Nepa Top
century-bank

खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)को गिरफ्तारी : सत्तारुढ र सरकार विरोधी नेकपा आमने–सामने (भिडियो)

प्रकाण्ड प्रकरण

जबरजस्ती चन्दा उठाएको आरोपमा मंगलबार साँझ नेत्रविक्रम चन्द ‘विप्लब’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्तन खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ पक्राउ परे । प्रकाण्डलाई प्रहरीले काठमाडौंको चाल्नाखेलबाट नियन्त्रणमा लिएको हो । हेटौंडाको एक कार्यक्रममा सहभागी भएर काठमाडौं फर्कदैँ गर्दा प्रवक्ता प्रकाण्डसहित नेकपाका कार्यकर्ताद्वयः मनबहादुर श्रेष्ठ र हरिचन्द्र आचार्य पनि पक्राउ परेका छन् ।

पूर्वमन्त्री समेत रहेका विश्वकर्मालाई पक्राउ गरी काठमाडौं प्रहरी परिसरले काठमाडौं जिल्ला अदालतमा मुद्दा चलायो । र, अदालतले पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको छ । अदालतले थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएपछि सञ्चारकर्मीहरुसित संक्षिप्त प्रतिक्रिया दिँदै प्रकाण्डले भने, ‘देशमा प्रतिक्रान्तिको खतरा बढेको छ । जेल, नेल त के हो र ? देश र जनताका लागि बलिदानी दिन पनि तयार छु ।’

सात करोड रुपैयाँ चन्दा असुली गरेको आरोपमा पक्राउ परेका विश्वकर्मा यसअघि दुई पटक मन्त्री भइसकेका छन् । पछिल्लो समय विम्लब नेतृत्व माओवादीको दोस्रो बरीयतामा रहेका विश्वकर्माको पक्राउले अहिले राजनीतिमा नयाँ तरङ्ग ल्याएको छ । नेपाल कम्युनिष्ट पार्टीले नै सरकारको नेतृत्व गरिरहेका बेला अर्को नेपाल कम्युनिष्ट पार्टीका नेता पक्राउ पर्नुलाई फरक–फरक कोणबाट विश्लेषण गरिएको छ ।

हिजो सँगै युद्ध लडेका नेताहरुकै नेतृत्वमा प्रकाण्ड पक्राउ पर्नु संयोग मात्रै हुनै सक्दैन । सरकारले अपराधिक हिसाबमा प्रकाण्डलाई पक्राउ गरे पनि यसले राजनीतिक रुप लिएको छ ।

प्रकाण्ड पक्राउ परेसँगै विम्लब नेतृत्वको नेकपाले नेपाल बन्दसहितको चरणवद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । राजनीतिक मुद्दामा बिनाकारण आफ्नो प्रवक्तालाई पक्राउ गरेको भन्दै नेकपाले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

सरकारको नेतृत्व गरेका प्रधानमन्त्री केपी ओली र तत्कालिन माओवादी युद्धको नेतृत्व गरेका प्रचण्ड अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच अहिले एक हिसाबको टकराब उत्पन्न भएको छ । कम्युनिष्ट पार्टीले नै सरकारको नेतृत्व गरेका बेला अर्को कम्युनिष्ट पार्टीका नेता पक्राउ पर्नुले राजनीतिक बहस बढाएको छ । अझ तत्कालिन समयमा सँगै सशस्त्र युद्ध लडेका अध्यक्ष प्रचण्डको नेतृत्वमा रहेको सरकार र पूर्वसहयोद्धा रामबहादुर थापा गृहमन्त्री भएका बेला नेकपा प्रवक्ता प्रकाण्ड पक्राउ पर्नुले राजनीतिक वृत्तमा फरक बहस उत्पन्न गराएको छ । यद्यपि, प्रकाण्ड पक्राउ पर्दा गृहमन्त्री थापा विदेशमा थिए ।

प्रकाण्ड पक्राउ पर्ने समय गृहमन्त्री थापा इन्डोनेसियाको बालीमा आयोजना भएको ‘मानव तस्करी, बेचविखन र अन्तरदेशीय अपराधसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन गएका थिए । उनी बुधबार स्वदेश फर्किए । र, शुक्रबार चितवनको एक कार्यक्रमा गएर उनले अपराधिक गतिविधिमा संलग्न भएकाले प्रकाण्डलाई पक्राउ गरिएको प्रष्टिकरण दिए ।

