Nepa Top
century-bank

लालपुर्जाविहीन गुर्जा गाउँको दर्दनाक कथा (भिडियोसहित)

सिङ्गो गाउँ नै लालपूर्जाबिहीन

४ असोज । दृश्यमा सुन्दर देखिए पनि यो गाउँमा थुप्रैथुप्रै दुख लुकेको छ । अभाव र पीडाभित्र छट्पटाइरहेका छन्, यहाँका नागरिक ।

यो गाउँसम्म पुग्न पनि निकै कठिन छ । यातायातको पहुँच छैन । अक्करे भीर र घना जंगलले घेरिएको यो गाउँ, म्याग्दी जिल्लाकै सबैभन्दा विकट बस्ती हो । म्याग्दीमा एउटा आहान नै प्रचलित छ कि, ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन ।’

यो बस्तीका नागरिकको थुप्रै दुखमध्येको एउटा हो, यहाँका कसैको नाममा पनि घरजग्गाको लालपूर्जा छैन । यसो भनौं, यो लालपूर्जाविहीन गाउँ हो ।

धवलागिरी गाउँपालिका वडा नम्बर एकमा पर्छ, गुर्जा गाउँ । यहाँ २३० घरधुरी छन् । तर, कसैको पनि लालपूर्जा छैन । यो गाउँको सबैभन्दा ठूलो समस्या भनेकै गाउँले कसैको नाममा लालपूर्जा नहुनु हो । आफूले भोगचलन गर्दै आएको र घर भएको जग्गाको धनीपूर्जा नहुँदा यहाँ नागरिक निकै सास्तीको सामना गर्नुपरेको छ । घरजग्गाको लालपुर्जा नहुँदा यो गाउँका नागरिक सामाजिक सुरक्षा भत्ता लिनबाट समेत बञ्चित छन् ।

यतिमात्रै होइन, जग्गाको लालपुर्जा नहुँदा स्थानीयहरुबीच पटकपटक जग्गाको विषयलाई लिएर विवाद हुन्छ । तर आधिकारिक नक्सांकन नभएकाले विवाद सुल्झाउन कठिन हुने गरेको छ । जग्गा विवादकै कारण गाउँमा धेरैको आपसमा बोलचाल छैन । जग्गाको आधिकारिक पुर्जा नहुँदा छिमेकी जिल्ला रुकुम र बाग्लुङसँगको सीमाना विवाद पनि बल्झिरहन्छ ।

वर्षौदेखि जग्गाको भोगचलन गर्दै आउँदा पनि उनीहरुलाई उक्त जग्गा आफ्नो भन्ने भान हुन सकेको छैन । जग्गा आफ्नो नाममा नहुँदा उनीहरुले अप्ठेरो पर्दा बैंक तथा सरकारीमा धीतो राखेर गर्जो टार्न समेत पाएका छन् । जग्गा बिक्रीवितरण गर्न पाएका छैनन् ।

गुर्जाबासीले आफ्ना पितापुर्खाले मौखिक रुपमा भाग लगाइदिएको जग्गामा नै बसोबास गरिरहेका छन् । जग्गाको आधिकारिक कागजपत्र नहुँदा बेलाबेला भिन्नभिन्न प्रकृतिको समस्या आइरहन्छ । समस्या समाधान गर्न कठिन हुन्छ । वर्षौदेखि जग्गा भोगचलन गर्दै आए पनि राज्यले आफूहरुलाई सुकुम्बासी झैं ब्यबहार गरेको भन्दै यहाँका स्थानीय आक्रोशित भएका छ् ।

जग्गाको लालपुर्जा नभएकै कारण आफूहरु झन् पछाडि परेको गुनासो गर्छन्, गाउँका महिलाहरु । स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनका बेला भोट माग्न आएका सबै नेताहरु गुर्जाबासीको समस्या समाधान गर्ने प्रतिवद्धता जनाएका थिए । तर, समस्या जहाँको त्यहीं छ ।

करिब १२ सय जनसङ्ख्या रहेको गुर्जा गाउँ, धवलागिरी गाउँपालिकाको एउटा वडा हो । उक्त वडाका वडाध्यक्ष झकबहादुर छन्त्यालले भोगचलन गर्दै आएको जग्गाको पनि लालपुर्जा छैन । स्थानीयको समस्या समाधान गर्न पहल गर्नुपर्ने वडाध्यक्ष आफैं पीडामा छन् । छन्त्यालको बुबाको मृत्यु भएको १० वर्ष वित्यो । तर, लालपुर्जा नभएका कारण बुबाको नामको जग्गा उनले आफ्नो नाममा नामसारी गर्न पाएका छैनन् । उनले आफ्नो तर्फबाट गाउँलेलाई लालपुर्जा वितरण गर्न सक्दो पहल गरे पनि नसकेको बताए ।

