Nepa Top
century-bank

सिक्टा सिँचाइ आयोजनामा अनियमितता भएको दाबीसहित २१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा अनियमितता भएको दाबीसहित २१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले पूर्वमन्त्री एवं राप्रपा (प्रजातान्त्रिक)का नेता विक्रम पाण्डेसहित आयोजनाका तत्कालिन तीन जना प्रमुख, हालका आयोजना प्रमुख र ९ जना उप–सचिवस्तरका इन्जिनियरमाथि मुद्दा दायर गरेको हो । अख्तियारका प्रवक्ता रामेश्वर दंगालका अनुसार पाण्डेविरुद्ध २ अर्ब १३ करोड रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

आयोजनाका तत्कालिन प्रमुख शरदचन्द्र पण्डितमाथि ५९ करोड ३४ लाख, दिलीपबहादुर कार्कीमाथि १ अर्ब ५६ करोड, रमेश बस्नेतमाथि २ अर्ब १२ करोड बिगो मागदावी गरिएको छ । मुद्दामा सीडीईहरु सूर्यदेव थापा, योगेन्द्र मिश्र, श्यामबहादुर कार्की, सुशीलचन्द्र देवकोटा, कृष्णप्रसाद सुवेदी, प्रेमराज घिमिरे, वीरसिंह धामी र प्रकाशबहादुर कार्कीलाई पनि विपक्षी बनाइएको छ ।

सिँचाइ विभागका इन्जिनियर कमलप्रसाद रेग्मी, रविनाथबाबु श्रेष्ठ र आशिषभन्द्र खनाल तथा आयोजनाका वर्तमान प्रमुख सर्वदेवप्रसाद र इन्जिनियर मिनराज ढकाल पनि अनियमिततामा तानिएका छन् । उनीहरुमाथि बिगो मागदाबी छैन ।

सिक्टा सिँचाई आयोजनाको ठेक्का कालिका कन्स्ट्रक्सन र सीटीसीई जेभीले पाएको थियो । गुणस्तरहीन काम गरेको भन्दै सीटीसीईका प्रतिनिधि युवराज क्षेत्री र कन्सलटेन्ट उद्धवराज चौलागाईंलाई पनि प्रतिवादी बनाइएको छ । कालिका कन्स्ट्रक्सले बनाएको सिक्टा सिंचाई आयोजना अन्तर्गतको नहर परीक्षणकै क्रममा भत्किएको थियो ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]