Nepa Top
century-bank

विद्युतमा २० प्रतिशतसम्म महसुल बढाउने भारतको प्रस्ताव नेपाललाई अमान्य

काठमाडौं । भारतबाट आयात भइरहेको ४ सय ५० मेगावाट विद्युतको महसुल बढाउन भारत सरकारले गरेको प्रस्ताव नेपालले अस्वीकार गरेको छ । भारतले बीस प्रतिशतसम्म महसुल बढाउन प्रस्ताव गरेको थियो ।

विद्युत आदान–प्रदान प्रावधानअनुसार २० प्रतिशतसम्म महसुल बढाउन भारतले राखेको प्रस्ताव नेपालले अस्वीकार गरेको छ । हाल खरिद गरिरहेको दर नै महँगो भएकाले थप वृद्धिको निर्णय मान्य नहुने भन्दै अस्वीकार गरिएको हो । भारतको नयाँ दिल्लीमा बिहीबार र शुक्रबार बसेको विद्युत आदानप्रदान समिति (पिइसी) को १२ औं बैठकमा नेपाल विद्युत प्राधिकरणले महसुल बढाउन नहुने अडान राखेको थियो ।

बैठकमा भारतले हाल खरिद भइरहेको विद्युत मूल्यमा १५ देखि २० प्रतिशतसम्म बढाउने प्रस्ताव राखेको छ । प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर ४ सय केभी र टनकपुर १३२ केभी प्रसारण लाइनबाहेकका विन्दुबाट आयात हुने विद्युतको मूल्य हरेक वर्ष साढे ५ प्रतिशत बढी तिर्दै आएको थियो । हरेक वर्ष ५ प्रतिशत बढ्ने प्रावधान गत वर्षको बैठकले हटाएको थियो ।

कुशाहा–कटैया, जोगबनी, गण्डक–रामनगर, नानपारा, सुदूरपश्चिमका लाली, तादी, जौलीजिबी लगायत विन्दुबाट विद्युत आयात हुन्छ । प्राधिकरणले बिहार, उत्तर प्रदेशलगायत नाकाबाट प्रतियुनिट ८ रुपैयाँ ८८ पैसामा विद्युत किन्ने गरेको थियो ।

गत वर्षको बैठकले ११ केभीदेखि १३२ केभी प्रसारण लाइनबाट आयात हुने विद्युतको नयाँ मूल्य निर्धारण गरेको थियो । प्राधिकरणले विद्युत किन्दा ११ केभीमा प्रतियुनिट १०.३२ रुपैयाँ, ३३ केभीमा प्रतियुनिट ९.६० रुपैयाँ र १३२ केभीमा प्रतियुनिट ८.८८ रुपैयाँ तिरिरहेको छ ।

 

tensberg
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]