आफूले भोगचलन गर्दै आएको जग्गाको लालपूर्जाका लागि यहाँका नागरिकले धेरै प्रयास गरे । सदरमुकामबाट दुई दिन पैदल हिँडेर पुग्नपर्ने यो गाउँका नागरिकले धेरै पटक सरोकारवालाई झक्झक्याए । तर, अझैसम्म उनीहरुको माग पूरा भएको छैन । आफ्नो नाममा भएको जग्गामा घर बनाएर बस्ने र खेतीपाती गर्ने उनीहरुको चाहना अझै अधुरै छ ।

सिडिओको भनाई

म्याग्दीको पर्यटकीय नगरी गुर्जागाउँ थुप्रै समस्याले ग्रस्त छ । जिल्लाकै सबैभन्दा धेरै उचाईमा रहेको यो गाउँको सबैभन्दा ठूलो समस्या हो, गाउँले कसैको पनि जग्गाधनी पुर्जा नहुनु । जग्गाको धनीपुर्जा नहुँदा यहाँका नागरिकले थुप्रै समस्या झेलिरहेका छन् । जग्गाको लालपुर्जाका लागि गुर्जाबासीले धेरै प्रयत्न गरे । तर, सफल भएका छैनन् । आवादी गरेको जग्गा नापी कार्यालयले बस्तीयोग्य रुपमा दर्ता गरे पनि व्यक्तिको नाममा लालपुर्जा नदिँदा भूमिहीन नागरिक बनेर बसिरहेका छन्, उनीहरु ।

सरकारले दुर्गम भएकै कारण यहाँका नागरिकको पीडालाई सम्बोधन नगरेको गुर्जाबासीको बुझाई छ । पहिला पहिला खेतीपाती र जंगलमा आश्रित भएकाले उनीहरूलाई कागजी प्रक्रिया आवश्यक परेन । व्यवहारमा जग्गाको किनबेच र अंशबन्डा भए पनि कसैले जालसाँजी नगर्ने हुँदा समस्या देखिएन ।

तर अहिले जमाना फेरियो, कानुनी र कागजी समस्या देखिन थाल्यो । जिल्ला मालपोत कार्यालयका अनुसार व्यवहारमा परम्परादेखि गुर्जावासीले जग्गा जमिनको भोगचलन गर्दै आए पनि कानुनी रूपमा लालपुर्जा नहुँदा पछिल्लो समयमा पनि समस्या समाधान गर्न कठिन भएको हो । गुर्जाबासीले लालपुर्जाबिहीन भएको गुनासो बढेपछि केहीदिन अघि म्याग्दीका प्रमुख जिल्ला अधिकार गुर्जा पुगेका थिए । गुर्जाबासीको पीडा सुनेपछि उनले आगामी कात्तिकसम्ममा उनीहरुलाई लालपुर्जा उपलब्ध गराउने आश्वासन दिए ।

पुस्तौंदेखिको जग्गाको नामसारी र अंशबन्डाको समस्याबाट गुर्जाबासी आजित भइसके । यतिसम्म कि, गुर्जा गाउँमा बस्ती बाहेकको भू–भागमा वडा विभाजन समेत गरिएको छैन । नापी कार्यालयको तथ्यांकअनुसार भौगोलिक रूपमा जिल्लाको दोस्रो ठूलो गाविस थियो, गुर्जा । अहिले गुर्जा गाविसलाई धवलागिरी गाउँपालिकाको एउटा वडा बनाइएको छ । २ सय ८५ क्षेत्रफलमा फैलिएको गुर्जामा जम्मा २१ रोपनी क्षेत्रफलमा मात्रै बस्ती बसेको छ ।

गुर्जा गाउँको बेग्लै विशेषता छ । छन्त्यालहरुको बाहुल्य रहेको गुर्जा पर्यटकीय हिसाबमा निकै महत्वपूर्ण गन्तव्य हो । छन्त्याल समुदायको जीवन, सभ्यता र संस्कृति हेर्ने आँखीझ्यालका रुपमा चित्रित छ, यो गाउँ । समुद्र सतहबाट ३२ सय २० मिटर उचाइमा अवस्थित गुर्जा गाउँ छन्त्याल जातिको सबैभन्दा ठूलो बस्ती पनि हो । गुजुमुज्ज परेका परम्परागत शैलीका घर, मौलिक संस्कृति अनि सोझा, सरल र मिजासिला छन्त्यालहरूको बस्ती ।

साँच्चै, दृश्यमा जति सुन्दर भए पनि यहाँ पीडाको पहाड नै खडा छ भन्दा फरक पर्दैन । मूलतः आफूले वर्षौदेखि भोगचलन गर्दै आएको जग्गाको लालपुर्जा पाउने सपना छ, गुर्जाबासीको । राजधानीमा समृद्धिको ठूलाठूला भाषणबाजी भइरहँदा गुर्जाबासीले भोग्नुपरेको पीडा दर्दनाक छ । गुर्जाबासीलाई जग्गाधनी पुर्जा दिएर यहाँ भौतिक पूर्वाधार विकास गर्न सके गुर्जाको समृद्धि टाढा छैन ।







 

Nepal Braodcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]