Nepa Top
century-bank

के पितृ साँच्चै रिसाउँछन् ? प्रियजनको जीवन मात्र हैन मरण पनि राम्रो हुनुपर्छ

  • नारायण नेपाल

काडमाडाैं । शतबीज छर्ने दिनको अघिल्लो दिन चतरा -२ सुनसरीका पद्मप्रसादलाई भ्याई नभ्याई थियो । उनका अर्धांगिनी पनि उत्तिकै चटारोमा देखिन्थिन् । परिवारका अन्य सदस्यसमेत काम सघाइरहेका थिए । उनीहरूका समादरणीय पिता बितेको वर्ष दिन पुग्नैलागेको थियो । सरसामान जुटाइवरी उसै दिन उनीहरू वराहक्षेत्र जान आतुर थिए । बेलुका उतै बसी पितृका नाममा दियो बाल्ने र भोलि सखारै शतबिज छर्ने उनीहरूको योजना थियो ।

यसैगरी, कन्चनपुर (सप्तरी)की श्रमजीवी झम्की देवी पनि व्यस्त भेटिइन् । त्यतिबेला भर्खरै पहाड-मधेश एकता आन्दोलनमा ज्यान गुमाउन पुगेका उनका हजुरबुबाको स्मृतिमा उनी भोलि बिहानै स्थानीय कंकालिनी माई मन्दिर आसपास बस्ने केही वृद्ध भिखारीहरूलाई दोसल्ला र यथाशक्य दक्षिणा उपलब्ध गराउन चाहन्थिन् ।

शतबिज : पितृ/मातृ पर्वका रूपमा बढी प्रचलित

नारायण नेपाल

शाके, विक्रमलगायतका चन्द्रमासी पात्रो वा शारिणीअनुसार मार्ग अर्थात् मङ्सिर मास वा महिनाको कृष्णपक्षको चतुर्दशी तिथिलाई बालाचतुर्दशी भनिन्छ । मुख्यत: एक वर्षभित्र दिवंगत पुर्खाको आत्मा-शान्तिको निम्ति अनि बितेका स्वजन तथा प्रियजनको स्मरणमा देवस्थलीहरूमा गई शतबीज छरेर यो तिथि मान्ने संस्कार पुरानै मानिन्छ । प्राय: सबै सम्प्रदायका हिन्दुहरूमा यो पितृ/मातृ पर्वका रूपमा बढी प्रचलित छ ।

कतिपय प्रसंगमा जहिले दिवंगत भएका भए पनि सुआत्माको प्रेम दर्शाउने र कुआत्माको दुस्प्रभाव निराकरणको कामना गरी शिवादि देव पूजनको प्रचलन भेटिन्छ । हुन त यो तिथिमा शिव पाठ वा स्ताेत्र गर्ने-गराउने अनि अन्य तीर्थस्थल जाने पनि गरिन्छ नै । कतै सात थरीका बिउ छर्ने गरिन्छ भने प्रायले शतबिज छर्ने भन्दै दलहन, तेलहन र अन्य अन्न मिसी सय थरीकै बिउ छर्ने गर्दछन् ।

सय नै नपुगे पनि मिसमास बिउ छरेर काम चलाउने व्यबहारपरक प्रवृत्ति यदाकदा भेटिन्छ पनि । प्रायश: आमिषरहित धान, मकै, जौ, गहुँ, मास, मुंग, कागुनो अनि सामाजस्ता बीजहरू शतबीजमा पर्ने लोक मान्यता छ । अध्यात्मिक प्रकृतिवादीहरू र हाम्रा अग्रजहरू यो पनि मान्दछन् कि प्रकृतिको तत्त्वले बनेको हाम्रो शरीर मर्नु भनेको यसको वास्तविक रूपमा फर्कनु हो । यसै तथ्यलाई स्विकारेको अभिव्यक्तिस्वरूप प्रकृतिप्रदत्त तत्त्वमध्ये अग्नि, जल र अन्न फर्काई कृतज्ञता दिने काम शतबिज छर्ने हो । त्यसरी प्रकृतिले आफ्नो तत्त्व पाउँछिन् र सृष्टिको निरन्तरताको संकेत गरिन्छ भन्ने यस पङ्क्तिकारको पनि ठम्याई छ ।

