Nepa Top
century-bank

नेकपाको सिट गुम्ने गरी काठमाडौं ७ मा उप-निर्वाचन हुँदैन : प्रचण्ड

काठमाडौं । प्रतिनिधिसभा काठमाडौं क्षेत्र नम्बर ७ बाट निर्वाचिन सांसद रामवीर मानन्धरको राजीनामाले राजनीतिक तरंग उत्पन्न गरेको छ । मानन्धरको राजीनामा र वामदेव गौतमलाई संसद प्रवेश गराउने प्रसंगले सत्तारुढ नेकपाभित्र विवाद बढाएको छ । नेकपाका नेता मात्र होइन मानन्धरलाई मत दिने मतदाता पनि असन्तुष्ट देखिएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले नेकपाको सिट गुम्ने गरी काठमाडौं–७ मा उप–निर्वाचन नहुने बताउनु भएको छ । काठमाडौं क्षेत्र नम्बर ७ मा हालका सांसद रामवीर मानन्धरलाई राजीनामा गराएर नेता वामदेव गौतमलाई उम्मेदवार बनाई उप–निर्वाचन गर्ने नेकपाको योजना रहेको चर्चा भइरहेका बेला अध्यक्ष दाहालले पार्टीको सिट गुम्ने गरी चुनाव नहुने स्पष्ट पार्नुभएको हो ।

काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा अध्यक्ष दाहालले उप–निर्वाचनबारे प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग बुधबार विहान छलफल भएपनि पार्टीले निर्णय गर्न भने बाँकी रहेको जानकारी दिनुभयो । पूर्वएमाले पंक्तिले गौतमविरुद्ध अभिव्यक्ति दिइरहेका बेला दाहालले भने गौतमको संभावित उम्मेदवारीको बचाउ गर्नुभएको हो ।

बर्दिया–१ बाट नेपाली कांग्रेसका सञ्जय गौतमसँग पराजित हुनुभएका नेकपाका नेता गौतमका लागि काठमाडौं ७ का सांसद मानन्धरले राजीनामा दिने घोषणा गरिसक्नु भएको छ । मानन्धरको राजीनामापछि उप–निर्वाचनमा गौतमलाई उठाउने गरी नेकपाको सचिवालयमा छलफल भइरहेको छ । जसप्रति गौतमसमेत आशावादी हुनुहुन्छ ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]