एकै मुद्दामा हिजो सँगै युद्ध लडेको एक समूह सरकारको नेतृत्वमा हुनु र अर्को समूहले भूमिगत तरिकाले आन्दोलन गर्नु नेपाली कम्युनिष्ट राजनीतिक इतिहासमा अध्ययनको विषय हो । वर्तमान सरकार विप्लब नेतृत्वको नेकपाप्रति कडा ढंगमा प्रस्तुत हुने संकेत देखिइरहँदा विद्रोही नेकपा पनि खास रणनीतिका साथ आन्दोलनको तयारी गरिरहेको छ । यसले मुलुक फेरि कतै मुठभेड वा गृहयुद्धको दिशातिर मोडिने त होइन ? भन्नेमा आमचिन्ता बढेको छ ।

 समर्थन र विरोधमा नेताहरु कित्ताकाट

नेकपा प्रवक्ता प्रकाण्ड पक्राउ परेसँगै विभिन्न राजनीतिक दलका नेताहरु समर्थन र विरोधमा कित्ताकाट भएका छन् । प्रकाण्ड पक्राउ पर्नुलाई मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीलाई विडम्बनापूर्ण, निन्दनीय र दुःखद विषय भनेको छ । त्यस्तै केही सत्ताघटक दलका नेताहरुले समेत प्रकाण्ड पक्राउलाई ‘अनावश्यक’ भनेका छन् ।

विप्लबका कार्यकर्ता पक्राउ श्रृङ्खला

  • – केही समयअघि नेकपाका चार जना पोलिट्ब्युरो सदस्यः मोहन कार्की, कृष्ण धमला, ओमप्रकाश पुन र पदम राईलाई पनि प्रहरीले पक्राउ गरेको थियो ।
  • – स्थानीय तहको निर्वाचनका बेला नेकपाका बैतडी जिल्ला इन्चार्ज वासुदेव जोशी घरैबाट पक्राउ परे । बुबाको किरियामा बसेका जोशीलाई प्रहरीले निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा पक्राउ गरेको थियो ।
  • – प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा १२ सय बढी कार्यकता परेका थिए ।
  • – गत ६ फागुनमा नेकपाले मोरङको विराटनगरमा आयोजना गरेको युवाहरूको राष्ट्रिय सम्मेलनमा जाँदैगर्दा स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली सुदर्शन, पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री पदम राईसहित करिब तीन सय जना नेता कार्यकर्ता पक्राउ परे ।
  • – प्रहरीले नेकपाका महासचिव विप्लवका दाजु चन्द्रबहादुर चन्दको कपिलवस्तुस्थित शिवराज नगरपालिका–९ मा रहेको घरमै पक्राउ पुर्जी टाँसेको थियो ।
  • – १६ असारमा पूर्वमन्त्री पदम राई, पोलिटब्युरो सदस्य भरत बम, स्थायी समिति सदस्य ओमप्रकाश पुन, केन्द्रीय सदस्य रणसिंह पुनमगर, काठमाडौँ सेक्रेटरी धिरेन्द्रा उपाध्याय, एकाराज राई, केदार राई र सिद्धान्त राईसहित ४० जना पक्राउ परे ।

यसरी विप्लब नेतृत्वको नेकपाका कार्यकर्ता पटक–पटक पक्राउ पर्दै छुट्दै आएका छन् । अहिले पार्टीको दोस्रो बरीयताका नेता नै पक्राउ पर्नुले चाहिँ राजनीतिकवृत्त तातेको छ । अहिले सरकारको नेतृत्व गरिरेको तत्कालिन माओवादीले पनि यसै प्रकृतिको आन्दोलनबाट युद्धको सुरुवात गरेको थियो ।

समीक्षा-

नेता नेत्रविक्रम चन्द विप्लबले तत्कालिन माओवादी छाडेर नयाँ पार्टीः नेपाल कम्युनिष्ट पार्टी गठन गरे । अहिलेकै राजनीतिक व्यवस्थाबाट समाजवाद स्थापित नहुने निष्कर्षसहित जनसत्ताका लागि भन्दै विद्रोही विप्लबले पार्टी स्थापना गरेदेखि नै विभिन्न आन्दोलनको कार्यक्रम गरिरहेको छ । घोषित रुपमा सशस्त्र युद्धको सुरुवात नभए पनि नेकपाले सशस्त्र गतिविधि समेत गरिरहेको आरोप छ ।