Image result for शतबीज

विशेष तिथि वा पर्व अनि अवसरमा यसरी प्रकृतिको महत्ता बुझ्ने, सुरक्षण गर्ने र आत्मबोधका साथै परमात्मा सम्झने यस्तो कार्यले विशेष अर्थ राखेकै हुन्छ । हो, आफ्ना पितृहरूका नाममा त्रयोदशीका राति बत्ती बालेर भोलिपल्ट अर्थात् चतुर्दशीका विहान शिवालय, देवालय तथा अन्य पवित्र स्थल वा यस्तै वनविशेषमा सतबीज  छर्ने चलन रहेको छ । र, यो चलन पितृमुक्तिहेतु पितृ आत्मालाई विश्वदेवसँग जोड्ने कडीका रूपमा जनमानसमा जमेर रहेको पाइन्छ । अनि, विभिन्न प्रकारका गेडागुडी तथा अन्न सन्तुलित आहाराका लागि उपयुक्त हुने, खाद्य चेतना जोडिने, अन्न उत्पादन र बजार प्रबर्धन गरिने र अर्थोपार्जनको चासो रहने, आश्रित मनुष्य, पशुपंक्षी एबम् कीटाणु सबैको जीवत्त्व जगाउने उपकारी चेत भर्ने र स्वस्थ प्रजनन र आनन्दभावसमेतको संकेत पाइनेजस्ता कुराले यो तिथिको महत्ता अझ वैज्ञानिक र व्याबहारिक रहेको पुष्टि गर्दछन् ।

पितृ रिझाउन कठिन

ज्योतिषाचार्य नारायणप्रसाद निरौलाका अनुसार देवता रिझाउनभन्दा पितृ रिझाउन कठिन हुन्छ, पितृ खुसी भए परिवारमा सुखसमृद्धि आरोग्य एवं ऐश्वर्य वृद्धि हुन्छ भन्ने कुरा शास्त्रमा उल्लेख पाइन्छ । अतः पितृ खुशी बनाउने पर्वका रूपमा पनि बालाचतुर्दशीलाई लिइएको पाइन्छ ।

Image result for पितृ साँच्चै रिसाउँछन्

यो पर्वमा धर्मसँगै संस्कृति पनि प्रवाहित भएर आएको पाइन्छ । मेला लाग्नु, विभिन्न प्रकारका नाच गान गर्नु, विभिन्न किंवदन्ती पाइनुआदि साँस्कृतिक पाटा हुन् भने शास्त्रीय वचन एवं मान्यता धार्मिक पक्षअन्तर्गत पर्दछन् । (बालाचतुर्दशीमा किन छरिन्छ शतबीज ? हेर्नुहोस् शास्त्रीय आधार/लोकपथ/आइतबार, मंसिर ०९, २०७५) यो तिथि विशेषगरी पितृहरूको उद्धारको निम्ति महत्वपूर्ण समयका रूपमा मनाउने गरिन्छ ।

यदि आत्माजस्तो कुनै चीज हुन्छ भने शरीरबाट निस्केपछि पनि उसको अस्तित्व हुन्छ नै होला । चाहे हामीले त्यसलाई नाङ्गो आँखाले देख्न सकौं या नसकौं ।

नेपाल संस्कृत विश्व विद्यालयका सहप्राध्यापक एबम् प्रखर लेखक ध्रुवप्रसाद भट्टराई यस पावन समयलाई शास्त्रीय आधार तथा लोकविश्वासका कडीको रूप बताउनुहुन्छ । उहाँका अनुसार, वैदिक, तान्त्रिक र लौकिक गरी तीन प्रकारका संस्कारमध्ये सबैको मिश्रण देखिने यो प्रचलन आह्वान गरिएका आत्माले स्वर्गगमन गर्ने र त्यहाँ अनन्त कालसम्म वास पाउने विश्वासमा टिकेको छ र यो एक मनोवैज्ञानिक सोपान पनि हो ।

देवपत्तनका युवा चिन्तक तथा समाजसेवी उदित सिंह भने सतबीउ छर्न पशुपतिधामको मृगस्थली क्षेत्र नै प्रमुख मानिआएको बताउछन् । “तर, सत्बिउ छर्ने विधि पुर्याउने र त्यहाँ लाग्ने खर्चको मुख्य अंश भने अनाथ वा आश्रितकाे भलाइमा जम्मा गर्ने परिपाटी बसाउनु राम्रो हुन्छ । यो स्मृति अनि सेवाको अवसर हो ।”

