Nepa Top
century-bank

प्रहरीलाई पूर्व-एसपीले ‘दान’ दिएको जग्गामा राष्ट्रपतिको ‘बक्रदृष्टि’

काठमाडौं । नेपाल प्रहरीलाई दान दिएको जग्गामा राष्ट्रपतिको बक्रदृष्टि परेको छ। प्रहरी प्रशिक्षण प्रतिष्ठान (एकेडेमी) रहेको जग्गा राष्ट्रपति भवन विस्तारका लागि सरकारले लिन लागेको छ।

एकेडेमी सञ्चालनका लागि पूर्वप्रहरी उपरीक्षक (एसपी) कृष्णभक्त श्रेष्ठले केही रोपनी जग्गा दान दिएका थिए। साथै प्रतिष्ठान रहेको अरू जग्गा पनि सरकारले उनकै परिवारबाट लिएको हो।

भदौ २१ गते बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति भवन र निवास विस्तारका लागि भन्दै प्रहरी एकेडेमीलाई काभ्रेको पनौतीमा सार्ने निर्णय गरेको थियो । मुलुकमा गणतन्त्र स्थापनापछि राष्ट्रपति कार्यालय र आवास शीतल निवासमा छ । राष्ट्रपति कार्यालय र आवासका लागि स्थान अभाव भएको भन्दै सरकारले प्रहरी प्रशिक्षण प्रतिष्ठान रहेको १ सय ९३ रोपनी जग्गासहित अर्बाैं लगानीका भौतिक संरचना लिने निर्णय गरेको हो।

यसअघि राष्ट्रपति कार्यालयले एकेडेमीको स्वामित्वमा रहेको ४१ रोपनी जग्गामा नयाँ भवन तयार गरिसकेको छ । जग्गादाता पूर्वएसपी श्रेष्ठको मृत्यु भइसकेको खबर अाजकाे नागरिक दैनिकमा छ।

पूर्व प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेलका अनुसार श्रेष्ठले २०२७ सालमा उक्त जग्गा प्रहरीलाई दान दिएका थिए । ‘उहाँ हाम्रा गुरु हुनुहुन्थ्यो, प्रहरीको तालिम केन्द्रलाई जग्गा नपुगेको भनेपछि उहाँले आफ्नो नाममा रहेको केही रोपनी जग्गा दान दिनुभएको थियो । केही रोपनी जग्गाचाहिँ परिवारका सदस्यबाट मिलाइदिनुभएको थियो’, खरेलले नागरिकसँग भने । उनका अनुसार प्रहरीको इतिहास बोकेको एउटा संस्थालाई हटाएर अर्को संस्थाका नाममा जग्गा लिन वा दिनु हुँदैन।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]