Nepa Top
century-bank

स्वदेशी कपडामा आत्मनिर्भर बन्ने प्रयासप्रति सरकारको चासो गएन

काठमाडौं । नेपालको अर्थतन्त्रमा नेपाली कपडा उद्योगहरुको योगदान अतुलनीय छ । स्वदेशी कपडामा मुलुकलाई आत्मनिर्भर बनाउने सरकारको लक्ष्यलाई निजी क्षेत्रले साथ दिइरहेका छन् । निजी क्षेत्रले नेपाली कपडा उद्योगको क्षेत्रमा गरेको लगानी र छलाङप्रति भने सरकार बेखबर झै छ । बजेटमार्फत नयाँ सरकारको ढाडस कुरिरहेका उनिहरु पछिल्लो समय सरकारको क्रियाकलापप्रति भने असन्तुष्ट बनेका छन् ।

सुनसरीको इटहरी खनारस्थित प्रगति टेक्स्टाइल, रिलायन्स स्पिनिङ मिल्स, जयकमल होजियारी लगायतका कपडा एवं धागो उद्योगहरुले नेपाली कपडाहरु उत्पादन गर्दै आइरहेका छन् । उद्योगीहरुले स्वदेशी श्रमिक र स्वदेशी कच्चा पदार्थको प्रयोगमार्फत देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेका छन् । स्वदेशी कपडामा आत्मनिर्भर बन्नुपर्छ भन्ने सरकारको लक्ष्य भएपनि उद्योगप्रति सरकारी चासो कम हुनु लज्जाको विषय बनेको छ ।

यतिबेला नब्बे प्रतिशत स्वदेशी कच्चा पदार्थमै संचालित उद्योगहरु व्यवसायीमैत्री नीतिको संकटमा छन् । नेपाली कपडा उद्योगीहरुले स्थायी सरकारले ल्याएको बजेटले २० वर्षदेखि पाउँदै आएको ७० प्रतिशत कर छुटको व्यवस्था हट्दा नेपाली कपडाको उत्पादन लागत १३ प्रतिशतसम्म बढ्न जाने बताएका छन् । उनिहरुले यस्तो व्यवस्थाले छिमेकी देशबाट अवैधरुपमा आयात हुने कपडाहरुसँग प्रतिष्पर्धा गर्न नसक्ने गुनासो गरेका छन् ।

उद्योगीहरुले कपडामा चोरी पैठारी र न्यून बिजकीकरणको समस्या रहेको बताउँछन् । सरकारी नीति राम्रो भएमा अहिले ३५ करोडसम्मको कारोबार गर्ने नेपाली उद्योगले ३ सय करोडको कारोबार गर्नेसक्ने उद्योगीहरुको भनाई छ ।

इटहरीमा रहेको रिलायन्स स्पिनिङ मिल्समा ४ हजार, प्रगति टेक्सटाइलमा ६ सय र जयकमल होजियारीमा एकसयले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन् । सरकारले व्यवसायमैत्री नीति ल्याएमा पचास प्रतिशत क्षमतामा चलेका उद्योगहरु दुई महिनामै शतप्रतिशत संचालनमा ल्याउन सकिने उद्योगीहरु बताउँछन् ।

मुलुकको हितमा रहेका यस्ता उद्योगहरुलाई सरकारले सघाउन आवश्यक छ । बर्षेनी लत्ता कपडामा मात्रै अरबौं रुपैयाँ बाहिरीरहेको अवस्थामा सरकारले नेपाली कपडा उद्योगहरुलाई बचाएर थप लगानी बढाउन आवश्यक छ ।

tensberg
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]