Nepa Top
century-bank

इतिहास मेटाउन लागिएको भन्दै कुसुमगाछीबासी आन्दोलित

  • अमर काफ्ले,

इनरुवा । जिउँदो इतिहास मेटाउन खोजिएको भन्दै सुनसरीको इनरुवा नगरपालिका साविक ७ नम्वर वडावासी आन्दोलित बनेका छन् । हालको इनरुवा २ नम्वर वडामा पर्ने कुसुमगाछीका बासिन्दा टोलको पहिचान मेट्ने प्रयत्न भएको प्रति रुष्ट बनेका हुन् ।

तत्कालिन अवस्थामा १९८८ ताका झोडा फडानी गरी इनरुवामा मानव बस्तीको विकास भएको थियो । जंगल फडानीको समयमा सो क्षेत्रमा सखुवा र कुसुम लगायत प्रजातिका प्रशस्त बोट विरुवा रहेकोमा अन्य बोटबिरुवा मासिएपनि कुसुमको बोट भने जोगाइएको थियो ।

तत्कालिन अवस्था कार्की टोल भनिने गरिएपनि पछि भने कुुसुम गाछीको नामबाट टोलको नामाकरण गरिएको स्थानीय बुढापाकाहरु बताउँछन् । करिब ९० वर्ष बढी पुरानो रुखलाई यतिवेला सडक बिस्तारका नाममा कटान गर्न लागिएको भन्दै स्थानीयले विरोध जनाएका हुन् ।

निर्माण कम्पनीले रुख काट्न गरेको पटक पटकको प्रयासलाई विफल तुल्याउँदै आएका स्थानीयहरु यस पटक भने रुख काट्न बढी जोड गर्ने काम भएको भन्दै सांगठनिक रुपमा एकभई आन्दोलित बन्न पुगेका छन् ।

रुख काट्न नदिने र कसैगरी रुख काटी छाड्ने पक्ष र विपक्षबिचको विवाद समेत चर्कन थालेपछि कुसुमगाछीको मुद्धा चर्कन पुगेको छ । स्थानीय सागर दाहाल कुनैपनि हालतमा जिउँदो इतिहास मेट्न नदिने बताउँछन् । सडक विस्तार गरिनु सबैको हितमा भएपनि ज्वलन्त इतिहासका रुपमा रहेको सम्पदालाई जोगाउनु समेत टोलवासीको दायित्व रहेको दाहालको भनाई छ ।

सडकको बिचभागमा पर्ने कुसुमको रुखलाई जोगाएर निर्माण कार्य गर्दा सबै टोलबासीको भावना र ऐतिहासिक सम्पदाको समेत जगेर्ना हुने स्थानीयहरुको भनाई छ । मगर टोलका सुजित राना मगरले प्राकृतिक सम्पदाका रुपमा रहेको कुसुम गाछीलाई कुनैपनि हालतमा सो क्षेत्रबाट काट्न नदिन भन्दै जबरजस्ती गर्न खोजिए प्रतिकारमा उत्रने बताउँछन् ।

भएका सम्पदा मास्नु भन्दा संरक्षण गरिनु उपयुक्त हुने ठहर गरी आन्दोलित बनेका स्थानीयहरुले बुढापाकाहरुको साथमा संघर्ष समिति गठन गर्ने तयारी समेतको प्रकृया अघि बढाएका छन् । इनरुवा बबिया सडक विस्तारको तत्कालिन समयमा इनरुवा ३ सखुवागाछीमा रहेको सखुवाको रुख ढालिएको थियो ।

अहिले सो स्थानमा फाइबरको सखुवाको आकृति भएको स्तम्भ राखिएको छ । जिउँदो पहिचान गुमाएर आकृति खडा गर्नु भन्दा भएको सम्पदा र इतिहासको उचित संरक्षण गर्नु उपयुक्त हुने कुसुमगाछीबासीमा माग रहेको छ ।

tensberg

 

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]