उनको भनाइमा शिवको महिमा त छँदैछ, विभिन्न राक्षसले मुक्ति पाएका लोककथाहरू अनि मनशान्तिको प्रथाले यस चतुर्दशीको गरिमा उच्छ छ । लोकाचार हो गर्नुपर्छ । अरु नभए पनि जसका कारणले हामी छौं उनीहरूप्रति जीवनपर्यन्त सत्कार गर्नैपर्छ र त्यसपछि पनि सम्मान दर्शाउनै पर्छ । तरिका जस्तो पनि हुनसक्छ, अवस्था हेरेर काम गर्नुपर्छ भन्ने रोल्पा घर भै हाल पाटन लपु बस्ने वयोवृद्ध अधिकारवादी प्रताप मगरको भनाइले पनि सत्बिउ छर्ने संस्कारको सान्दर्भिकता प्रष्ट हुन्छ ।

Related image

त्यस्तै, संस्कृतिविद प्रा.डा. देवमणि भट्टराईका मतमा शिवप्रिय अवसर बालाचतुर्दशीमा नदीहरूको पूजन तथा आरती गरिन्छ अनि शिवमन्दिर परिसर एवम् देववनमा विशेष कर्तव्यार्थ सत्-बीउ, शतबीज, सदगुणले प्रख्यात भएको १०० वटा अन्नहरूको मिश्रण भएको अन्न पितृहरूका नाममा छरिन्छ । त्यसपछि ब्राह्मणहरूलाई दान–दक्षिणा दिई भोजन गराउने शास्त्रीय विधान छ । विश्वाश गरिन्छ, पितृहरूका नाममा शतबीज छर्नाले वहाँहरू जुन रूपमा पुग्नुभएको छ, त्यही रूपमा अन्नजल आदि प्राप्त गर्नुहुन्छ र तृप्ति मिल्दछ ।

यसै प्रसङ्गमा आफ्नो लेख ‘के मृत्यु भइसकेपछि मानिसले दोस्रो जन्म पाउँछ ?’ (लोकान्तर/असार २०, २०७४) मा प्रदीप गोस्वामी भन्छन् , ‘यदि आत्माजस्तो कुनै चीज हुन्छ भने शरीरबाट निस्केपछि पनि उसको अस्तित्व हुन्छ नै होला । चाहे हामीले त्यसलाई नाङ्गो आँखाले देख्न सकौं या नसकौं ।’ ठीक यस्तै प्रकारले आत्माको कल्पना गर्न सकिन्छ, जो मृत्युपश्चात् वायु मण्डलमा विद्युतीय तरंग जस्तै स्वतन्त्र रूपले विचरण गर्छ । र पुनः कुनै शरीरमा प्रवेश गरेर आफ्नो अस्तित्वको महशुष गराउँछ ।

त्यस्तै, भारतीय संस्कृतिविद ज्योतिषाचार्य पं. केवल आनन्द जोशी- “प्रेत शक्तियों का रहस्य और उनका कोहराम” (नव भारत टाइम्स / सेप्टेम्बर २२, २०१२) मा भन्नुहुन्छ, ‘मृतकको आत्माको शान्ति क्रियाकर्म गरिन्छ र यस्तो कार्य सही ढङ्गले हुनुपर्दछ । उचित समयमा एउटा शरीर छोडेको आत्माले अर्को शरीर वा स्वरूप प्रवेश गर्ने हुन्छ र जथाभावी भए त्यस्तो आत्मा दुरावस्थामा पुग्ने हुन सक्छ ।’

प्रियजनको जीवनमात्र हैन मरण पनि राम्रो हुनुपर्छ

यता हाम्रा समस्त सनातनी मान्यताले र बालासुरको मुक्तिलगायतका किम्बदन्तीलेपनि मृतकको आत्मा एक वर्षभित्रमा अर्को शरीर वा आधारमा पुगिसक्ने बताएबाट यो भन्न सकिन्छ कि आफ्ना प्रियजनको जीवनमात्र हैन मरण पनि राम्रो हुनुपर्छ र मरणोपरान्त गरिने दशादिक कार्य तथा आत्माशान्तिका उपाय उचित हुनुपर्छ ता कि असलपनको महशुस सम्बन्धित सबैले गर्न सकून् ।

