Nepa Top
century-bank

देश उज्यालो भएको खुसीमा हामीले देश अँध्यारो पार्नेहरुलाई चटक्कै बिर्सियौंं !

देशमा तिहारको माहोल छ । चारैतिर झिलिमिली नै झिलिमिली छ । कुनै समय यस्तो थियो कि उज्यालोको यो चाड दिपावली मनाउँदा कति खेर बत्ती जान्छ भनेर मुख चाँही अध्याँरै पारेर बस्नु पर्ने हुन्थ्यो । जलस्रोतको धनी देशले बत्ति बेच्नु पर्नेमा बाल्न पाउँदा पनि युद्ध जिते जस्तो गर्नु परेको छ ।

एउटा सिंगै जेनेरेशनले घर मात्र अँध्यारो पारेनन्, पुरै भविष्य नै अध्यारो पारे । केहि कमिशन खोर लोभिहरुले विजुली मात्र चोरेनन्, देशको ढुकुटीबाट अर्बौं पैसा कुम्ल्याए । हामी नेपालीहरुको एउटा असाध्यै नराम्रो बानी छ, त्यो हो तुरुन्तै विर्सने बानी ।

बत्ती बाल्न पाएकोमा खुसी हुने क्रममा हामीले बत्ती बाल्न नदिएर हाम्रो घर आँगन र भविष्यलाई नै अँध्यारो पार्नेहरुलाई विर्सियौं । एउटा उर्जा मन्त्रीको तारिफ गरिरहँदा अघिल्लो उर्जा मन्त्रीहरुको कुकर्मलाई चटक्कै बिसिर्ने हामी सर्ट टाइम मेमोरी लसहरुले गर्दा नै हो यहाँ गल्ती गर्नेहरु उम्कीने । देश उज्यालो भएको खुसीमा हामीले देश अँध्यारो पार्नेहरुलाई चटक्कै बिर्सियौँ ।

राम्रो काम गर्नेको तारिफ गर्दै गर्दा राम्रो काम गर्न नसक्नेहरुलाई त्यतिकै छोड्न हुँदैन । १८ घण्टासम्म लोडसेडिङ हुँदा पनि एक रत्ति लाज नमानी जनताको पैसाको तलब खाएर अझ झण्डा हल्लाउँदै कयौँ मन्त्रीहरु हुइकिए । नेपाल विद्युत प्राधिकरणलाई मेरो अनुरोध छ ।

तिहारमा ति सबका घरको बत्ति हरेक वर्ष तिहारको ५ दिनसम्म काटियोस् । वर्षौ जनतालाई अँध्यरोमा राख्नेहरुले पनि उहि सुविधा पाउने हो भने यहाँ सत्कर्म गर्ने प्रेरणा नै मिल्दैन । जनताको घरको बत्ति काटेर व्यापारीलाई पोस्ने र त्यसबाट करोडौं कमिशन खानेहरु पनि आज आफ्नो घरमा बत्ति बालिरहेका छन् ।

एउटालाई पनि कारवाही भएन, नट इभन अ सिगंल पर्सन । मैनबत्ति बालेर र टुकी बालेर पढ्न बाध्य कयौँ विद्यार्थी थिए जसले यो देशको भविष्य नै नदेखेर विदेश जाने निर्णय गरे ।

कयौं परिवार विखण्डीत भयो, कयौंले इक्जाम फेल गरे । एउटा सिंगै जेनेरेशनले खाना खाने समय, पढ्ने समय, आइरन लगाउने समय, ट्याङकीमा पानी भर्ने समय, मोबाइल चार्ज गर्ने समय भनेर नोट गर्नु प¥यो । ती दिनहरु कुनै युद्धका दिन भन्दा कष्टप्रद थिएनन् ।

संसारका अरु देश मंगल ग्रहमा पानीको सम्भावना बारे अध्ययन गर्नेबारे सोचिरहेको बेलामा हामी विहान ४ बजे बत्ति आउछ, त्यसपछि मोटर अन गरेर ट्याङकीमा पानी भर्नु प¥यो मात्र भनेर सोच्थ्यौँ । हाम्रो भविष्यलाई ठगेर खाने एउटा पनि मन्त्री कर्मचारी समातिएको छैन ।

वर्र्षैंसम्म देशलाई अँध्यारोमा राखिएको हो ? हो । कमिशनको चक्करमा अर्बौं घोटाला भएको हो ? नालायक व्यवस्थापक र लोभी पापि कर्मचारीको मिलेमतोमा देशलाई जानी जानी लोडसेडिङको मारमा होमिएको हो ? अनि त्यस्ता देश द्रोही, भ्रष्टाचारी, कुकर्मीहरु यतिखेर सर्बस्वसहित जेलको अँध्यारो छिँडिमा बस्नु पर्ने कि झलमल बत्ति बालेर करोडौँको महलको कौसीमा बसेर देउसी भैलो हेर्दै बस्नु पर्ने ?

कहि न कहि कित आफूले कि त आफ्नो पार्टीले पैसा बुझेर मुख बुझो लागेको बेइमानी नेताले कसलाई कारवाही गर्छन ? कसैलाई गर्दैनन् । जनताको रगत चुसेको जुठो मुखमा परेपछि मै हुँ भन्ने आदर्शवादी नेताको पनि मुख बन्द हुने रैछ ।

त्यसैले देशलाई जानजान अँध्यारोेमा राख्ने कयौं पुर्व उर्जामन्त्रीहरु र सयौं भ्रष्ट कर्मचारीहरुको घरमा देउसी खेल्न जानेहरुले तिनलाई आशिष नदिउन् । हालका उर्जामन्त्री वर्षमान पुन ज्युलाई मेरो चुनौती र अनुरोध छ । दुर दराजको रोल्पाबाट गरिब जनताको प्र्रतिनिधित्व गर्दै र तिनै भोका नाङ्गा जनताको भोट बोकेर तपाई झण्डा हल्लाउँदै हिड्नु हुन्छ ।

तपाईका गाँउमा र गाँउका जनताको मुहारमा उज्यालो नभएपनि तपाईको र तपाईकी श्रीमतीको अनुहार ५ हजार वाटको बत्ती जस्तै उज्यालो भइसकेको देखिन्छ । आफ्नो लागि पुगेको भए, हिम्मत गरेर ती सारा पूर्व उर्जामन्त्री, सचिव र कर्मचारीको नाम सार्वजनिक गरिदिनुस् जसले कमिशन खाएर यो देशलाई वर्षैं अन्धकारमा राखे ।

नाम सार्वजनिक गर्न नसके, छानी छानी तिनका घरको बत्ति आज रातिबाट काटी दिनुस्, हामी बाँकी कुरा आँफै बुझ्ने छौं । यति गर्ने आँट गर्नुहोस्, अर्को चुनावमा तपाईका लागि भोट माग्न म पनि रोल्पा जाने छु ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]