Nepa Top
century-bank

काठमाडौंका अधिकांश पार्क अव्यवस्थित, न्यूनतम् पूर्वाधारकै अभाव

काठमाडौं । एकातिर ‘कंक्रिट जंगल’ले काठमाडौं उपत्यकालाई ‘निष्प्राण’ बनाउँदै छ भने अर्कोतिर भएका खुला ठाउँ पनि नासिदै छ । केही समय टहलिउँभन्दा बसाई नजिक त्यस्तो ठाउँ छैन । स्वच्छ वातावरणमा निस्फिक्रि हिड्न मन लागे काठमाडौं छोड्नुपर्छ । तर, काठमाडौं महानगरपालिकाले ‘स्वच्छ, सफा र हराभरा’को नारा लगाउन थालेको बर्षौ भइसक्यो ।

यो काठमाडौंको धुम्बारहीमा रहेको शंखपार्क । हरेक साँझ–विहान यहाँ स्वच्छ हावामा हिड्ने र हल्का व्ययाम गर्नेको धुँइचो लाग्छ । दिउँसो टहलिनेको संख्या पनि कम हुँदैन । तर, यो नाम मात्रैको पार्क हो । पार्क भन्न लायक स्वरुप कहीं–कतै भेटिदैन । पोखरी सुख्खा, मन्दिर लथालिङ र शौचालय बिजोग छ । सर्वत्र फोहोरै–फोहोर छ ।

उपत्यकामा शंखपार्क, बालाजुपार्क, रत्नपार्क, युएनपार्कसहित १७ वटा पार्क छ । तर, एक दुई ठाउँको बाहेक सबैको अवस्था उस्तै छ । पार्कमा न त पिउने पानीको व्यवस्था छ न त बस्ने ठाउँ नै ।

खोला किनार र उपत्यकामा रहेका २५ खुला ठाउँ, जहाँ हरियाली प्रवद्र्धनसहित अत्यावश्यक पूर्वाधार निर्माण गरेर सर्वसाधारणको आवागमन बढाउने महानगरको योजना भने बर्षौदेखि कागजमा मात्रै सीमित छ । तरपनि उ सहरलाई व्यवस्थित बनाउने अभियान जारी रहेको दावी गर्छ । फोहोरका थुप्रा व्यवस्थापन गर्न नसक्ने महानगरपालिकाले सपना देख्न÷देखाउन भने छोडेको छैन ।

उपत्यकामा रहेका कतिपय पार्कमा त मान्छे जानसमेत हिकिचाउँछन् । पार्कमा सामान्य सुविधादेखि आधारभूत पूर्वाधार पनि छैन । प्राकृतिक बिपद्का बेला मात्र होइन दैनिक जीवनयापनका लागि पनि पार्क महत्वपूर्ण हुन्छन् । तर, भएकाकै संरक्षण गर्न नसकेको महानगरले अतिक्रमित पार्क व्यवस्थित गरेर सर्वसाधारणको बिचरण सहज बनाउला भन्ने आधार चाहीँ अझै अन्योलमै छ ।







Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]