Nepa Top
century-bank

एमाले र माओवादी केन्द्रको पार्टी एकताको निश्कर्ष नजिक

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्षबीच संगठनात्मक स्वरुप, कार्यनीति, चुनाव चिन्ह र ‘जनयुद्ध’लाई हेर्ने दृष्टिकोणमा सहमति भएसँगै दुई दलको एकता निश्कर्ष नजिक पुगेको छ ।

दुबै दल भोलि प्रक्रिया टुंग्याएर एकता घोषणाको मिति तय गर्ने तयारीमा छन् । जेठ पहिलो साताभित्रै निर्वाचन आयोगमा एकीकृत पार्टी दर्ताका लागि निवेदन दिने योजनाअनुसार दुवै दल गृहकार्यमा छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भएको चार बुँदे सहमतिबारे छलफल गर्न आज दुबै पार्टीको छुट्टाछुट्टै बैठक बसेको थियो ।

प्नधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकले संयोजन समितिको भोलि हुने बैठकबाट सबै विषय टुंग्याएर एकता घोषणाको मिति तोक्नुपर्नेमा जोड दिएको छ । एकताबारे निर्णय लिन एमालेले भोलि विहान ११ बजे केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

उता, माओवादी केन्द्रको केन्द्रीय कार्यालयको आजै बसेको विस्तारित बैठकले पनि सम्मानजनक परिस्थिति बनेको भन्दै एकता प्रक्रिया टुंग्याउने निश्कर्ष निकालेको छ । बैठकमा अध्यक्ष दाहालले एमाले नेतृत्वसँग भएको सहमतिको ‘ब्रिफिङ’ गर्दै पछिल्लो समयमा बढेको आशंका निवारण भएको र एकता घोषणा गर्न मात्रै बाँकी रहेको बताउनु भएको थियो ।

एकता संयोजन समितिको भोलिको बैठकले ठोश निर्णय लिए दुबै दल आ–आफ्ना सांगठनिक संरचना भंग गर्ने तयारीमा छन् । भोलि मदन–आश्रित स्मृति दिवसको अबसरमा मदननगर बल्खु पुगेर दुबै पार्टीका नेताले मदन भण्डारी र जीवराज आश्रितको प्रतिमामा माल्यापर्ण गरेपछि एकता संयोजन समितिको बैठक बस्ने छ । सोही बैठकले जेठ पहिलो साता नकटाई एकता घोषणाको मिति तय गर्ने दुबै दलका नेताले बताएका छन् ।

दुई अध्यक्षबीच केही दिन अघि मुख्य चार विषयमा सहमति भएको थियो । विवादित विषयमध्ये संगठनात्मक स्वरुप अन्तर्गत एकीकृत पार्टीको केन्द्रीय कमिटी झण्डै ४ सय सदस्यीय बनाउने सहमति भएको छ । जसमा एमालेको तर्फबाट २ सय ६ र माओवादी केन्द्रबाट २ सय सदस्य रहने छन् ।

एमालेको जनताको बहुदलीय जनवाद (जबज) र माओवादी केन्द्रको ‘एक्काइसौं शताब्दीको जनवाद’का राम्रा विषय समेटेर ‘जनताको जनवाद’ नामक नयाँ कार्यनीति बनाइने छ । यसैगरी, राजनीतिक प्रतिवेदनमा माओवादीले संचालन गरेको ‘जनयुद्ध’ र एमालेको शान्तिपूर्ण संघर्षको यथोचित रुपमा सकरात्मक चर्चा गरिने छ ।

एकीकृत पार्टीको चुनाव चिन्ह ‘सूर्य’ हुने छ । तीन बर्षपछि दाहाललाई सरकार नेतृत्व हस्तान्तरण गर्न प्रधानमन्त्रीसमेत रहनु भएका ओली सहमत भएको तर सो विषय अहिल्यै सार्वजनिक गर्दा गलत सन्देश जान सक्ने भएकाले सहमतिको बुँदामा नराखिएको माओवादी केन्द्रको भनाइ छ ।

tensberg

 

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]