Nepa Top
century-bank

शान्ति-सुरक्षा हेर्नुपर्ने गृहमन्त्री किन गए ‘सरसफाइ’ अभियानमा ? (तस्वीरहरु)

भक्तपुर । समाजमा शान्ति-सुरक्षा कायम राख्न नसकेकाे अाराेप खेपिरहेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ अाज एउटा सरसफाइ अभियानकाे उद्घाटनमा देखिए ।

आजदेखि भक्तपुरमा एकमहिने ‘सफा, स्वच्छ र सुरक्षित भक्तपुर अभियान’ शुभारम्भ भएको छ । भक्तपुरको लोकन्थली मनोहरा पुल बढारेर आज बिहान उक्त अभियान शुभारम्भ गर्दै गृहमन्त्री बादलले अभियन्ताहरुलाई सफाइका सामग्री हस्तान्तरण गरेर शुभारम्भ गरे भने उनी अाफैँले पनि सडकमा कुचाे लगाए ।

पूर्वमन्त्री एवं सांसदद्वय महेश बस्नेत र सांसद प्रेम सुवाल, प्रदेश नं ३ का सांसद शशीजङ्ग थापा, मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठलगायत जनप्रतिनिधि र सफाई अभियन्ताहरूलाई कुचो, डोको, साबेल, माक्स, पञ्जालगायत सामग्री प्रदान गरिएको थियो ।

भाषणमा शान्ति-सुरक्षाकै कुरा

अभियानकाे शुभारम्भपछि मन्त्री बादलले भने, ‘जनताले समृद्ध नेपाल र सुखी नेपाली बनाउने जिम्मा दिएका छन्, त्यो जिम्मेवारी पूरा गर्न सफल पार्न सबैको साथ र सहयोग चाहिन्छ ।’

शान्त र सुरक्षित नेपाल बनाउनु अहिलेको आवश्यकता रहेको बताउँदै उनले जनतालाई समृद्धि र सुरक्षाको प्रत्याभूति दिने अभियान पनि शुरु भएको बताए । अरनिको राजमार्गमा टिपरले धेरैको ज्यान लिएको चर्चा गर्दै गृहमन्त्रीले भने, ‘हामी सुरक्षित नेपाल पनि बनाउने अभियानमा लागेको छाैँ, सुरक्षित भए मात्रै देशलाई समृद्ध बनाउन सक्छौँ । दुर्घटना र महिला हिंसाको पछाडिका कारण मदिरा नै भएकाले जनताको सुरक्षाका निम्ति पनि मदिरा पूर्णरूपमा निषेध गर्नु जरुरी छ ।’

महिला हिंसा र बलात्कार रोक्न, सरकार, प्रहरी र प्रशासनले मात्रै सम्भव छैन, यसमा जनताको सहभागिता जरुरी हुन्छ भन्दै उनले सिङ्गापुर समृद्ध बनेको उदाहरण दिँदै जनता र सरकार मिलेर आफ्नो मुलुकलाई पनि समृद्ध बनाउनुपर्ने धारणा राखे ।

सांसद महेश बस्नेतले भक्तपुरको छ लेन सडकसँगै अरनिको राजमार्ग खण्डअन्तर्गत मनोहरा पुलदेखि भक्तपुरको सिमानामा रहेको काभ्रेको साँगासम्मको सडकका साथै सफा, स्वच्छ र सुरक्षित बनाउन सबै लाग्नुपर्ने बताए ।

जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा आगामी एक महीनासम्म सञ्चालन हुने यो अभियानले भक्तपुरका जनतालाई सभ्य, सुरक्षित र मर्यादित बनाउने बताउँदै उनले जडिबुटीबाट भक्तपुर प्रवेश गरेपछि र साँगाबाट भक्तपुर प्रवेश गरेपछि फोहर गरे कारबाहीमा परिने कुरा सबैलाई बुझाउनुपर्नेमा जोड दिए ।

जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जिल्लाका सम्पूर्ण निकाय, सङ्घसंस्था एकढिक्का भएर हरेक दिन बिहान ८ बजेदेखि एक महिनासम्म उक्त अभियान सञ्चालन गरिने प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए ।

नेपाली सेनाको सूर्यविनायकस्थित वीरदलगणका गणपति शिवप्रसाद पौडेलको संयोजकत्वमा अभियान सञ्चालन हुने जनाइएकाे छ ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]