Image result for मानव खप्पर

मृतकका नाममा जीवितले तनाव पाउने कुरा कुनै पनि कारणले सही होइन भन्ने ठानिन्छ । अनि, बुद्ध धम्मपदमा धूप तथा फूल अनि सम्यक विचार र व्यबहार भगवानमा अर्पित गरिनु वाञ्छनीय मानिएको छ ‘विकिपीडिया/Offering (Buddhism)’ ।

‘इस्लाममा जकातको अनिवार्य व्यबस्था छ र स्वयमसेवाको आह्वान खुदाहकी फ़जलसे अल्लाहकै स्तुति र सम्मानमा गरिन्छ,’ चाबेल काठमाडौँका कपडा व्यबसायी युवा चिन्तक सलिम खानको उक्ति छ ।

आफ्ना देउतालाई अदुवा, धान-चामल, रक्सी तथा फलफूल चढाएर मुन्धुम र स्थानीय रीतिअनुसार पर्व मान्ने गरिएको छ भन्ने किराँतसंस्कृतिका जानकार एबम् छिन्ताङ्ग धनकुटाली कवि हेम राईको विचार अनि आफूलाई दिन मन लागेको कुरो आफ्नो गडलाई चढाउन सकिने बिब्लिकल प्रावधान (कोरिन्थिएञ्ज ९:७) पनि अर्पण र उपासनाका कुरामा उत्तिकै सान्दर्भिक छन् भन्न सकिन्छ । बहाई मतले पनि दान र दया गर्नु धर्म हुने स्वीकारेको जानकारहरू बताउँछन् ।

नेपालमा शतबीजकाे जानकारी राख्नु अनुसरणीय

निचोडमा भन्नुपर्दा, जन्मले आएका प्रकृतिका तत्त्वहरू मृत्युसँगै प्रकृतिमै फर्किने सत्यको सम्मान स्वाभाविक छ । सम्मानित आत्माको सम्झनामा रीति र गच्छेअनुसार श्राद्ध (श्रद्धापूर्वक गरिने कार्य) गरिन्छ । प्राय: सबैले गर्छन् पनि । तर्पण-पिण्डकै नाममा नभए पनि फलफूल तथा खानेकुरा अनि आभूषण अर्पण गर्ने जल नमन गर्नेजस्ता परम्परा अन्य धर्मसंस्कारमा पनि रहेको जगजाहेर छ ।

हाम्रोजस्तो हिन्दु बाहुल्य कृषिप्रधान देशमा यसप्रकारको जानकारी राख्नु अझ मननीय र अनुसरणीय हुनेनै छ । “उत्पादक यद् प्रवदन्ति बुद्धेस्” भन्ने भास्कराचार्यको बीजबारेको मत (विकिस्रोत/बीजगणितम्) ले पनि शतबीज शत-प्रतिशत शुद्ध बीज हुने हुनाले जीवनलाई उत्पादनमुखी एवम् प्रेरणादायी कार्यमा लगाउन, भौतिक अशुद्धि हटाउन तथा स्वास्थ्य रहनसहनका मार्ग लिनेजस्ता प्रदर्शकीय कुरामा बालाचतुर्दशीले अहम् स्थान राख्छ भन्ने कुरा सत्यप्रतीत हुन्छ ।

तन, मन, वचन र कर्मले शुद्ध भई अध्यात्मको विरेचन गरिने यस पावन दिनले सुकर्ममा लाग्न सदा उर्जाशील भै बाँच्ने र बचाउने कार्यतर्फ मनुश्यगण सबैलाई उत्प्रेरित गरोस्, इहलोक परलोक सबै सप्रियोस्, मुक्तिमार्ग मिलोस् ! जीवनधारण र यसको विकासमा सहयोग पुर्‍याउने जेजो छन् सबै तत्त्वलाई स्मरण र सम्मान दर्शाउने यस पर्वको सम्बन्धित सम्पूर्णमा शुभकामना !

(प्राध्यापन पेशामा संलग्न लेखक कर्मकाण्ड दर्शनका अध्येता पनि हुन् !)





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]