Nepa Top
century-bank

‘सत्य सेवा सुरक्षणम्’को मूल मन्त्र बोकेको प्रहरी ‘आपराधिक सेवा सुरक्षणम्’ नबनोस् !

  • नविन राई

काठमाडौं । कुनै पनि आपराधिक क्रियाकलापको अनुसन्धान गरी निष्कर्षमा पुऱ्याउनुपर्ने प्रहरी नै अहिले विवादमा तानिँदै आएको छ । आपराधिक घटना निर्मूल पार्ने जिम्मा पाएको प्रहरी नै यसरी आपराधिक क्रियाकलापमा संलग्न हुनु र अापराधिक घटना लुकाउन उद्यत हुनुले प्रहरी संगठनप्रति जनताकाे विश्वास गुम्न थालेकाे छ । सिङ्गो प्रहरी सङ्गठनमाथि नै प्रश्न उठ्न थालेको छ । लगातार आपराधिक घटना भइरहनु र आपराधिक घटनामा प्रहरी नै संलग्न हुनु, यसले  गर्दा जनताले असुरक्षा महसुस गर्नुका साथै आतङ्कित र आक्रोशित हुनु प्रहरी संगठनकै लागि पनि विडम्बनापूर्ण बन्ने छ ।

३३ किलो सुन तस्करी तथा सनम हत्या काण्ड र निर्मला पन्त हत्या काण्डमा मुछिएपछि झनै प्रहरीमाथि प्रश्नचिन्ह खडा हुँदै आएको छ । ३३ किलो सुन तस्करी प्रकरणमा अाफै संलग्न रहेका प्रहरी अधिकृतहरू भटाभट छुट्न थालेका छन् । एक बेला सर्वत्र चर्चामा आएको सुन तस्करी प्रकरण बिस्तारै सेलाउँदै आउन थालेपछि प्रहरी अधिकृतहरू छुट्न थालेका हुन् । यता कञ्चनपुरमा १३ वर्षकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको साढे दुई महिना पुगिसक्दा पनि अपराधी पत्ता लाग्न सकेको छैन । घटनाकाे वास्तविकता बाहिर ल्याउन असफल भएकाे प्रहरीसँग न्यायकाे अाश त कहाँ हाे कहाँ उल्टै घटनामा प्रमाण नस्ट गर्न र अपराधी लुकाउन लागिपरेकाे अाराेप लागेकाे छ । कञ्चनपुर घटनालाई आधार मानेर हेर्दा नेपाल प्रहरीबाट धेरै लापरबाही भएको छ  र यसले जनतामा अविश्वास झनै बढाएकाे छ ।

प्रहरीले नै घुस खाएपछि अनि प्रहरी नै अापराधिक घटनामा संलग्न देखिन थालेपछि प्रहरीले गरेका कैयाैँ राम्रा काम पनि ओझेलमा परेका छन् । ३३ किलो सुन तस्करी प्रकरण तथा निर्मला पन्तको बलात्कारपछि हत्या र त्यसपछि विकसित घटनाक्रमले प्रहरी नेतृत्वमाथि प्रश्नचिह्न खडा गरेको छ । अब यो प्रश्नचिह्न मेट्न र जनतामा स्वच्छ छवि बनाउनका लागि बहालवाला प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ठूलै कसरत गर्नुपर्नेछ । 

आपराधिक घटनामा संलग्न भएका प्रहरीलाई किन निलम्बन मात्रै गरेर पुग्छ त ? प्रहरी संगठनलाई राम्रो र अब्बल बनाउनका लागि उनीहरूलाई पदबाटै बर्खास्त गरी कारबाही गर्नुपर्ने देखिन्छ । प्रहरीले नै घुस खान थालेपछि, आपराधिक घटनामा संलग्न हुन थालेपछि कसले आपराधिक घटना निर्मूल गर्ने ? प्रहरीले कतै आफ्नो पदको र बर्दीको बदनाम गरी फाइदा त उठाइरहेको छैन ?

