Nepa Top
century-bank

दशैँ मनाउन घर जाँदा सधैँ आमालाई रुवाएर फर्कन्छु

  • नविन कुलुङ

काठमाडौं । हिन्दूहरूको महान् चाड दशैँको आफ्नै मौलिकता छ नेपालमा । नेपालमा मनाइने दशैं हाम्रो सामाजिक परिवेशसँग जोडिएको छ । दशैँ नेपालीहरू र विशेष गरी हिन्दूहरूको महत्त्वपूर्ण चाड हो ।

प्राय: सबैले आफ्नो घर-परिवारसँगै बसेर दशैं मनाउँछन् । वैदेशिक रोजगारीका लागि परदेशिएकाहरु पनि दशैं मनाउन आफ्नो घरगाँउ फर्किने गर्छन् ।  काम र पढाइले गर्दा शहर छिरेकाहरू पनि दशैं मनाउनका लागि आफ्नो गाउँघर फर्कन तँछाडमछाड गरिरहेका हुन्छन् । अरू बेला व्यस्त दैनिकीले गर्दा गाउँ फर्किन नपाएका धेरै नेपाली गाउँ फर्किने उपयुक्त सिजन भनेकै दशैँकाे याम हाे ।

विशेषगरी देशकाे राजधानी काठमाडाैँबाट दशैँकाे बेला घरगाँउ फर्कन निकै मुस्किल छ । दशैंमा घर जानको लागि एक-अाध महिनाअगाडि नै गाडीको टिकट बुकिङ गर्नुपर्ने हुन्छ । त्यही पनि गाडीमा सिट पाउन गाह्रो छ । कतिले त  रातभरिको यात्रा गाडीमा झुण्डिएर नै गरिरहेका हुन्छन् । फर्किनेकाे भीड एकैसाथ बढ्ने हुँदा सवारी साधन नै पाउन मुस्किल छ, त्यसमाथि यात्रुकाे अधिक चापले सवारी दुर्घटना हुँदा दशैँ नभर्इ दशा बन्ने विडम्बना पनि त छ ।

तर जसरी भए पनि घरगाँउ त फर्कन्छन् नै, किनकि वर्षदिनपछि एकपटक भए पनि घर-परिवारसँगै मनाउन पाउनु उनीहरुका लागि अहाेभाग्य ठहरिन्छ । वर्षाैंपछि पारिवारिक जमघट गर्ने उपयुक्त अवसर दशैँ नै बन्ने गरेकाे छ । यसपालिको दशैंमा पनि सधैँझैँ काठमाडौं उपत्यकाबाट झण्डै २३ लाख मानिसहरु दशैं मनाउनका लागि बाहिरिए ।

त्यही २३ लाखभित्र म पनि परेँ एक । वर्षदिनपछि दशैँ मनाउन बल्लतल्त पुगेँ आफ्नो जन्मभूमि- भोजपुर । काठमाडाैँदेखि भोजपुर पुग्न यात्रा सजिलाे थिएन । जम्मा ७ वटा गाडी परिवर्तन गर्नुपर्यो घर पुग्न । त्यही पनि सरकारले तोकेको भाडादरभन्दा दोब्बर भाडा तिरेर, नत्र गाडी नै नपाइने । अरू बेला ‘कता जाने हो यता आउनुहोस् यता सस्तो छ’ भन्ने धरानमा समेत दोब्बर गाडीभाडा तिर्नुपर्‍यो । काउन्टरकालाई सोध्यो ‘गाडी नै छैन’ भन्छन् । पालोमा बसे भने त पर्सि पनि पालो आउँदैनन् भन्छन् । सबै गाडीहरू रिर्जभमा चलाउँदो रहेछन् । जसरी भए पनि  घर त जानु नै छ दशैँ मनाउन । दशैँ लगायत चाडबाडका बेला हुने खुलेअाम लूटकाे साक्षी भएँ म पनि । दोब्बर भाडा तिरेरै भए पनि जसोतसो म अामाकाे दैलाेमा उभिन पुगेँ ।

लखतरान भएर घर पुगेपछि ‘छोरो आइपुग्याे’ भनेर बाबुआमा खुसी हुनुभयो । वर्षदिनपछि छाेराे दैलाेमा अाइपुग्दा कुनचाहिँ अामाबाबुकाे अनुहारमा जून नउदाअाेस् र ? उहाँहरुकाे अनुहारकाे त्याे चमक देख्दा मैले यात्रामा भाेगेका सारा कष्ट बिर्सिएँ । गाउँमा अाजन्म संघर्ष गरेर जीवनकाे उत्तरार्द्धमा टेकिसक्नुभएका बाअामा यसपटक थप ‘वृद्ध’ भएकाे अाभास पाउँदा मन खिन्न पनि भयाे । म अाएकाे बिपी राजमार्गकाे घुम्ती नै घुम्तीकाे बाटाेजस्तै बुढ्याैलीका रेखाहरु बाअामाकाे अनुहारमा काेरिएका छन् । तीलचामले भएका कपाल र बाकाे झुस्स उम्रिएकाे दाह्री हेरेर एकछिन टाेलाएँ म ।

