Nepa Top
century-bank

नारायणगढ-मुग्लिन सडक : जीर्ण पुल र पहिरोका कारण सास्ती, ३६ किमि मध्ये ३३.२ किमिमा पुनः निर्माणको काम

भरतपुर। कालोपत्रे गर्ने काम सकिए पनि नारायणगढ–मुग्लिन सडकका साँघुरा एवं जीर्ण पुल र पहिरोका कारण यात्रामा सास्ती भोग्नुपर्ने अवस्था कायमै छ । सडकमा रहेका १८ वटा साँघुरा एवं जीर्ण पुल र ३१ स्थानको पहिरो जोखिम क्षेत्रकै कारण यो सडकमा अझै पनि यात्रुले सहज यात्रा गर्न सक्ने अवस्था छैन ।

“यस सडकमा रहेका पुलहरू प्रायः जीर्ण र साँघुरा छन् । सडक राम्रो भएर मात्रै हँुदैन, साँघुरा पुलकै कारण सडकमा हुने ट्राफिक जामको हैरानी बेहोर्नुपर्ने अवस्था छ”, जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख ट्राफिक प्रहरी निरीक्षक सन्तोष पन्त भन्नुहुन्छ, “कतिपय पुलका रेलिङ नै छैनन्, भएका रेलिङ पनि भाँचिएर जीर्ण हँुदा त्यसबाट सवारीसाधन खसेर दुर्घटना हुने जोखिम कायमै छ । ”

नारायणगढ–मुग्लिन सडकको ३६ किलोमिटर दूरीमा अहिले १८ वटा ठूलासाना पुल छन् । प्रायः पुलको चौडाइ छ मिटर छ । सडकको स्तरवृद्धिसँगै यो चौडाइ थोरै हो ।
“यो सडकमा कम्तीमा पनि ११ मिटर चौडाइ भएका पुल आवश्यक हुन्छ”, पन्तले भन्नुभयो । जीर्ण पुलमध्ये पनि १० वटाको अवस्था त झनै दयनीय छ । “कति पुलका बार नै छैनन्, कुन दिनमा त्यही बारबाट सवारीसाधन खसेर ठूलो दुर्घटना हुन सक्छ”, पन्तले भन्नुभयो ।

जीर्ण १८ वटै पुल पुनःनिर्माणका लागि सरकारले विश्व बैङ्कसँग सहयोग माग गरिरहे पनि अहिले जम्मा चारवटा पुल निर्माणका लागि २८ करोड रुपियाँ निकासी भएको छ । यो रकमले जलबिरे, खानीखोला, मौरी र दासढुङ्गा पुल निर्माणको काम भइरहेको नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको छ । ती सबैको चौडाइ ११ मिटर हुनेछन् ।
“१८ वटा पुलमध्ये अहिले नारायणगढ–मुग्लिन आयोजनाले जलबिरे, खानीखोला, मौरी र दासढुङ्गा गरेर चारवटा पुल बनाउँदैछ”, आयोजना प्रमुख गोविन्द खनालले भन्नुभयो, “अरू पुल पनि बनाउनु त पर्ने हो तर यसका लागि बजेट अभाव छ । ”

नारायणगढ–मुग्लिन सडकको दूरी ३६ किलोमिटर हो । त्यसमध्ये अहिले ३३.२ किलोमिटरको पुनःनिर्माणको काम भइरहेको हो । पुनःनिर्माणमध्ये अहिले पहिलो चरणको कालोपत्रे गर्ने काम सकिएको छ । ३१.२ किलोमिटर दोस्रो चरणको र २४ किलोमिटर तेस्रो चरणको कालोपत्रे गर्ने काम पनि सकिएको आयोजनाले जनाएको छ । तेस्रो चरणको कालोपत्रे गर्ने काम नै कालोपत्रेका लागि अन्तिम काम हो । सडकमा कालोपत्रे भएसँगै यात्रा गर्न त केही सहज होला तर सडकका साँघुरा एवं जीर्ण पुलका कारण हुने ट्राफिक जाम र सडक विस्तारका क्रममा काटिएका पहाडबाट खस्ने पहिरोले यात्रुले सास्ती भने भोग्नुपर्ने देखिन्छ ।

“नारायणगढ–मुग्लिन सडकको ३१ ठाउँमा पहिरोको जोखिम छ”, आयोजनाका प्रमुख खनालले भन्नुभयो, “यो वर्ष त पहिरोका कारण यात्रुले दुःख पाउने सम्भावना बढी नै देखिन्छ । ” सडकमाथि रहेका पहाडका कारण सोच्दै नसोचेका ठाउँहरूबाट खस्ने पहिरोले पनि सडकमा दुःख दिने गरेको उहाँले बताउनुभयो । तर, केही ठाउँका पहिरो नियन्त्रणका लागि पनि आयोजनाले अहिले काम भने सुरु गरिसकेको उहाँले जनाउनुभयो ।

“पहिरो नियन्त्रणका लागि भनेर हामीले १४ करोड रुपियाँ खर्च गर्दैछाँै । यसले पहिला बढी जोखिम क्षेत्रहरूको पहिरो नियन्त्रणको काम सुरु गरेका छौँ”, प्रमुख खनालले भन्नुभयो । नारायणगढ–मुग्लिन सडकमा मुग्लिनदेखि सेती दोभानसम्म पहिरोको जोखिम बढी देखिन्छ । यो क्षेत्र सडक विस्तारका क्रममा पहाड काटिएका क्षेत्र भएकाले पहिरोको जोखिम बढेको हो ।

आयोजनाले पहिरो नियन्त्रणका लागि गरिरहेको काममा रूखबिरुवा रोपेर पहिरो नियन्त्रण गरिने प्रविधि ‘बायोइन्जिनियरिङ’ गर्दैछ । यो प्रविधि नेपालको आफ्नै मौलिक प्रविधि हो । यसलाई पहिलोपटक पृथ्वी राजमार्गको कृष्णभीरमा प्रयोग गरिएको थियो । याे खबर अाजकाे गाेरखापत्रमा छ ।







 

Nepal Braodcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]