शनिबार मात्रै महानगरीय प्रहरी वृत्त, बौद्धका प्रमुख प्रहरी डिएसपी श्यामकुमार राई घुस लिँदालिँदै रंगेहात पक्राउ परे ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुस लिएको  आरोपमा उनलाई पक्राउ गरेको हो । यस घटनाले पनि प्रहरी बदनाम भएकाे छ । शनिबारै बिहान मूलपानीस्थित एक जुवा अखडामा प्रहरीले छापा मार्दा दुर्इजनाकाे ज्यान गएकाे छ, यसमा पनि प्रहरीद्वारा पर्याप्त सुरक्षा रणनीति नअपनार्इ अप्रेसन थालेकाेले विवादित बनेकाे छ ।

‘प्रहरी मेरो साथी’ नारा अ‌ंकित पाेस्टर र ब्यानर जताततै देखेका छौँ । अनि बेला बेलामा प्रहरीले निर्दोष सर्वसाधरणमाथि पनि अनाहक अाक्रमण गर्ने गरेकाे पनि देखेका छौँ । प्रहरीले सर्वसाधारणलाई विनाकारण कुटपिट गरेको भिडियोहरू पनि सामाजिक सञ्जालमा बेला बेलामा भाइरल हुने गरेको छ । हामीले के बुझ्ने ‘प्रहरी मेरो साथी’ हाे कि ‘सर्वसाधरणमाथि लात्ती’ ? नारामा मात्रै प्रहरी मेरो साथी हुने कि जनताकै साँच्चिकै साथी बन्ने हो ?

‘सत्य सेवा सुरक्षणम’को मूल मन्त्र बोकेको प्रहरी ‘आपराधिक सेवा सुरक्षणम’ नबनोस् । ३३ किलो सुन तस्करी प्रकरण, निर्मला पन्त हत्या प्रकरण लगायतका धेरै घटनाले गर्दा प्रहरीमा यस्तो अविश्वास बढेको पाइन्छ। ‘अपराधीलाई समाउन नसके’को आरोप लगाएर जनाताले प्रहरीको सर्वत्र आलोचना गरिरहेका छन् ।

कुनै समय एसियामा अनुसन्धान गर्न अब्बल मानिने नेपाल प्रहरी यतिखेर किन कमजोर देखिँदै छ ? प्रहरीले जस्तोसुकै आपराधिक कर्म या गैरकानुनी क्रियाकलाप गर्ने जो–कोहीलाई कानुनको दायरामा ल्याउनुपर्छ  । तर प्रहरी सङ्गठनकै आपराधिक घटनमा संलग्न हुन थालेपछि कानुनको दायरामा ल्याउनुभन्दा पनि जोगाउनतिर किन लागेकाे छ प्रहरी ? के याे राजनीतिक हस्तक्षेपका कारण हाे ? यदि प्रहरी सङ्गठनलाई राम्रो बनाउने हो भने आपराधिक कार्यमा लागेका सबै प्रहरीहरूलाई प्रहरी सङ्गठनभित्रबाटै नै निकाल्नु पर्ने हुन्छ र यस्ता सुरक्षा निकायमाथि हुने राजनैतिक हस्तक्षेप र दबाब बन्द गरिनुपर्छ ।

प्रहरीलाई पनि स्वतन्त्र रूपमा काम गर्न नदिनेहरू होलान् तर सर्वसाधारण जनता भने आतङ्कको कालो बादलमा हडबडाउँदै शान्ति-सुरक्षाको खोजीमा हार–गुहार गरिरहेका छन् । कुनै पनि आपराधिक घटनापछि नागरिकले रिपोर्ट गर्ने भनेकै प्रहरीमा हो । र प्रहरीले नै हाे नागरिककाे जिउ-धनकाे सुरक्षा गर्ने ।

प्रहरीलाई मात्र दोष दिएर समाजका  यावत गलत तत्वलार्इ छुट दिन पनि मिल्दैन । हामी पनि विनाबर्दीका प्रहरी हौँ भन्ने कुरालाई बिर्सनु हुँदैन । आपत-विपद पर्दा त्यही प्रहरी हाे चाहिने, सडकमा तिनैमाथि ढुङ्गा मुढा प्रहार गर्ने अनौठो अभ्यास हामीकहाँ हुने गरेको छ । सभ्य मुलुकमा हामीकहाँ जसरी छिसिक्क केही भयो कि सुरक्षा दिन बसेका प्रहरीमाथि नागरिकले ढुङ्गा प्रहार गर्दैनन्, त्यसो गर्नु अलाेकतान्त्रिक मात्रै हाेइन असभ्यताकाे सूचक पनि हाे ।

 







 

Nepal Braodcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]