Nepa Top
century-bank

चितुवाको आक्रमणबाट ज्यान गुमाएकी बालिकको परिवारलाई ५० हजार राहत

दमौली । चितुवाको आक्रमणबाट ज्यान गुमाएकी तनहुँको भानु नगरपालिका–४ चिसापानी जोखने निवासी चार वर्षीया रञ्जिता लम्सालको परिवारलाई राहतस्वरुप रकम उपलब्ध गराइएको छ ।

तनहुँ डिभिजन वन कार्यालयका अधिकृत केदार बराल, भानु नगरपालिकाका प्रमुख उदयराज गौली र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रदेव पाण्डेले मृतकका आमा सरस्वती लम्साललाई घरमै पुगी राहतस्वरुप रु ५० हजार प्रदान गरेका हुन्।

वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत वन्यजन्तुको क्षतिको राहत निर्देशिका बमोजिम वन्यजन्तुको आक्रमणमा परी मानिस सामान्य घाइते भएमा रु ५० हजार, गम्भीर घाइते भएमा रु एक लाख र मृत्यु भएमा निजका परिवारलाई अधिकतम रु १० लाखसम्म उपलब्ध गराउने व्यवस्था छ । सोही निर्देशिका बमोजिम मृतकका परिवारलाई रु १० लाख उपलब्ध गराउनका लागि आवश्यक प्रक्रिया शुरु गरिएको डिभिजनल वन अधिकृत बरालले जानकारी दिए ।

घरको आँगनमा खेलिरहेको अवस्थामा रञ्जितालाई साँझ ५ बजे चितुवाले आक्रमणबाट घाइते भए पछि उपचारका लागि दमौली अस्पताल ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । मृतक बालिकाको बुबा कृष्ण लम्साल वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा छन् ।

यसअघि विसं २०७४ फागुन १ गते भानु नगरपालिका–३ दोरदोरका छ वर्षीय वर्षीय विशाल श्रेष्ठको पनि चितुवाको आक्रमणबाट मृत्यु भएको थियो । उनको परिवारलाई समेत रु १० लाख राहत प्रदान गरिसकिएको छ ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]