Nepa Top
century-bank

बुटवल बेलहिया सडकको निर्माण कार्य कछुवाको गतिमा

रुपेन्देही । बुटवल बेलहिया ६ लेनको व्यापारिक मार्गको निर्माण कार्य कछुवाको गतिमा नै सीमित बनेको छ । २७ किलोमिटर सडक खण्ड आठ वर्षसम्ममा १५ किलोमिटरमात्रै निर्माण भएको छ । हालसम्म बुटवलतर्फ ६ किलोमिटर, भैरहवातर्फ साढे ५ किलोमिटर र बीच भागमा साढे ३ किलोमिटर सडक निर्माण हुँदा बाँकी काम अलपत्र अवस्थामा छ ।

बुटवल राजमार्ग चौराहादेखि गोलपार्कसम्मको ३ किलोमिटर सडक विस्तार कार्य भने अदालतको आदेशमा स्थगित छ । बाँकी ९ किलोमिटरको निर्माण भने अलपत्र परेको छ । घाम लागे धुलो र पानी परे हिलो हुने यो सडकले सर्वसाधारणको चैन खोसेको छ । उता आयोजना प्रमुख जिवेन्द्र मिश्रले भने सडक निर्माण समय सीमाभित्र नसकिनुको मुख्य कारण घर र संरचना हटाउन ढिलाइ, कच्चा पदार्थको अभाव, तराई मधेस आन्दोलन, बन्द हड्ताल जस्ता कारण भएको तर्क तेस्र्याउनु हुन्छ ।

निर्माण भइरहेको खण्डमध्ये भलबारीदेखि पत्थरडाँडासम्म कालोपत्रेको काम भइरहेको छ भने मणिग्रामदेखि मंगलापुरसम्म र भैरहवा क्षेत्रसम्म काम भैरहेको छ । आयोजनाका इन्जिनियर गोविन्द श्रेष्ठका अनुसार निर्माणाधीन ९ किलोमिटर सडकको करिब ७० प्रतिशत काम सकिएको छ ।

आयोजनाको कूल लागत ५ अर्ब ८६ करोडमध्ये हालसम्म ३ अर्ब ९९ करोड खर्च भइसकेको छ । चालु आर्थिक वर्षका लागि ३६ करोड रकम आवश्यक रहेको आयोजना प्रमुख मिश्र बताउनु हुन्छ । आर्थिक वर्ष २०६६/६७ मा सुरू भएको यो सडक निर्माणको ठेक्का कञ्चनजंघा जेभी, टेली कम्युनिकेसन प्रालि, कालिका रायमाझी जेभी, विरुवा श्रेष्ठ एपेक्स, कालिका तामाङ जेभी र विरुवा कन्स्ट्रक्सनले गरी ५ अर्ब ८६ करोडको ठेक्का सम्झौता गरेका थिए ।

निर्माणमा ढिलाइ हुँदा करिब डेढ अर्ब लागत बढिसकेको छ । गृहमन्त्री रामबहादुर थापाले ढिलासुस्ती गर्ने ठेकेदारलाई कारवाही गर्ने घोषणा गरेसंगै बुटवल बेलहिया ब्यापारिक मार्ग अन्तर्गत भैरहवाको सडक र डण्डा पुलको निर्माण जिम्मेवारी लिएको कालिका तामाङ प्यासिफिक जेभीलाई करिब एक करोड जरिवाना तिराइएको छ ।







Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]