघिल्लो वर्षको पूरा रकम नपाउने अवस्था हुँदा सर्लाहीका किसानलाई यतिबेला उखु खेती निल्नु न ओकल्नु भएको छ । किसानहरुको यस्तै कथाबीच सर्लाहीमा रहेको इन्दु शंकर चिनी उद्योगले संचालनको तयारी पूरा गरेको छ । उद्योगले डोंगा पुजा संगै उद्योग संचालनको तयारी पुरा गरेको भए पनि , किसानले अघिल्लो बर्ष बुझाएको उखुको मूल्य पुरै पाई नसकेकाले यो बर्ष उद्योगलाई उखु दिने नदिने बिषयमा किसान अन्योलमा रहेको उखु उत्पादक महासंघका केन्द्रीय अध्यक्ष कपिलमुनी मैनाली बताउनु हुन्छ ।
उता उद्योगका महाप्रवन्धक बिजय कान्त झा भने आफुहरुले सरकार उद्योगी र किसानबीच भएको संझौता अनुसार किसानको सवै रकम बैक खातामा जम्मा गरिसकेको जिकिर गर्नुहुन्छ । उहाँले सरकारले भ्याट छुट अन्तर्गत किसानलाई दिने भनेको रकम दिन उद्योग बाध्य नभएको दावी गर्नुहुन्छ ।
यता किसान नेता कपिलमुनी मैनालीले उद्योग संग अझै ५६ करोड भुक्तानी पाउन बाँकी रहेको जिकिर गर्दै उद्योगपती र सरकारले किसानको कुरा नसुनेको आरोप लगाउनु हुन्छ ।
दैनिक ५० हजार क्वीन्टल उखु ‘क्रसिङ’ गर्ने क्षमता रहेको उद्योगले समयमै उद्योग संचालनमा नल्याए पछि उखु खेतमै सुक्ने अवस्था देखिएको छ । किसानहरु समयमै मूल्य लगायतका बिषयमा सम्झौता गरी उद्योग संचालनमा ल्याउन उचित हुने सुझाव समेत दिन्छन् ।