Nepa Top
century-bank

प्रदेश नं ३ लाई ‘औद्योगिक हब’ बनाइने

हेटौंडा  । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले प्रदेश नं ३ लाई मुलुककै ‘औद्योगिक हब’का रुपमा विकास गरिने बताउनुभएको छ ।

हेटौँडा औद्योगिक क्षेत्रको ५५औँ वार्षिकोत्सव समारोहमा उहाँले लगानीकर्तालाई आकर्षण गर्न प्रदेश सरकारले चालू आवलाई ‘उद्योग वर्ष’का रुपमा मनाइरहेको बताउनुभयो । “लगानीकर्तामाँझ सकारात्मक सन्देश जाओस् भन्ने उद्देश्यले उद्योग वर्ष मनाउने निर्णय गरेका हौँ”, उहाँले भन्नुभयो, “प्रदेश सरकार सानाठूला सबै प्रकृतिका उद्योगलाई प्रोत्साहन गर्न चाहन्छ, त्योअनुरुप नीति बनाइसकेका छौँ ।”

उहाँले बुधबारको मन्त्रिपरिषद् बैठकले ‘प्रदेश औद्योगिक व्यवसायसम्बन्धी विधेयक २०७५’ लाई प्रदेशसभामा पेश गर्न अनुमति दिएको जानकारी दिनुभयो । मन्त्री नेपालले उद्योगीलाई स्थानीय कच्चा पदार्थ र स्थानीय जनशक्तिलाई उपयोग गर्नसमेत आग्रह गर्नुभयो ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव शिवकुमार वाग्लेले सरकार उद्योगमैत्री वातावरण निर्माण गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो । हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष तथा महाप्रबन्धक नन्दकिशोर बस्नेतले प्रदेश सरकारले प्रादेशिक औद्योगिक ऐन बनाउनु स्वागतयोग्य भएको धारणा राख्नुभयो ।

उहाँले मुलुककै ठूलो औद्योगिक क्षेत्रको विकास र विस्तारका लागि प्रदेश सरकारको सहयोगको खाँचो औँल्याउनुभयो । हेटौँडा औद्योगिक क्षेत्रमा तीन हजार ११९ रोपनी क्षेत्रमा फैलिएको औद्योगिक क्षेत्रमा हाल १०१ उद्योग सञ्चालनमा छन् ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]