जेहाेस् पारिवारिक भेटघाट रमाइलाे भयाे । दशैं पनि हासिँखुसी नै मनाइयो । सबै आफन्तहरु र छरछिमेकसँग पनि भेटघाट भयो । मान्यजनहरुको हातबाट टीका थप्दै ‘असल र दीर्घजीवी’ हुने आशीर्वाद लिइयो । पिंगमा मच्चिँदै जीवनकाे चच‍‍..हुर्इ… मज्जा पनि लुटियाे ।

दशैंको रमझममा झुम्दाझुम्दै कति चाँडै छुट्टी त सकिएछ ! १०/ १२ दिन बितेकाे थाहै भएन । यतिका दिकाे छुट्टी भर्खर दुई दिन बितेजस्तो पनि लागेन । बाबुआमाको काखमा त दिनहरू पनि कति चाँडै काटिँदो रहेछ, अत्तोपत्तो नै नहुने ।

मन नलाग्दा-नलाग्दै पनि बाध्यताले काठमाडौं फर्कन हतार परिहाल्याे । कर्मथलाे काठमाडौंको बाटो तताउनु नै पर्ने भयाे । काठमाडौं फर्कनका लागि झोला मिलाउँदा-मिलाउँदै आमाको अनुहारबाट दशैंको सबै खुसी उडिसकेको थियो । उहाँकाे अनुहारमा बिछाेडकाे बादल छाएकाे थियाे । मेराे मनमा पनि विभिन्न प्रश्नसूचक भावहरु अाउदै विलाउँदै गरे । अन्तत: मनभरि अनेक कुरा खेलाउँदै म फर्किन तयार भएँ ।

हिँड्ने बेलामा निधारमा रातो टीका र कानमा फूल लगाइदिनुभयो आमाले । अनि भन्नुभयो- ‘राम्री जा, आफ्नो राम्रो ख्याल गर्नु, नबिग्रिनू । राम्रोसँग पढ्नु बाबु !’ यति भन्दाभन्दै आमाको आँखामा बर्बर आँसु खस्न थालिसकेको थियो । डाँडामाथिको घामजस्ती आमाको आसुँले एकदमै भावुक बनायो । मनलाई सम्हाल्दै मैले पनि भने किन ‘रुनुहुन्छ अामा, नरुनुहोस् । म कहिल्यै बिग्रन्नँ, असल बनेरै छिट्टै आउँछु । फोन गर्दै गर्छु । मेरो चिन्ता लिन पर्दैन । आफ्नो राम्रोसँग हेरचाह गर्नुहोला ।’

आफ्नो आँखाभरिको आँसु पुछ्दै आमाले फेरि भन्नुभयो, ‘म रोएको छैन । ल-ल फोन गर्दै गरेस्, अब राम्रैसँग त पुग्छस् होला नि ।’ मन भारी भए पनि अनुहारमा बनावटी खुसी देखाउँदै मैलै बाअामालार्इ बिदाइकाे हात हल्लाएँ । सबैले ‘शुत्रयात्रा’ भनेर बिदाइको हात हल्लाए ।

१० मिनेट हिँडेपछि सँगै काठमाडौं आउने साथीकाे घर अाइपुग्याे । साथी पनि काठमाडौं आउनका लागि तयार भइसकेको रहेछन् । हामी झोला बोकेर बाटो लाग्यौँ । साथीको आमा पनि रुन थाल्नुभयो । उहाँले पनि मेरी आमाले जसरी नै आँखाभरि आँसु झारेर भन्नुभयो ‘राम्ररी जानु, फोन गर्दै गर्नु । बाटो काट्दा राम्ररी हेरेर काट्नु, गाडीले हान्न सक्छ ।’

हामी बाटो लागेपछि साथीको हजुरआमाले त डाको नै छाड्नुभयो । भनिन्छ- ‘सावाँको भन्दा पनि ब्याजको माया धेरै ।’ सायद साथीको हजुरआमालाई पनि त्यस्तै भएको होला ।

