Nepa Top
century-bank

किन विवादित बन्दैछ दसैं ? (भिडियोसहित)

दसैं र शान्ति सुरक्षा

काठमाडौं, ३० असोज । ठूला चाडपर्वलाई अपराधीले अवसरका रुपमा लिने गरेका छन् । चाडवाडसँगै चोडी डकैतीका घटना बढ्ने गरेको प्रहरीको तथ्यांक छ । चाडपर्वसँग प्रहरी सुरक्षा व्यवस्था कडा बनाउने बताउने गरेको छ । तर, प्रहरीको सुरक्षा योजना त्यति प्रभावकारी हुँदैन ।

दशैँ, तिहार र छठजस्ता चाडपर्वलाई लक्षित गर्दै अपराध नियन्त्रण तथा उपभोक्ता ठगी रोक्न विशेष सुरक्षा र अनुगमन कार्य बढाइएको प्रहरीले बताएको छ । चाडपर्वका बेला विभिन्न खाले अपराधका घटना बढ्नुका साथै खाद्य वस्तुमा मिसावट र दैनिक उपभोग्य वस्तुको भाउ अस्वभाविक रूपमा बढाइने गरेकाले त्यसलाई रोक्न विशेष संयन्त्रहरू बनाइएको उनीहरूको भनाइ छ । चाडपर्वका बेला आउने नागरिकका गुनासालाई सम्बोधन गर्न तत्कालै परिचालन हुनसक्ने गरी विशेष टोलीहरू समेत बनाइएको छ ।

जिल्ला प्रहरी कार्यालयहरुले एकपछि अर्को गर्दै दशैं सुरक्षा योजना सार्वजनिक गरिसकेका छन् । चाडपर्वका बेला झैझगडा, चोरी, ठगी, लुटपाट र जुवातास खेलाउने लगायतका अपराध बढ्ने गर्छन् । प्रहरीकै विगतका तथ्यांकले पनि चाडपर्वमा चोरी, डकैतीका घटनामा वृद्धि भएको देखाएको छ । आपराधिक मनोवृत्ति सुरक्षा योजना सार्वजनिक हुँदा हतोत्साहित हुने प्रहरीको दाबी र घटनाको ग्राफको तारतम्य मिलेको छैन । घटनामा कमी होइन वृद्धि भएको देखिएको छ ।

यसले पनि अपराध कम गर्न प्रहरीको सुरक्षा योजना सार्वजनिक गर्ने रणनीति फेल खाएको देखाएको छ । सधै झैं यो वर्ष पनि नेपाल प्रहरीले सुरक्षा व्यवस्था चुस्त पार्ने दाबी गर्दै आएको छ । यस वर्ष चाड पर्वलाई मात्र लक्षित गरेर देशभर ३१ हजार ५ सय प्रहरी परिचालन गरिएको छ ।
अरू बेलाको तुलनामा सवारी दुर्घटना धेरै हुन्छ भने सीमा क्षेत्रमा तस्करी बढ्छ । यस्ता गतिविधि नियन्त्रणका लागि स्थानीय तहसम्म विशेष सुरक्षा योजना लागु भइरहेको प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले बताए ।

त्यस्तै सवारी व्यवस्थापन र यातायातमा ठगी रोक्न ट्राफिक प्रहरीले छुट्टै विशेष योजना बनाएको छ । चाडपर्वलाई लक्षित गरेर ठाउँठाउँमा थप प्रहरी पोस्ट खडा गरिएको र सादा पोशाकमा प्रहरी खटाइएको अधिकारीहरूले बताएका छन् । यो अबस्थामा अपराधिक कृयाकलाप बढ्ने संभावना भएका कारण आफैँ स्वयम् पनि सचेत रहनुपर्छ ।

दसैं र दुर्घटना

दसैंका बेला सवारी दुर्घटना बढेको तथ्यांक छ । प्रहरीका अनुसार चाडपर्वका बेला २० देखि २५ प्रतिशतसम्म सवारी दुर्घटना बढ्छ । सवारी दुर्घटनामा नेपालमा हरेक वर्ष दुई हजार बढी मानिसको मृत्यु हुने गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्याङ्क छ । यो तथ्याङ्क चार्डपर्वकै अवधिमा बढि भएको देखिन्छ ।

जोखिमपूर्ण यात्राले गर्दा दसैंका बेलामा थुप्रै सवारी दुर्घटना हुँदै आएका छन् । यस्ता चाडपर्वमा मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा पनि निकै दुर्घटना हुने गर्छन् । खासगरी मोटरसाइकल दुर्घटना निकै हुने गर्छन् । नेपालमा सवारीचालककै लापरबाही र सडकको अवस्थाले दुर्घटना बढेको देखिन्छ । खासगरी चार्डपर्वका बेलामा कत्ति पनि ट्राफिक नियम पालना गरेको देखिँदैन ।

मानिसका यस्ता जोखिमपूर्ण क्रियाकलापले गर्दा दसैंतिहारमा सवारी दुर्घटना निकै बढ्ने गर्छन् । यस्ता दुर्घटनामा शिरको चोटपटक बढी लाग्ने गरेको भेटिएको छ । मुल कुरो दसैंतिहार होस् वा कुनै पनि बेला ट्राफिक प्रहरीको आँखा छलेर बिनाहेल्मेट मोटरसाइकल हाँक्ने, मोटरसाइकलमा दुईभन्दा बढी मानिस हालेर हिँड्ने, बसको छतमा बसेर वा बसको ढोकामा तथा बसको पछि झुन्डिएर यात्रा गर्ने तथा मादक पदार्थ सेवन गरेर सवारी चलाउनेजस्ता जोखिमपूर्ण क्रियाकलाप गर्नु हुँदैन । त्यसैले दशैका बेला हुने दुर्घटनामा सचेत हुनु जरुरी छ ।

