Nepa Top
century-bank

बदलियो पुल प्रविधि, हरायो रैथाने सीप

बागलुङ । आधुनिक प्रविधि भित्रिनु अघि मुलुकका विकट गाउँ र वस्ती जोड्न स्थानीय सीप र साधन प्रयोग गरेर झोलुङ्गे पुल बनाइन्थ्यो । स्थानीय कालिगढहरुलाई पुल बनाउने जिम्मा दिइन्थ्यो । तर, अहिले नयाँ प्रविधिले त्यसको ठाउँ लिइसक्यो । रैथाने सीपमै आधारित परम्परागत शैलीका यस्ता पुल अहिले देख्न मात्रै पाइन्छ । धेरै पुल जीर्ण भइसकेका छन् । अब त यस्ता पुल बनाउने कुशल कालिगढहरु भेट्टाउनै पनि मुश्किल भैसकेको छ । स्थानीय कालिगढ र सीपलाई नयाँ प्रविधिले झण्डै झण्डै विस्थापन गरिसकेको छ ।

नेपालमा नयाँ प्रविधिको झोलुङ्गे पुल बन्न लागेको १३ वर्ष जति भयो । त्यसो त स्वीस विकास सहयोग ९एसडिसी० को सहकार्यमा नेपालमा केही दशकयतादेखि स्वीस प्रविधिका झोलुङ्गे पुलहरु बन्न थालेका हुन् । यसमा स्थानीय उपभोक्ता समूहहरुलाई संगठित गरी श्रमको जोहो गरिन्थ्यो र सामग्री तथा प्राविधिक सहयोग स्वीट्जरल्यान्ड सरकारबाट उपलब्ध हुने गथ्र्यो । त्यसअघि राणा कालमै कतिपय नदीमाथि झोलुङ्गे पुल बनाइएका थिए । स्थानीय समुदायले स्वयं काठे वा झोलुङ्गे पुल बनाउने गरेका सयौं उदाहरण अझै पनि नेपालका विभिन्न ठाउँमा देख्न पाइन्छ । झोलुङ्गे पुल बनाउने रैथाने प्रविधि वा सीप अहिले प्रयोगमा छैन । आधुनिक प्रविधिको झोलुङ्गे पुल निर्माणमा परम्परागत प्रविधिकै विकसित रुप ९जसलाई बागलुङ प्रविधि पनि भनिन्छ० अचेल धेरै प्रयोगमा आएको पाइन्छ ।

‘नेपाल भित्रको सानो नेपाल’ ले परिचित बागलुङको अर्को मुख्य चिनारी ‘झोलुङ्गे पुलको जिल्ला’ पनि हो । पछिल्लो एक सर्वेक्षणअनुसार यस जिल्लामा ४१० झोलुङ्गे पुल छन् । तीमध्ये अधिकांश पुल परम्परागत प्रविधिबाट निर्मित हुन् । जीर्ण भएका र केही नयाँ ठाउँमा भने आधुनिक प्रविधिका झोलुङ्गे पुल बनेका छन् ।

रैथाने ज्ञान र सीप चलाएर झोलुङ्गे पुल बनाउने पुस्ताका व्यक्तिहरु अहिले औंलामा गन्न मिल्ने संख्यामा मात्र जीवित छन् । उनीहरुसँग पनि त्यसबेला पुल निर्माण गर्दाका संघर्षपूर्ण र कठिन दिनहरुको सम्झना मात्र बाँकी छ । उनीहरुमा भएका रैथाने सीप र कौशल हराइसक्यो ।

यीमध्ये ताराखोला गाउँपालिका–२ अर्गलका गोविन्द घर्ती अहिले ६४ वर्षको हुनुहुन्छ । विसं २०२८ सालमा झोलुङ्गे पुल बनाउने फलाम लिन उहाँ बुबाहरुसँगै बुटवल जानुभएको थियो । “हिँडेर १४÷१५ दिनमा बल्ल बुटवल पुगिन्थ्यो,” घर्तीे भन्नुहुन्छ – “त्यहाँबाट फलाम बोकेर ल्याएर पुल बनाइन्थ्यो । पुल बनाउने योजना बनेपछि गाउँभरिका मानिसहरु लाम लागेर फलाम लिन बुटवल झर्थे ।”

