Nepa Top
century-bank

नामाकरणकाे सकस : प्रदेश १ किराँत प्रदेश कि सगरमाथा प्रदेश ? दुर्इथरी बुझाइमा समस्या

  • नबिन राई

काठमाडौं । प्रदेशकाे नाम राख्ने र राजधानी ताेक्ने कार्य प्रदेशहरुकै लागि सकसपूर्ण भएकाे छ । नेपालको संविधान  घोषणा हुँदा नामांकनमा सहमति नभएपछि प्रदेशलाई संकेतस्वरुप १–७ सम्म अंक दिएर नामकरण गरिएको थियो । संविधानमा पनि त्यही लेखियो । आपसी सहमतिका आधारमा वा दुई तिहाइ मतसाथ प्रदेशसभाले नै प्रदेशको राजधानी तोक्ने र नामकरण गर्ने व्यवस्था गर्दै संविधान जारी गरिएकाे थियाे ।

तर अहिले नौ महिना बितिसक्दा पनि दुईवाटा प्रदेशको मात्र नामकरण टुगों लागेको छ । कुनै प्रदेशले प्रक्रिया अघि बढाएको भन्ने सुनिन्छ, तर केहीले त नामकरणको विषयमा प्रवेश गर्नै सकेका छैन । अहिलेसम्म प्रदेश ४ ले गण्डकी र प्रदेश ७ ले कर्णाली प्रदेश नामकरण गर्न सकेका छन् । बाँकी ५ प्रदेशले न्वारान गर्न सकेका छैनन् ।

यसै क्रममा अहिले प्रदेश नम्बर १ को नाम के राख्ने भन्ने विषयमा चर्चा र बहस सुरु भएको छ । कसैले सगरमाथा, कसैले किराँत, कसैले कोशी, कसैले लिम्बुवान राख्न मागेका छन् भने कसैले चोमोलुङमा नामकरण गर्नुपर्ने समेत माग गरेका छन् ।

यो विषयमा तर्क वितर्क, विचार गोष्ठी कार्यक्रमहरू पनि भइरहेको छ । सबै पार्टीका नेता-कार्यकताले आ-आफ्नो विचार, मत दिइरहेका छन् । अरूभन्दा अलि धेरै चर्चाको विषय बनेको चाहिँ किराँत र सगरमाथा हो ।  बुधबार विराटनगरमा आयोजना गरेको संवाद कार्यक्रममा प्रदेशको नाम के राख्दा उपयुक्त होला भन्ने विषयमा संवाद कार्यक्रम गरेको थियो ।

छलफलमा मुख्य राजनीतिक दलका प्रमुख नेता, प्रदेश सभाका संसद् र विषय विज्ञ लगायतको सहभागिता रहेको थियो । सहभागी कसैले कोशी नाम उपयुक्त हुने बताए । केहीले सगरमाथा उपयुक्त नाम हुने भन्दै प्रदेशको नाम सगरमाथा राख्नुपर्ने धारणा राखे । प्रदेशसभा सदस्य कुशल लिम्बु र नेकपाका नेता गणेश उप्रेतीले किराँत–कोसी प्रदेश राख्नुपर्ने धारणा राखे । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका प्रदेश सांसद विष्णुमाया तुम्वाहाम्फेले प्रदेशको नाम लिम्बूवान नै राख्नुपर्नेमा जोड दिइन् ।

त्यस्तै किराँत राई यायोक्खाको ३१ औँ स्थापना दिवसको अवसरमा मंगलबार ललितपुरमा आयोजित विचार गोष्ठी कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले किराँत राख्नुपर्ने बताए । किराँत शब्द इतिहास, सभ्यता, संस्कृति र जीवन प्रणालीसँग जोडिएको उल्लेख गर्दै प्रदेश नम्बर एकको नाम ‘किराँत प्रदेश’ राख्नुपर्ने उनको धारण थियो  ।

उनले किराँतलाई बाइसे-चौबिसे राज्यहरूको अन्त्य गरेर केन्द्रीकृत राज्य बनाउने अभियन्ता पृथ्वीनारायण शाहले समेत माइनस गर्न नसकेको बताएका थिए । पृथ्वीनारायण शाहले पनि वल्लो किराँत, माझ किराँत र पल्लो किराँत गरेर नामकरण गरेको बताउँदै कम्युनिष्टहरु पनि त्यो इतिहास र सभ्यतालाई आधार बनाएर भविष्यको गोरेटो कोर्ने हुनाले किराँतीको मात्रै सभ्यताको कुरा नभएर सिङ्गो नेपालको पनि सभ्यतासँग जोडिएको कुरा भएकाले विशिष्ट अर्थ र महत्त्व भएको बताएका थिए ।

किराँत प्रदेश नै किन ?

