Nepa Top
century-bank

नयाँ बर्ष :मौलिकताको माया र नेपालीपनको सम्मान गर्न टोखामा भेला होऔं

  • मनिष जोशी

काठमाडौं। नयाँ बर्षको स्वागत गर्ने शैली र संस्कार आआफ्नै हुन्छन् । यस्मा नेपालीहरुको मौलिक संस्कार भने अब खोज्नु पर्ने अवस्था आएको छ । वैशाख १ लाई भन्दा जनवरी फस्टलाई आफ्नो ठान्नेहरुको उपस्थिति बाक्लो बन्दै गर्दा धेरैको आँखा काठमाडौंको पुरातात्विक शहर टोखा र भक्तपुरतर्फ केन्द्रित हुन थालेको छ । हो पनि नयाँ बर्षको स्वागत गर्ने र मनाउने मौलिक संस्कार यही दुई प्राचीन शहरले धानेका छन् भन्दा फरक नपर्ला पनि ।

टोखा राजधानीको आडको एउटा सर्वप्राचीन बस्ती मध्येको एक हो । तर बत्तीको पिंध मुनिको अध्याँरोको नियति यस्ले बर्षौदेखि भोग्दै आयो । तर नयाँ बर्ष आफ्नै र मौलिक शैलीले मनाउँन यहाँ हरेक नयाँ बर्षमा लाखौं नेपालीहरु पुग्दै आएका छन् । धेरै किम्वदन्ती र इतिहासहरु जोडिएको यही टोखा भोटसंगको नेपालको व्यापारमा लगभग केन्द्रविन्दुमा रहयो ।

व्यापारिक र व्यसायिक हैसियत पनि इतिहासदेखि नै बनाएको टोखाको गर्व गर्न लायक स्थानहरुमा भने धार्मिक र पुरातात्विक क्षेत्र नै पर्दै आएका छन् । महाभारतकालीन समयसंग मात्र नभई श्रीस्वस्थानी देवीको धेरै अंश जोडिएको टोखामा दक्षप्रजापतिले यज्ञ गरेको विश्वासका धेरै आधारहरु पाइएको छ । परम्परा र संस्कृतिको रक्षामा अग्रपंक्तिमा रहेको टोखामा २०७४ सालले विदा माग्न लाग्दादेखि चहलपहल बढेको छ ।

देशभर नयाँ वर्ष २०७५ को स्वागत तयारीहरु भइरहदा टोखामा पनि मौलिकरुपमा मनाइने नयाँ बर्षको तयारी आरम्भ भइसकेको छ । काठमाडौंको मुटुलाई रानीपोखरी मान्ने हो भने यही विन्दूबाट १२ किलोमिटर उत्तरमा रहेको टोखामा पृथक र सांस्कृतिक आधारमा केन्द्रित रहेर नयाँ बर्षको स्वागत गरिन्छ । चैत मसान्तका दिन शिवपुरीको वागद्धारमा गएर साँझ प्रख्यात चण्डेश्वरी मन्दिरमा फर्कने चलन छ ।

चण्डेश्वरी मन्दिरमा नाँचगान , भजन गर्दै राति १२ बजेसम्म मानिसहरु रमाउने गर्छन । जस्लाई आधुनिक ठान्नेहरुले ‘क्याम्पफायर’ भन्ने गर्दै आएका छन् । यहाँ रातभर रमाइलो गरेर वैशाख एक गते उदाँउदो सूर्यको दर्शन गरेर सपनतीर्थ मेलामा पुगेर स्नान गर्ने चलन छ । स्नान गर्दा शरीरमा रहेका सबै रोगहरु नाश हुने विश्वास गरिन्छ भन्ने आफ्नो र सबै देशवासीको भलो होस् भन्ने कामना गर्ने चलन छ । वैशाख एक गते सपनतीर्थमा टाढाटाढाबाट आएकाहरु स्नान गरिसकेपछि टोखाका बिभिन्न मन्दिरहरुमा नाँचगान गरि दिनभर नाँचगान गर्ने चलन छ ।

यसपछि टोखामा वैशाख २ गतेदेखि सुरु हुन्छ विस्केट जात्रा । नयाँ बर्षको स्वागतमा जोडिएको यो जात्रा लिच्छवीकालदेखि चलिआएको र नेपालको सबभन्दा पुरानो विस्केट जात्रा मान्ने गरिन्छ । यहाँको विस्केट जात्राले सबै समुदायलाई एक ठाउँमा उभ्याउँदै आएको छ भने झैझगडा र मानिसको मृत्यु हुनेसम्मका कुनै घटना हुने गर्दैन । सामाजिक सद्भावको गतिलो माध्यम मानिएको विस्केट जात्रा वैशाख चार गतेसम्म मनाउने गरिन्छ । त्यसैले चैत मसान्तदेखि बैशाख ४ गतेसम्म टोखामा तीर्थालुदेखि नयाँ बर्ष मनाउनेहरुको व्यापक जमघट हुने गर्दै आएको छ ।

मौलिकता मासिए जाति मासिन्छ, जाति मासिए मुलुक मासिन्छ । यही सत्यलाई बुझेको टोखाबासीले मौलिकता मर्न कहिल्यै दिएनन् । विदेश शैलीमा मदिरामा मस्त भएर नयाँ बर्षका स्वागत गर्न होटल तथा रेष्टुरेण्टमा पुग्नु भन्दा आफ्नो मौलिकताको माया गर्दै अध्यात्म आस्थालाई उजार गरि मनाउन टोखा पुग्ने की । त्यसैले नयाँ बर्षमा यही मौलिकतामा मिसिएर नयाँ बर्ष सुखद बनाउन आउन चाहनेहरुलाई टोखा स्वागत गर्न तयार भएर बसेको छ । मौलिकता र नेपालीपनको माया र सम्मान गरौ ।

टोखाको उन्नति प्रगितमा समर्पित लेखक जोशी नेपाली खेल तथा सामाजिक क्षेत्रमा जोडिएको नाम पनि हुन् ।

tensberg
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]