दसैं, खानपान र जनस्वास्थ्य

दशैँमा रमाइलो गरिरहँदा हामी आफ्नो खानपान र स्वास्थ्यमा त्यति ध्यान दिँदैनौँ । सजग हुँदैनौँ । दशैँमा खानपान देखि सबै कुराहरु अलि बढि नै हुन्छ । माछा, मासु, फलफूल देखि त्यसमा प्रयोग हुने मरमसला तथा विशादीले हाम्रो स्वास्थ्यलाई असर गरिराखेको हुन्छ । यही मौका छोपेर बजारमा मिसावट र विशादीजन्य खानेकुरा भेटिन्छन् । त्यसैले त्यसमा विशेष ध्यान पु¥याउनु जरुरी छ ।

दशैँमा मासु र चिल्लो खानेकुराको अधिक सेवनका कारण धेरैको स्वास्थ्य बिग्रिन्छ । चिकित्सकका अनुसार दशैँको समयमा खानपिनमा ध्यान नदिँदा दीर्घरोगीमात्र होइनन्, स्वस्थ मानिस पनि अस्पताल पुग्ने गरेका छन् । त्यसैले दशैँमा सबैले खानपिनमा विशेष ध्यान दिनुपर्ने चिकित्सकको जोड छ ।

दशैँका बेला उच्च रक्तचाप, मुटुरोग, मधुमेह र पेटजन्य समस्याका बिरामीको संख्या ह्वात्तै बढ्नुका साथै बजारमा पाइने अस्वास्थ्यकर मासुका कारण तत्कालै टाइफाइड, झाडापखाला, क्षयरोग, आउँ, पेट फुल्ने, मिर्गाैलाको रोग जस्ता समस्या पनि देखापर्ने गरेका छन् ।

दसैंमा मासु एकै पटक धेरै खानु पनि राम्रो मानिँदैन । एक छाकमा तीन–चार टुक्रा खाने, कोक, फेन्टा र अन्य जुसभन्दा सफा पानीलाई प्राथमिकता दिने, हरियो तरकारीलाई पनि खानामा समावेश गर्ने र मासुको मात्र भर पर्नु हुँदैन ।

मासु पकाएर धेरै समय फ्रिजमा राख्दा पनि ब्याक्टेरियाको संक्रमण हुन सक्छ । मासु भण्डारण राख्ने उचित वातावरण नमिल्दा पनि कतिपय अवस्थामा मासु खानयोग्य नहुने चिकित्सकको भनाइ छ । त्यसैले दशैँका बेला जथाभावी खानपानमा सजग भए हैरानीसमेत हो । त्यसैले मासुजन्य खानेकुरा खाँदा साबधानी अपनाऊ ।

त्यस्तै यात्रामा रहँदा पनि स्वास्थ्यमा सामान्य समस्या आउँछ । बेचैनी, चिटचिडाहट, रिंगटा र वान्तासम्मको चक्रले यात्रुलाई आलसतालस बनाउँछ । त्यसैले दशैंमा लामो दूरीको यात्रा गर्दै हुनुहुन्छ र सामान्य भाषामा ‘गाडी लाग्ने’ भनेर बुझिने ‘मोसन सिकनेस’को समस्या छ भने चिकित्सकको सल्लाह लिनु उपयुक्त हुन्छ ।

भड्किलो अर्थात् खर्चिलो बन्दै दसैं

पछिल्लो समय दशैँ निकै खर्चिलो र विकृत बन्दै गइरहेको छ । भए पनि, नभए पनि जसरी पनि मिठोमसिना खानैपर्छ, जसरी पनि राम्रो लगाउनै पर्छ भन्ने चाहना र तडकभडकले दशैँ बोझ र तनावपूर्ण बन्दै गएको छ । कमजोर आर्थिक अवस्था भएका व्यक्तिहरूका लागि दशैँ दशाकै रूपमा परिणत हुँदै गएको छ ।

खानपानका नाममा क्षमता भन्दा बढि खर्च गर्ने, अत्याधिक मदिराको सेवन गर्ने, महंगा कपडा किन्ने, जुवा तास लगायतका खेलमा करोडौँ रकम सिध्याउने लगायतका विकृतिहरुलाई निस्तेज गर्दै सरल र कम खर्चिलो दशैँ मनाउनु अहिलेको आवश्यकता पनि भइसकेको छ ।

दशैँका नाममा महिनौँ, बर्षौँको कमाई सिध्याएर, परिवारलाई ऋणमा डुवाउने कार्यसँग प्रत्येक नेपालीहरु सचेत बन्नु पर्छ र दशैँलाई कम खर्चिलो बनाउनु पर्छ । घाँटी हेरी हाड निल्नु भने झँै आफ्नो क्षमता अनुशार दशैँलाई सम्य, शान्त र मर्यादित बनाउँदै आफन्तसँग भेटघाट गर्ने, आर्शिवाद लिने र आपसी प्रेम बढाउने अवसरका रुपमा दशैँलाई विकास गर्नु जरुरी छ । चाडपर्वलाई फजुल खर्च गर्ने अवसरको रूपमा होइन । आफूलाई उत्साहित गर्ने आपसी सम्बन्ध प्रगाढ बनाउने, माया प्रेम र सद्भाव बढाउने अवसरको रूपमा लिनुपर्छ । त्यसैले दशैँ स्वास्थ्यदेखि, दुर्घटना, खर्चिलो र तडकभडक, सबैमा आफैं पनि सचेत हुनु पर्छ ।







Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]