पृथ्वीनारायण शाहले नेपालको भौगोलिक एकीकरण गरेसँगै भावनात्मक बिखण्डन गरेका थिए  । यसले गर्दा सामाजिक, सांस्कृतिक, भाषिक विभेद र समुदायको मनोविज्ञानमा नकारात्मक असर परेको  किराँत नामकरणका  पक्षधरहरुको तर्क छ । संघीय गणतन्त्र स्थापनापछि यी समस्या समाधान गर्नको लागि किराँत लगायतका पहिचानमा आधारित नामकरण आवश्यक छ भन्ने उनीहरूको ठहर छ ।

माओवादीले चलाएको दशवर्षे युद्ध कालमा किराँत राज्य स्थापना गर्ने नाममा यो प्रदेशको धेरैले जनताले ज्यान गुमाएका छन् । तत्कालीन माओवादीले गोपाल किराँतीको नेतृत्वमा किराँत जनसरकार नै गठन गरेका थिए ।

किराँतीहरूको ऐतिहासिक भने छुट्टै छ । प्रथम किराँती राजा यलम्बर नेपाल व्यवस्थित राज्य सञ्चालनको अभ्यास गर्ने संस्थापक  थिए । सबैभन्दा पुरानो गोपालराज वंशावलीले यलम्बर लगायत ३२ जना किराँती शासकहरूले १६६३ वर्ष ८ महिना शासन गरेको उल्लेख छ ।

अङ्ग्रेजी लेखक कर्कपेट्रीकले २७ जना शासकले १६३० वर्ष शासन गरेको भनेका छन् । चार किराँतको साझा संयोजक सनिमितिले भने कलिगत सम्बतको सुरुवातसँगै यलम्बरले शासन गरेको आँकलन गरेर यले सम्बतलाई मान्दै आएका छन् । यसले गर्दा किराँती समुदायको छुट्टै पहिचान छ ।

सगरमाथा नामकरण किन ?

१ नम्बर प्रदेशलाई सगरमाथा नामकरण गरिनुपर्छ भन्ने विषयमा पनि चर्चा-परिचर्चा चलेको छ । विश्वको सबै भन्दा अग्लो हिमाल हुनुले धेरैले सगरमाथा हुनपर्छ भनेर दाबी गरेको छन् । उनीहरूको अनुसार सगरमाथाले विश्वभरमा नेपाललाई चिनाएको हुनाले  सगरमाथा नै हुनुपर्छ भन्ने उनीहरुको भनाइ छ ।

प्रदेश नम्बर १ मा किराँत मात्रै नभइ अरु धेरै जाति बस्ने भएकाले उनीहरुले किराँतलाइै अस्विकार गर्दै आएका छन् । एउटा मात्रै आदिवासीको नामले नामकरण गर्दा अरुलाई अन्याय हुने पनि उनीहरुको ठहर छ । सगरमाथाको अर्थ खस भाषामा ‘आकाशको शिर’ हुन्छ र  नेपाली भाषामा ’सगरमाथा’को अर्थ ‘सगर अर्थात् स्वर्गसम्म माथा’ भन्ने हुन्छ ।

सगरमाथा विश्वमै प्रख्यात छ। त्यसैले  प्रदेश नम्बर १ लाई सगरमाथा राख्दा उपयुक्त हुन्छ भन्ने धेरै छन् । सगरमाथा नामकरण गर्दा सगरमाथाको शिरजस्तो प्रदेश नम्बर १ पनि उच्च रहने उनीहरुको भनाइ छ ।

प्रदेश नम्बर १ लाई किराँत नामकरण गर्दा अन्य जातिलाई समान व्यवहार नहुने पनि बताउँछन् । धेरै जात जाति बस्ने हुँदा किराँत नामकरण गर्दा आन्दोलन हुने सम्भावना पनि उतिकै छ । सबै जातिहरूको आ-आफ्नो धर्म संस्कृति छ । उनीहरूले पनि त्यही अनुसार खोज्छन् भन्ने एक प्रकारको डर  रहेकाले पनि सगरमाथा नाम उचित मानेका छन् ।

