Nepa Top
century-bank

बल्ल पुग्यो बझाङमा राष्ट्रिय प्रशारण लाईन, स्थानीय हर्षित

  • रिदम सिंह,

बझाङ, २० कात्तिक । लामो समयदेखि विद्युत अभावको मार झेल्दै आएका बझाङबासीहरुले अव यो समस्याबाट मुक्ति पाएका छन । नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रशारण लाईनमा बझाङसंग जोडिएपछि समस्याबाट मुक्ति पाउनुका साथै स्थानीय बासिन्दा खुःसी भएका छन् ।

‘बझाङ भित्र गर्नु पर्ने पोलिङ र लाइनिङको बझाङ जिल्ला भित्र हुने सबै काम सम्पन्न भै सकेको पोल गाड्ने र तार तान्ने कामको जिम्मा पाएको नरेन्द्र दावा जेभी निर्माणका प्राविधिक महेश जोशीले बताउनु भयो । ‘हाललाई अस्थायी रुपमा विद्युत सेवा आपुर्ति गर्नका लागि चैनपुरमा दुई वटा ट्रान्सफर्मर जडान गरी मंगलबार विहानदेखि विद्युत सेवा सञ्चालनमा ल्याईएको उहाँको भनाई छ ।

बैतडी जिल्लाको बजपानी क्षेत्रमा केही ठाउँमा लाइन तान्नका लागि रुख काट्नु पर्ने भएकोले सोका लागि सामुदायिक वनसंग समन्वय गर्न केही समय लागेको र विद्युत लाईन तान्न तथा अन्य प्राविधिक समस्याका कारण असोज दोस्रो साता नै विद्युत प्रवाह गर्ने भनेको भए पनि कात्तिक तेस्रो साता मात्रै सफल भएको उहाँको भनाइ छ ।

आजबाट सदरमुकाम र आसपासका गाउँका करिब पाँच हजार घरपरिवारले राष्ट्रिय प्रशारण लाईनको विद्युत उपभोग गर्न पाउने छन । खप्तड छान्ना गाउँपालिकाका बाहेक जिल्लाका अरु ११ वटा स्थानीयतहमा पनि लाईन विस्तार गर्ने काम भैरहेको उहाँको भनाइ छ । राष्ट्रिय प्रशारण लाईन वितरण गर्नका लागि केदारस्यु गाउँपालिकाको बागथला र जयपृथ्वी नगरपालिकाको सेलाखेतमा सब स्टेसन निमार्णको काम पनि तीब्र रुपमा भैरहेको र यस बर्षको अन्तिम सम्म निर्माण भै सक्ने ठेकेदार कम्पनीहरुले जनाएका छन ।

बझाङ सदरमुकाम र आसपासका गाउँहरुलाई विद्युत सेवा उपलब्ध गराउदै आएको नेपाल विद्युत प्राधिकरणको सुर्मा देवी साना जलविद्युत आयोजना पटक पटक विग्रन थाले पछि विद्युत अभावले यहाँका बासिन्दाहरु हैरानी खेप्दै आएका थिए ।

विद्युत बन्द भए पछि यहांका बन्द व्यापारदेखि लिएर कार्यालय र घरायसी कामकाज समेत प्रभावित हुने गरेको थियो । आज जिल्ला समन्वय समितिका एक कार्यक्रमकाबीच पत्रकार सम्मेलन गर्दै विद्युत सुचारु भएको जनाकारी दिईएको हो । ३३ केभी राष्ट्रिय प्रसारण लाईनको औपचारिक रुपमा उद्घाटन हुन भने बाँकी छ । सुर्मा देवि विद्युत प्रालिले दिदै आएको ठाँउमा मात्रै अहिले राष्ट्रिय प्रसारण लाईनले सेवा दिने र बाँकी ठाँउ विस्तारै सुचारु गर्दै जाने योजना नेपाल विद्युत प्रालिले जनाएको छ ।







Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]