घर्तीका अनुसार त्यसरी बुटवलबाट बोकेर ल्याएको फलाम आरनमा गालेर लठ्ठा बनाउन तीन महिनासम्म लाग्थ्यो । पूरै झोलुङ्गे पुल तयार हुँदा आठ महिना बित्थ्यो । फलाम गालेर, पिटेर बनाइएका साङ्लालाई एकापसमा गाँसेर लामो लठ्ठा बनाउने गरिन्थ्यो । स्थानीय विश्वकर्मा समुदायका कालिगढले फलामको लठ्ठा बनाउने जिम्मा लिन्थे । घर्तीका अनुसारका लठ्ठा बनेपछि मात्र पुलको अरु काम शुरु हुन्थ्यो ।

“सिमेन्ट, बालुवा केही हुँदैनथ्यो, ढुँगाले मात्र पुलको ‘जिप’ बन्थ्यो,” उहाँले भन्नुभयो – “ठूल्ठूला ढुङ्गा र खाल्डा प्रयोग गरेर पुलको लठ्ठा तन्काउने विधि थियो । ‘जिप’ को पछाडि ठूलो खाल्डा खनी त्यसमा गारो चिन्ने अनि त्यहीँमाथि ढुँगा चढाई लठ्ठा खिच्ने गरिन्थ्यो । लठ्ठा ढुङ्गामा बाँधेपछि तल चिनिएको गारो विस्तार झिक्दा ठूलो ढुँगा तल खस्दै जान्थ्यो अनि लठ्ठा तानिन्थ्यो ।”

यस्तो काम होशियारीपूर्वक नगरे पुलको ‘जिप’ नै भत्किने खतरा हुन्थ्यो । लठ्ठा खिच्ने ढुङ्गा ल्याउन, खाल्डो खन्न, लठ्ठा खिच्न धेरै मानिसको बल र बुद्धिको खाँचो पथ्र्यो । “टाढाबाट डोरी लगाएर ठूलो ढुङ्गा ल्याउनुपथ्र्यो, ४०÷५० जना त्यसमा खट्नुपथ्र्यो,” उहाँ सम्झनुहुन्छ ।

घर्तीका अनुसार यसरी ढुङ्गा अल्झाएर तानेको लठ्ठाले नै पुलको भार थाम्ने गथ्र्यो । ढुँगा र पहरा भएका ठाउँमा छिनाले दुई हातसम्म प्वाल पारेर लठ्ठा अड्काउने गरिन्थ्यो ।

लठ्ठा तानेपछि पुलको तलपट्टि काठ बिछ्याउने र दायाँबायाँ फलामकै पाताले बार लगाउने गरिन्थ्यो । यसरी बनेका झोलुङ्गे पुलको संख्या ताराखोला गाउँपालिकामा मात्र ७५ भन्दा बढी छ । स्थानीयवासी ७० वर्षीय दिलबहादुर घर्ती एउटा झोलुङ्गे बनाउन सिङ्गै गाउँका मानिस खटिने गरेको बताउनुहुन्छ । उहाँका अनुसार करीब ७५ वर्षअघिदेखि त्यसरी पुल बन्न थालेका हुन् ।

झोलुङ्गे पुल बन्नुअघि भने काठे पुल मात्र प्रचलनमा थिए । झोलुङ्गे पुल बन्न शुरु भएपछि पुलकै काममा श्रम गरेर कतिपय गाउँलेको जीविका चल्ने गथ्र्यो । धेरैजना झरालीको रुपमा पुल निर्माणमा खटिन्थे । गाउँले आफैं अग्रसर बनेर पुल बनाउने काममा जुट्ने गरेको घर्तीले बताउनुभयो । “सरकारको योजना थिएन, गाउँमा पैसा र इज्जत भएका मानिसले पुल बनाइदिन्थे,” उहाँले भन्नुभयो ।

