Nepa Top
century-bank

कांग्रेसको आर्थिक नीतिको प्रस्ताव, वितरणमुखी अर्थतन्त्रकै सेरोफेरो

काठमाडौं । खुला बजार नीतिको वकालत गर्दै आएको नेपाली कांग्रेसले ‘पाँच खम्बा’को आर्थिक नीति प्रस्ताव गरेको छ । वीपी कोइरालाको प्रजातान्त्रिक समाजवादको अवधारणाअन्तर्गन नै प्रस्ताव गरिएको भनिएको आर्थिक नीति वामपन्थीको झैं वितरणमुखी छ ।

२०१५ सालमा बीपी नेतृत्वको सरकारले ल्याएको आर्थिक नीति र ०४६ सालको परिवर्तनपछि आर्थिक उदारीकरणको नीतिकै कारण नेपाल सहस्राब्दी विकास लक्ष्य प्राप्त गर्ने स्थितिमा पुगेको ठहर गरेको कांग्रेसले आफ्नो आर्थिक नीतिमा उत्पादन र वितरणलाई ‘फयुजन’ गर्नुपर्ने प्रस्ताव गरेको छ ।

कांग्रेसको प्रस्तावित आर्थिक नीति :

  • – उच्च उत्पादकत्वमा आधारित दिगो र फराकिलो आर्थिक वृद्धि
  • – समतामूलक लोक कल्याणकारी राज्य
  • – रोजगारमुखी युवा केन्द्रित उद्यमशीलता
  • – सार्थक वित्तीय संघीयता
  • – सदाचारयुक्त आर्थिक सुशासन

शिक्षा र स्वास्थ्य आमनागरिकको पहुँचमा पु¥याउन राज्य केन्द्रित योजना र विकास अघि बढाउने, व्यावसायिक शिक्षामा राज्यले व्यापक लगानी विस्तार गर्ने र ‘सबैका लागि गुणस्तरीय स्वास्थ्य र सबैका लागि गुणस्तरीय शिक्षा’ को अवधारणा कार्यान्वयन गर्ने कांग्रेसको आर्थिक दस्तावेजमा उल्लेख छ । विगतमा अंगिकार गरेको नीतिले ल्याएको परिवर्तनको स्वामित्वसमेत नदिई वीपीको समाजवाद र वितरणमुखी आर्थिक नीतिको चेपुवामा परेको कांग्रेसले लहलहैमा नयाँ नीति प्रस्ताव गरेको जानकारको विश्लेषण छ ।

६५ वर्ष नाघेकालाई वृद्धभत्ता, जटिल रोगीलाई उपचार भत्ता, महिला, दलित, सीमान्तीकृत, आदिवासी जनजाति, गरिबलाई सेवा र वस्तुको प्रयोगमा अनुदान, रोजगारी सुनिश्चित, सामाजिक बिमा, श्रमिकका लागि सामाजिक सुरक्षा प्याकेज कार्यान्वयनजस्ता नीति लिनुपर्ने प्रस्ताव गरेको छ ।

युवालाई वर्षमा १२० दिनको रोजगारी सुनिश्चित गर्नुका साथै युवा उद्यमीलाई सहुलियतपूर्ण ऋण, बेरोजगार शिक्षित युवालाई स्थानीय तहमा स्वयंसेवा गरेबापत भत्ता तथा वैदेशिक रोजगारीबाट फर्केकाको सीप र पूँजी प्रयोग गर्दै भविष्यमा पेन्सनसरहको लाभांश दिने नीति पनि कांग्रेसले प्रस्ताव गरेको छ । जुन वामपन्थी नेतृत्वको वर्तमान सरकारले अंगिकार गर्न खोजेकै नीतिको ‘फोटोकपी’ हो । प्रस्तावित आर्थिक नीतिले कांग्रेसका आलोचकलाई मद्दत गर्ने विश्लेषको ठम्याई छ ।

विपीको समाजवादलाई बोकेर वितरणमुखी अर्थतन्त्रको अभ्यासमा रहेका वामपन्थीसँग प्रतिस्पर्धा गर्नुपर्ने बाध्यतामा प्रस्ताव गरिएको कांग्रेसको नयाँ आर्थिक नीतिले आफ्नै विगतको मान्यतालाई चुनौति भने दिएको छ ।

 





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]