विप्लबको बाटो

तत्कालिन नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वका बेलादेखि नै विप्लब विद्रोही स्वभावका नेताका रुपमा चिनिन्थे । तत्कालिन माओवादी शान्ति प्रक्रियामा आएपछि केही समय मौनप्रायः बसेको विप्लबलगायतको एक समूहले माओवादीमा विद्रोह गर्यो । २०६९ साल असार ५ गते मोहन वैद्यको नेतृत्वमा माओवादी फुट्यो, जहाँ विप्लव पनि थिए ।

२०७१ साल मङ्सिर ७ गतेसम्म वैद्य नेतृत्वकै पार्टीमा रहेका विप्लबले पार्टी यथास्थितिमा रमाएको आरोप लगाउँदै उक्त पार्टीबाट पनि बाहिरिए । त्यसपछि उनले आफ्नै नेतृत्वमा नेकपा माओवादी गठन गरे । पछि माओवादी हटाएर पार्टीको नाम नेकपा मात्रै रह्यो । पार्टीको कार्यदिशा ‘एकीकृत क्रान्ति’ भनियो । र, त्यहीं कार्यदिशाका आधारमा अहिले विप्लब नेतृत्वको माओवादीले अर्धभूमिगत हिसाबमा विभिन्न गतिविधि चलाईरहेको छ ।

शंकास्पद गतिविधि

विद्रोही नेकपाको हरेका गतिविधि सरकार र संविधानविरुद्धको छ । उसले राजनीतिक क्रान्तिका नाममा चलाएका गतिविधिहरु राज्यको नीतिविपरीत छ । प्रदेश र प्रतिनिधिसभा निर्वाचन बहिष्कार मात्रै होइन, भाँड्ने घोषित नीतिका साथ चलाएका केही अघोषित सशस्त्र प्रयासबारे प्रष्ट नै छ ।

त्यस्तै जनअदालतका नाममा गरिएका गतिविधि हुन् या कुनै कर्पोरेट हाउसमाथिको आक्रमण ! नेकपाले राष्ट्रिय नीतिविपरीतका गतिविधि गरिररहेको छ । विद्रोही नेकपाको गतिविधिलाई सरकारले अपराधिक घटनाका रुपमा चित्रण गरिरहेको छ भने उनीहरुले क्रान्तिको शैलीका रुपमा लिएका छन् । २०५१ सालमा तत्कालिन माओवादीले घोषित रुपमा जनयुद्ध सुरु गर्दाताका गतिविधिहरु अहिले नेकपाबाट भइरहेको छ ।

त्यसैले, नेकपामा गतिविधिलाई कम आँक्न नहुने तर्क गर्नेहरु पनि छन् । दमन भन्दा पनि वार्तामार्फत समस्याको समाधान गर्नुपर्ने आवाज पनि उठिरहेको छ । तर, नेकपा पनि तत्काल वार्तामार्फत सहमतिमा पुग्ने मनस्थितिमा छैन । ‘सरकारले दमन गरिदिए संगठन र आन्दोलन झाँगिने थियो’ जसरी नेकपाले गतिविधिहरु सञ्चालन गरिरहेको छ । यसले तत्काल यो समस्या समाधान हुने छाँट देखिदैन ।

क्रान्ति केका लागि ?

२००७ सालदेखि राजनीतिक परिवर्तनका लागि जनस्तरबाट थुप्रै पटक आन्दोलन, संघर्ष र क्रान्तिहरु भए । आन्दोलनकै बलामा जहानीयाँ राणा शासन ढल्यो, प्रजातन्त्र आयो । पछि, बहुदलहुँदै सामन्ती भनिएको राजतन्त्र पनि ढलेर गणतन्त्र आयो । संविधानसभाबाट संविधान बनेको छ । मुलुक संघीयतामा गएको छ । कुनै सामन्ती, शोषक वर्ग छैन । जनप्रतिनिधिहरुले नै देश चलाइरहेका छन् भने अब क्रान्ति को विरुद्ध, केका लागि ? भन्ने प्रश्न उठेको छ ।

राजनीतिक व्यवस्था परिवर्तनकै लागि तीन पुस्ताले पटकपटक व्यवस्थाविरुद्ध लडेर मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित भएको छ । अब यसलाई संस्थागत गर्दै मुलुकलाई समृद्धिको दिशातिर लैजानु अहिलेको आवश्यकता हो । व्यवस्थासँगै नागरिकको अवस्था परिवर्तन गर्नेतर्फ राजनीतिक नेतृत्वको ध्यान जानु आवश्यक छ । न कि, अब कुनै पनि क्रान्ति वा आन्दोलनका नाममा मुलुकलाई पछाडि धकेल्नु वाञ्छनीय छैन ।

 







 

Nepal Braodcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]