सगमाथामा लुकेको किराँती पहिचान

सगमाथामा पनि किराँतको एउटा पहिचान लुकेको छ । बिसौँ शताब्दीको आरम्भसम्म विश्वभरमा सबैभन्दा अग्लो पर्वत शिखर सगरमाथा हो भन्ने कसैलाई पनि थाहा थिएन । विसं १९०९ मा हिमालय-पर्वतवालामा रहेका सबै पर्वतशिखरको उचाइको नाप एक जना सामान्य भारतीय सर्वेक्षकले प्राप्त गरेका थिए । सबै पर्वतशिखरको उचाइको नाप गर्दै जाँदा विश्वभरका सम्पूर्ण पर्वतशिखरमध्ये सबैभन्दा अग्लो पर्वत शिखर यही हो भनी सर्वप्रथम पहिचान गरेका थिए । त्यति बेला यस पर्वतशिखरको उचाइ समुद्र तलको सतहबाट २९,००२ फिट रहेको छ भन्ने मानिएको थियो । जुन टोलीको नेतृत्व ब्रिटिस सेनाका जनरल जर्ज एभरेष्टले गरेका थिए ।

तर नेपालकै उत्तरी भेगमा नागरिकहरू यसलाई ‘चोमो-लोङ्मा’ भन्ने गर्दा रहेछन् । जुन समयमा चोमोलुङमा नामले प्रख्यात थियो । उनै जनरलको नामबाट चोमोलुङमाको नाम सन् १८५६ मा अङग्रेजीमा MT Everest भनेर दोस्रो नामकरण राखियो । जे होस्, यसपछि यो सर्वोच्च पर्वत शिखर अन्तर्राष्ट्रिय जगतमा ‘माउन्ट एभरेस्ट’का नामले परिचित हुन थाल्यो । र अझै पनि ‘माउन्ट एभरेस्ट’ को नामले विश्वभर प्रख्यात रहेको छ ।

इतिहासकार बाबुराम आचार्यले चोमोलुङ्मालाई ‘सगरमाथा’ भनी नामकरण गरे । त्यही सगरमाथा शब्द पछि नेपालमा प्रचारमा ल्याइयो । बाबुराम आचार्य जन्मनुभन्दा ३२ बत्तिस वर्ष पहिले नै अर्को नाम एभरेष्ट राखिएको थियो । धेरैलाई यस पर्वतशिखरको नाम उनले नै राखेको हो भन्ने भ्रम रहेको छ । तर यो सत्य होइन । लोकप्रचलनमा रहेको नामलाई उनले प्रकाशमा ल्याइदिनुभएको मात्र हो ।

बुझाइ गलत 

यहाँनेर सगरमाथा कि किराँत भन्ने दुवैथरी धारणा बनाउनेहरुकाे बुझाइमा कमी देखिन्छ । किराँत नामकरण गर्दैमा किराँतहरूको सभ्यता, संस्कृति जोगिने पनि होइन । आफ्नो धर्म संस्कृति जोगाउनका लागि जनचेतनाको आवश्वयक पर्दछ ।

किराँत नामकरण गर्नसाथ किराँतीहरूको हातमा सबै हक अधिकार हुन्छ भन्ने पनि होइन । किराँत नामकरण गर्दैमा त्यहाँ बस्ने अन्य जातिलाई लखेट्ने  पनि होइन । हुन त आजभोली आफ्नो छोराछोरीको नाम राख्दा त श्रीमान-श्रीमतीबीच विवाद चल्छ । श्रीमान-श्रीमतीबीच विवाद हुँदै राखेको नामले फेरि छोराछोरीलाई कहाँ पुग्छ र, अलि ठुलो र बुझ्ने भए पछि आफ्नो न्वारान आफै गर्ने थाल्छन् । बिस्तारै साथीहरू बढ्दै जान्छ । साथीहरूले पनि विभिन्न नामले बोलाउने गरेको हुन्छ ।

एउटा मान्छेको नाममा त यति धेरै विवाद हुन्छ भने यहाँ त लाखाैँ मान्छेलार्इ समेट्नेगरी नामकरण गर्नुपर्ने हुन्छ । विवाद त भइहाल्छ । तर विवाद भइहाल्छ भनेर जे पायो ते हि चाहिँ राख्नु हुँदैन अलि उपयुक्त नै राख्नु पर्दछ ।

 

tensberg

 

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]