Nepa Top
century-bank

चिनियाँ राष्ट्रपति सि जिङपिङलाई पनि नेपाल भ्रमण गराउनेतर्फ भेट केन्द्रित हुन्छः परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं । दुई देशका राष्ट्राध्यक्षको उच्चस्तरीय भ्रमण गराउने वातावरण मिलाउनमा आफ्नो चीन भ्रमण केन्द्रित हुने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन् ।

पत्रकार सम्मेलन गर्दै ज्ञवालीले चिनियाँ राष्ट्रपति सि जिङपिङलाई पनि नेपाल भ्रमण गराउनेतर्फ भेट केन्द्रित हुने बताए । उनी ६ दिने चीन भ्रमणमा जानुअघि सम्मेलन गर्दै ज्ञवालीले यस्तो बताएका हुन् ।

भ्रमणका क्रममा चिनियाँ समकक्षीसँगै उच्च राजनीतिक नेतृत्वसँग पनि भेट हुने उनले बताए । उनी चीन भ्रमणबाट ८ गते स्वदेश फर्कनेछन् ।

परराष्ट्रमन्त्री ज्ञवालीले भने ‘हामी असल छिमेकीको बीचमा हुने सम्बन्ध विस्तार गर्ने पक्षमा छौं । त्यसका लागि दुई पक्षीय र बहुपक्षीय उच्चस्तरीय भ्रमण हुन जरुरी छ।’

चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणामा मन्त्री ज्ञवाली चीन भ्रमणमा जान लागेका हुन् ।
भ्रमणमा यसअघि विभिन्न समयमा सम्झौता भएका परियोजनाको बारेमा पनि कुरा हुने ज्ञवालीको भनाइ छ । प्रधानमन्त्री ओलीको चीन भ्रमण यही वर्षभित्रै हुने भए पनि मिति भने टुंगो लाग्न बाँकी रहेको बताएका छन् ।

‘यही वर्ष दुवै देशबाट उच्च राजनीतिक भ्रमण हुन्छ,’ ज्ञवालीले भने, ‘मिति टुंगिन भने अझै समय लाग्छ।’

भुकम्पलगत्तै तीन बिलियन सहयोग दिने घोषणा भएको र त्यसका लागि निश्चित योजनाहरु छनौट भएकाले त्यसको लागि भ्रमणले थप सहजीकरण गराउने उनको भनाइ छ।

नेपालको खास आवश्यकता र चासो रेल, पूर्वाधार र विद्युत निर्यातमा भएकाले त्यसको बारेमा भेटमा कुराकानी हुने उनले बताए ।

केरुङ लगायतका चीनसँग जोडिने नाकाहरुमा पूर्वाधार विस्तार, ट्रान्समिसन लाइन र यातायात विस्तारका बारेमा उच्चस्तरीय छलफल उनले जानकारी दिए।

tensberg
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]