हुन त यो वर्ष मात्रै होइन आमालाई रुवाएको, वर्षैपिच्छे दशैंमा घर जाँदा यसरी नै रुवाएर फर्कन्छु म । अघिल्लो वर्ष दशैं  मनाउन घर गएर फर्कंदा पनि अहिलेकै जसरी रुनुभएको थियो । आखिर सबै आमाको मन एउटै त हुन्छ । मेरो र साथीको आमाको आँखामा मात्रै होइन, हामीजस्तै बाध्यताले परदेशिएका एवं शहर हिँडेका सबैका आमाको आँखा रसाएका हुन्छन् ।

सकिन्न तिर्न दूधको भारा

आमाको माया कति अगाढ हुन्छ, भनेर साध्य नै छैन । आज भन्दा १०/१२ वर्ष अघिको कुरो हो । चीनको ‘अमुक’ ठाउँमा पहिरो गएर एउटी आमा र उनकाे काखको बालक पुरिए । पहिरो ठूलो भएकाले उद्धार कार्य सम्पन्न गराउन धेरै दिन लाग्यो । जमिनमुनि पुरिए पनि उनीहरू दुवै जीवितै  रहेछन् ।  अन्न-पानी केही नभएको हुँदा कसरी छोरालाई बचाउने भनी उनलाई चिन्ता पर्न थाल्यो । आफू मरेर पनि छोरालाई बचाउने उद्देश्यले आफ्नो स्तनको मुण्टोलाई टोकेर रगत निकालेर छोरालाई बचाउन सफल भएकी थिइन् । अाफू पनि अन्नपानी केही नपाएकाे अवस्थामा सायद उनकाे दूध नै रित्तिएर रगत पिलाउनुपर्याे हाेला ।

एउटा कुकुरर्नीले आफ्नो मरेको बच्चालाई पर्खिराखेकी हुन्छे । त्यो मरेको बच्चाएको छेउछाउ अरू केही आउन दिँदैन । मान्छे गयो भने पनि झम्टिन्छे । मान्छेले त्यो कुकुरर्नीलाई धपाएर मरेको बच्चा नफालिएसम्म कुरी बसेको पाइन्छ । बाँदर्नीले पनि आफ्नो मरेको छाउरोलाई पिठ्युँमा बोकेर हिँडिरहेकी हुन्छे । यसरी समातिरहन उसलाई गाह्रो पर्न थाल्यो र आफ्नो पेटमा एक हातले च्यापेर अर्को हातले टेक्दै हिँडिरहेकाे दृश्य यदाकदा देख्न पाइन्छ ।

आमाको माया यस्तो हुन्छ भनेर वर्णन गर्न सकिँदैन । अमेरिकाका १६ औँ राष्ट्रपति अब्राहम लिंकनले भनेका छन्- ‘आमाको काखमा भएको मान्छे कहिल्यै दुःखी हुँदैन ।’ मान्छेहरू भन्ने गरेका छन्- ‘आमाको दूधको भारा जति गरे पनि तिरिँदैन ।’

सम्झन्छु ती आमाहरु, जसलार्इ घृणा गरेर वृद्धाश्रममा बेवारिसे अवस्थामा छोडेका र लाउन-खान नदिएर बिचल्लीमा पारेका हुन्छन् अाफ्नै सन्तानले । यद्यपि सबै मानिसको भावना, विचार तथा व्यवहार एउटै हुँदैन । जे होस् आमाले जति आफ्ना सन्तानलाई माया गर्छिन् सन्तानले निश्चय नै त्यति माया गरेका हुँदैनन् ।

आमालाई संसारको सबैभन्दा ठूलो गुरु भनेर पनि सम्बोधन गर्ने गरेको पाइन्छ । सरस्वातीको अक्षाराम्भ गर्ने पहिलो पाठशालाकी गुरु पनि आमा नै हुन् । जसलाई बजारमा किन्न पाइँदैन । आमाले आफ्नो सन्तानलाई यस दुनियाँकै अमूल्य हिरा ठान्छिन् अनि सधैँभरि असल हिरो बनाउने प्रयत्नमा तल्लीन रहन्छिन्।

अनेकौँ पीडाहरूको बीच पनि मन्द मुस्कान दिएर आफ्ना सन्तानहरूको भविष्य बनाउनेतिर लम्किन्छन् । आफू नखाई नखाई आफ्ना छोराछोरीको पेट भर्छन् । मुखभित्र हालिसकेको गाँस पनि छोराछोरीलाई दिने गर्छन् ।

घाम–पानी, उकाली–ओराली, दिन–रात केही नभनी कुद्छन् सन्तानकै लागि । जति प्रशंसा गरे पनि अपुग हुनेछ, आमालाई । हुन त आमाको माया नबुझ्नेलाई आमा को हो र के हो ? कुनै मतलबी कुरा नै भएन । तर, जसले आमाको माया, ममता बुझेका हुन्छन् उसले आमालाई राम्रोसँग माया गर्छन् ।







Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]