त्यसबेला झोलुङ्गे पुल बनाउन लाग्ने खर्च यकिन नभए पनि फलाम खरिद गर्न बाहेक बाँकी श्रमको काम गाउँलेले बिना ज्याला नै गर्ने गर्थे । आरनमा काम गर्ने कालिगढलाई पारिश्रमिकस्वरुप अन्नबाली दिने चलन थियो । “धेरथोर पैसा पनि हुन्थ्यो, ज्यादाजसो बाली लिन्थ्यौं,” ताराखोला गाउँपालिका–५ का कालिगढ तुलबहादुर विक भन्नुहुन्छ ।

झोलुङ्गे पुल निर्माणमा आधुनिक प्रविधि भित्रिएपछि परम्परागत सीप लोप मात्र भएको छैन आरन चलाउने, भारी बोक्ने, कालिगढी गर्ने व्यक्तिको कमाइको स्रोत पनि सुकेको छ । तत्कालीन जिल्ला प्राविधिक कार्यालय बागलुङमा झोलुङ्गे पुल शाखा हेर्ने इन्जिनीयर बलविक्रम दाहाल परम्परागत प्रविधिलाई ‘इन्जिनीयरिङ’ गरी नयाँ प्रविधि भित्र्याइएको बताउनुहुन्छ ।

दाहालका अनुसार आधुनिक प्रविधिबाट अहिले बन्ने पुल तीन महिनामै तयार भइसक्छ । लठ्ठा, जाली लगायतका निर्माण सामग्री पनि तयारी अवस्थामै किन्न पाइन्छ । “झोलुङ्गे पुल बनाउने पुरानो प्रविधि हराइसक्यो,” इन्जिनीयर दाहालले भन्नुभयो – “गुणस्तर, लागत खर्च, समय इत्यादि कारणले आधुनिक प्रविधि नै उत्तम छ ।” सरकारले २०६२ सालमा ल्याएको झोलुङ्गे पुल निर्देशिकाअनुसार तोकिएको मापदण्डमा अहिले पुलहरु निर्माण भइरहेका छन् । तर, बागलुङमा कुनैबेला रोजगारीको स्रोत रहेको रैथाने ‘इन्जिनीयरिंग’ भने समयक्रमसँगै हराउन पुगेको देखिन्छ ।

परम्परागत प्रविधि परिमार्जन भएको झोलुङ्गे पुल निर्माणमा प्राविधिक सहयोग गर्दै आएको ‘टिबिएसयु÷हेल्भेटास’ गण्डकी प्रदेशका सहजीकरण प्रबन्धक दिनेशकुमार पाण्डेका अनुसार उक्त प्रविधिबाट १२० मिटरसम्मका लामा ‘सस्पेन्डेड’ पुल बन्ने गर्छन् । अर्को आधुनिक ‘सस्पेन्सन’ झोलुङ्गे पुल बनाउने प्रविधि भने विदेशबाट भित्रिएको हो ।

दुई सय झोलुङ्गे पुल जीर्ण
झोलुङ्गे पुल निर्माणमा व्यवस्थापन र मध्यस्थता गर्दै आएको भिमापोखरा युवा क्लव ९बिवाइसी० बागलुङले गरेको सर्वेक्षण अनुसार जिल्लामा दुई सय पुल जीर्ण छन् । क्लबका सामाजिक परिचालक प्रेम केसी तीमध्ये केही तत्कालै पुनःनिर्माण गर्नुपर्ने अवस्थामा रहेका बताउनुहुन्छ । उहाँका अनुसार जिल्लाभरमा ४१० झोलुङ्गे पुल छन् । विसं २०६२\६३ यता दर्जनौं नयाँ पुल बनेका छन् ।

अधिकांश पुराना पुल जीर्ण भएका ठाउँमा र कतिपय नयाँ ठाउँमा झोलुङ्गे पुल निर्माण भएका हुन् । गत आवमा मात्रै जिल्लामा १० झोलुङ्गे पुल बनेका छन् । जिल्ला समन्वय समिति, तत्कालीन जिल्ला प्राविधिक कार्यालयमार्फत नौ र ‘टिबिएसयु÷हेल्भेटास’ पोखराको आर्थिक सहयोगमा दुई वटा पुल बनेका हुन् । जीर्ण बनेका, बाढीले बगाएका र केही नयाँ ठाउँमा पुल निर्माण गरिएको हो ।







 

Nepal Braodcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]