Nepa Top
century-bank

बामदेव गौतमका लागि रामवीर मानन्धरको राजीनामा ! भोट जनताको, सेवा पार्टीको ?

राजनीति जानेक, बुझेकाहरुका लागि खासै नौलो नलागे पनि आम सर्वसाधारणलाई नौलो लाग्ने एउटा ट्वीष्ट राजनीतिमा आयो ।
काठमाडौंको क्षेत्र न ७ बाट चुनाव जितेका प्रतिनिधि सभा सदस्य रामवीर मानन्धरले राजीनामाको घोषणा गरेका छन् । यो सँगै उनले नेकपा नेता बामदेव गौतमलाई पार्टी एकताका लागि महत्वपुर्ण भुमीका खेलेकाले संसदमा उहाँ हुनुपर्ने भन्दै राजीनाम दिएका हुन् ।

बामदेव गौतम संसदमा भए देश सहज रुपमा विकास हुन्छ भन्ने तर्क दिदै रामवीर मानन्धरले नेता गौतमका लागि बाटो खोलिदिएका हुन् । ओहो ! माननिय रामवीर मानन्धर जी, क्षेत्र नम्बर ७ का जनताले तपाइलाई १८ हजार १ सय २ मत दिएर विजयी गराए । त्यत्तीका धेरै मतदाताको भावनालाई धुलो पिठो हुने गरि कुल्चेर, पार्टी सचिवालयमा लगेर राजीनामा बुझाउनु भो हगी ?

भोट जनताको, सेवा पार्टीको ? देश र जनताको फिक्री गर्लान भनेका नेताले आफ्नो पद बिक्री गरेका हुन् कि भन्ने शंका र ठोकुवा के गर्ने हो त्यो जिम्मा तपाई दर्शकहरुलाई नै दिन्छु । तर जनताले व्यलेटबाट हराएका व्यक्तिलाई जसरी पनि ल्याउनका लागि लागेको यो न्वारान देखिको बलले वर्तमान व्यवस्थाप्रति वितृष्णा जगाउने डर छ ।

बामदेव गौतम क्षेत्र नम्बर ७ का लागि उमेदवार नै घोषणा भैसकेका त छैनन् तर अड्कल अनुमान भन्दा पनि माथि उठेर राजीनामा दिने सांसदले उहाँकै लागि छोडेको भने पछि नबुझे जस्तो किन गर्नु प¥यो र बचेर र छलेर किन बोल्नु प¥यो र ? यो अभ्यास गैर कानुनी पनि होइन र गैर राजनीतिक पनि होइन । कानुनी र राजनीतिक दुबै हिसाबले यसो गर्न पाइन्छ । तर ८ हजार २३ मतको अन्तरले जितेका सांसदले राजीनामा दिएर आम निर्वाचनमा जनताले बकाइदा हराएका व्यक्तिलाइ्र्र संसदमा लैजान खोज्नु दुखद् अभ्यास हो ।

विरोध बामदेवको होइन । पात्रका रुपमा बामदेव गौतमको योगदान हजार जिब्रे शेष नागले पनि वर्णन गरेर यो जुनीमा नभ्याउला । तर जनताले चाहिदैन भनेर व्यालेट बक्समा भोट नहालेको र बर्दीया १ बाट ७ सय ५३ मतले पराजित त उहाँ भएकै हो नी ।

५ बर्षका लागि जनताले जिताएको व्यक्तिलाई हटाएर पराजित नेताका लागि चुनाव गराउँदा अनावश्यक खर्च पनि त राज्य कोषबाटै जान्छ नी, होइन ? भन्नका लागि त रामवीर मानन्धरले देश विकास गर्न बामदेव गौतम चाहिने भएकाले आँफुले राजीनामा दिएको भनेका छन् तर अपुष्ट समाचार चाही यस्तो छ, कि देशको मायाले ओतप्रोत भएर रामवीरले यस्तो निर्णय लिएका होइनन् ।

उनलाई भविष्यमा पार्टीको केन्द्रीय सदस्य र मन्त्री समेत बनाइदिने आश्वासन प्राप्त भएको छ । हाललाई यो कुरा पुष्टी हुन नसके पनि कुनै दिन रामवीर मानन्धरको पनि आत्मकथा छापिएको किताब आउला र उनले आफ्नो महात्म्य वर्णन गर्दै मुलुकको विकासको लागि आँफुले गरेको यो त्याग कतिको डिल मिलेर गरेका हुन भन्ने लेख्लान ।

देशकै मायाले र मुलुकले विकास एकदम छिटो हुन्छ भनेरै खाई पाई आएको पदबाट राजीनाम दिएका हुन् भने यी महान त्यागी नेतालाई खादा, माला र दोसल्लाले मात्र होइन पुरै सिरक नै ओडाएर सम्मान गरौँ ।

एउटा कुरा स्पष्ट पारौँ कि प्रत्यक्ष रुपमा चुनाव नलडे पनि राष्ट्रिय सभा सदस्य बनाएर बामदेव गौतमलाई उपप्रधान मन्त्री सम्म बनाउन सकिने प्रावधान छ । तर सायद जावो उपप्रधानमन्त्री त के बनाई भो र भन्ने टाइपको बामदेवको यो रणनीतिले संकेत गर्दै छ, कि गौतमले ताकेको कुर्सी प्रधानमन्त्री कै हो, बस्न खोजेको घर बालुवाटार नै हो ।

आपत त अब हामी जनतालाई पो भो त । यत्तिका भ्रष्टाचार, वेथिती अलपत्र र लठबद्र विकास निर्माण तिर भन्दा केपी ओली, प्रचण्ड, माधव नेपाल र बामदेव गौतमको पावर गेम पो इन्ट्रेस्टीङ हुने भो त । देशले अब कोल्टे मात्र फेर्दैन, पुरै उत्तानो टाङ नै लगाउला जस्तो संकेत पो देखियो त ।

ठीकै छ, सिंगै देश र जनताको सपना किन साकार पार्नु प¥यो र ? अहिलेलाई बामदेव गौतम जी कै सपना साकार पार्नुहोला । देशको आजको प्राथमिकता, आवश्यकता नै यहि हो र यत्तिले गर्दा विकासको मुल प्वाट्टै नफुटेको हो भने आउनुहोस, सबै मिली विकासको मुल फुटाआँै ।

काठमाडौ क्षेत्र न ७ का प्रतिनिधि सभा सदस्य माननिय रामवीर मानन्धरको यो त्याग र योगदानलाई इतिहासको पानामा ३३ किलो सुनका अक्षरले लेखाँैँ । यहि मौका छोपेर एउटा सानो कुरा थपौँ है ।

यदि बामदेव गौतमका लागि नेकपाले अत्याधिक मतले विजयी आफ्ना सांसदलाई राजीनामा गराउन सक्छ भने पत्रिका पनि नपढ्ने, रेडियो पनि नसुन्ने, सामाजिक संजाल पनि नहेर्ने टिभी पनि नहेर्ने र काठमाडौँबासीको कुनै पनि समस्या नहेर्ने, नदेख्ने मेयर श्री विद्यासुन्दर शाक्य ज्युलाई पनि राजीनामा गराउन मिल्छ कि ? जिज्ञासा !





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]