Nepa Top
century-bank

फिनल्याण्डमा गीतकार एवं कवियत्री पुष्पा खनालको एकल गीत तथा कविता वाचन

कुपिओ (फिनल्याण्ड)।  गीतकार तथा कवि पुष्पा खनालले फिनल्याण्डको कुपिओमा अङ्ग्रेजीमा गीत र कविता सुनाइन् । उनको एकल गीत तथा कविता वाचन कार्यक्रममा स्रष्टा खनालले ‘मैले पुज्ने देव तिमी, चाहेर तिमीलाई पाउन सकिन, दाग कति राम्रो, आउँदा जाँदा बाटो परे’ जस्ता उनका गीत र ‘आमा, गुलाव र म, नारी, हे विष आफूले आफैँलाई पिएर हेर’लगायत दर्जन गीत र कविता बाचन गरेकी थिइन् ।

खनालका अहिलेसम्म २०० भन्दा बढी गीत तथा कविता सार्वजनिक भइसकेका छन् । नेपाल स्रष्टा समाजकी महासचिवसमेत रहेकी खनालको एउटा पुस्तक प्रकाशन भइसकेको छ भने अब चाँडै अर्को पनि गीतको पुस्तक सार्वजनिक गर्न लागेको जानकारी उनले दिइन ।

नेपालकी उदियमान गीतकार खनालका गीतहरुमा अञ्जु पन्त, स्वरुपराज आचार्य, नरेन्द्र प्यासी, सरोज कोइरालालगायतका गायक गायिकाले स्वर दिएका छन् । खनालका गीत तथा कवितामा ममता, स्नेह, जागरुकताका साथै विद्यमान संसारसँगको बिद्रोह भेटिन्छ । उनको ‘सुने तिम्रो खुशी, यो आँखाको पानीलाई, आमा’ बोलका गीतहरू धेरै चर्चामा रहेका छन् ।

उनको गीत तथा कवितामा स्थानीय सङ्गीतकार टोनी लेतो र पेते रिसेनले सङ्गीत दिएका थिए । उपस्थित फिनिस नागरिकले कविता तथा गीतले नेपाललाई बुझ्न निकै सहयोग गरेको धारणा राखेका थिए ।

कविता तथा गीत वाचन कार्यक्रम स्थानीय माउण्ट शेर्पा रेस्टुराँमा भएको थियो । उनका कविता सुन्न नेपाली र फिनिस गरी करीव ४० नागरिक भेला भएका थिए ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]