Nepa Top
century-bank

राष्ट्रपतिको राजसी टीका : सर्वत्र अालाेचना

राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीलाई दसैंको टीका लगाइदिँदै गरेको तस्वीर, जुन सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीलाई दसैंको अवसरमा टीका लगाइदिँदै गरेको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । सो तस्बिरमा सोफामा बसेकी राष्ट्रपति भण्डारीले आफ्नो अगाडि घुँडा टेकेर बसेका पूर्वप्रधानन्यायाधीश पराजुलीलाई टीका लगाइदिँदै गरेको देखिन्छ।

नेपालमा राजतन्त्र रहँदासम्म यस्ता घटना सामान्य नै मानिन्थे । तर राजतन्त्र नेपालको हितमा नरहेको निष्कर्षसहित त्यसलाई फालेर ल्याइएका गणतन्त्रमा समेत राष्ट्रप्रमुख (राष्ट्रपति भण्डारी) बाट राजसी प्रवृत्ति देखाइएको भन्दै उनको आलोचना भइरहेको हाे।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य सूर्य थापाले राष्ट्रपतिले पूर्वप्रधानन्यायाधीश पराजुलीलाई दसैंको टीका लगाइदिँदै गरेको तस्बिर आफ्नै फेसबुक वालमा राख्दै यो प्रवृत्ति संघीय लोकतान्त्रिक गणतन्त्रकनुरुप एवं गणतान्त्रिक चेतना, संस्कार र संस्कृतिमुताबिक नभएको टिप्णी गरेका छन् ।

उनले लेखेका छन्, ‘संयोगवशः उहाँ हुनुहुँदोरहेछ पदमुक्त पूर्वप्रधानन्यायाधीश गोपाल पराजुली ! उहाँले नै महामहिम राष्ट्रपति विद्यादेवी भण्डारीलाई दोस्रोपटक राष्ट्रपति चयन भएपछि पद तथा गोपनीयताको सपथ गराउनुभएको थियो !’

पूर्वप्रधानन्यायाधीश पराजुलीले नै दोस्रो कार्यकालका लागि राष्ट्रपति भण्डारीलाई पद तथा गोपनीयताको सपथ गराएका थिए। थापाले अगाडि लेखेका छन्, ‘चर्चित मानवअधिकारकर्मी सुशील प्याकुरेल राष्ट्रपतिज्यूका सल्लाहकार हुनुहुन्छ भने आधुनिक कानुनमा विद्यावारिधि उपाधियुक्त डा. भेषराज अधिकारी स्वकीय सचिव ! अनि जनताकी छोरी विद्या भण्डारी दोस्रो कार्यकाल राष्ट्रपति । नागरिकलाई यो आसनमा बडादसैंंको टीका ? संघीय लोकतान्त्रिक गणतन्त्रको मर्मअनुरुप एवं गणतान्त्रिक चेतना, संस्कार र संस्कृतिमुताबिक भएन ।’

थापाले प्रश्न गरेका छन्– आजीवन हसिया हथौडा अंकित झन्डामुनि क्रियाशील, नेपाली महिला सशक्तीकरण आन्दोलनकी प्रेरणादायी नेत्री, जननेता मदन भण्डारीकी जीवनसंगिनी र कम्युनिस्ट पार्टीबाट निर्वाचित राष्ट्रपतिलाई यसरी विवादमा तान्ने परम्पराको अभ्यास गराउने को हो ? उनले नागरिक हैसियतको यसरी हुर्मत लिने गरी राष्ट्रप्रमुखलाई विवादित बनाउने रबैया मान्य हुननसक्ने उल्लेख गरेकाे समाचार अाजकाे नागरिक दैनिकमा छ ।

यसैगरी विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले पनि ट्विटरमार्फत राष्ट्रपति भण्डारीले पूर्वप्रधानन्यायाधीश पराजुली र पूर्वप्रधानसेनापति राजेन्द्र क्षत्रीलाई टीका लगाइदिँदै गरेको तस्बिर सार्वजनिक गर्दै त्यहाँ देखिएको राजसी प्रवृत्तिको आलोचना गरेका छन् ।







Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]